गृहपृष्ठ कांग्रेस विधान समिति बैठक पौडेल पक्षद्वारा बहिस्कार
कांग्रेस विधान समिति बैठक पौडेल पक्षद्वारा बहिस्कार
नेपाली कांग्रेसको विधान मस्यौदा समितिको बैठक रामचन्द्र पौडेल पक्षले बहिष्कार गरेका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार बसेको बैठकमा पौडेल पक्षका कुनै पनि नेता बैठकमा आएनन् । सभापति शेरबहादुर देउवाले बिहीबार गठन गरेको विधान मस्यौदा समितिमा असन्तुष्टि जनाउँदै पौडेल पक्षका नेताहरु बैठकमा उपस्थित नभएका हुन् ।
पहिले ९ सदस्यीय बनाउने भनिएको समिति ११ सदस्यीय बनाइएको प्रति असन्तुष्ट पौडेल पक्ष आफ्नो पक्षका सदस्यहरु कम परेकोमा रुष्ट रहेकोले बैठकमा नआएको नेताहरु बताउछन् । ‘आफ्नो पक्षका सदस्यहर कम परेपछि, सभापति देउवालाई असहयोग र अफ्ठेरोमा पारेर चेताउने भन्दै उहाहरु नआउनुभएको हुनसक्छ,’ काग्रेस नेताहरुले भने ।
बैठकमा पौडेल पक्षका तर्फबाट मिनेन्द्र रिजाल मात्रै बैठकमा उपस्थित थिए । कृष्ण सिटौला पक्षका नेताहरुसमेत अधिकांश उपस्थित थिएनन् । नवीन्द्रराज जोशी, दिलेन्द्र बडु बैठकमा आएनन् । बिहीबार महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा ११ सदस्यीय विधान मस्यौदा समिति गठन गरिएको थियो । समितिमा डा. मीनेन्द्र रिजाल, फरमुल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, दिलेन्द्रप्रसाद बडू, महालक्ष्मी उपाध्याय डिना, आनन्दप्रसाद ढुंगाना, नवीन्द्रराज जोशी, सीता गुरुङ, प्रदीप पौडेल र रमेश लेखक सदस्य छन् ।
समिति संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले देशभरका सबै नेता, कार्यकर्ताको सुझाव लिएर विधान तयार पार्ने गरी औपचारिक छलफल गरिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । भदौं अन्तिम साता बस्ने भनिएको पार्टीको महासमिति बैठकमा पेश गर्ने गरी कांग्रेसले विधान संशोधन मस्यौदा निर्माणको काम सुरु गरे पनि गुटगत समस्याले मस्यौदा लेखनमा अन्यौलता देखिएको छ ।
मुलुक संघीयताको ३ बर्ष पुग्न लाग्दासमेत कांग्रेस भने आन्तरिक रुपमा संघीतामा गएको छैन । उसले पार्टी संरचना र विधान संघीयता अनुसार अझै बनाएको छैन ।
प्रकाशित समय : २१:१० बजे



















