गृहपृष्ठ संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने
संविधान दिवस कालो दिनका रुपमा मनाए प्रदेश सरकार कडा रुपमा प्रस्तुत हुने
संविधान दिवशलाई कालो दिनका रुपमा मनाउन कतिपय दलहरुले तयारी गरिरहेको समयमा प्रदेश १ सरकार भने त्यस्ता दल र व्यक्तिविरुद्ध कडा रुपमा प्रस्तुत हुने भएको छ ।
प्रदेशस्तरीय संविधान दिवस मनाउने विषयमा सोमबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका प्रवक्ता एव आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संविधान दिवसकाविरुद्ध गरिने कार्यक्रम प्रदेश सरकारका लागि कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका हुन् ।
‘संविधान जारी भएको दिनलाई प्रदेश स्तरमा पनि राष्ट्रिय दिवासका रुपमा भव्यताको साथ मनाउने तयारी भइरहँदा कुनै राष्ट्रिय दलले त्यस दिनलाई कालो दिवसका रुपमा लिएर सोही अनुसारको गतिविधि गर्छ भने, ‘उसले गर्ने व्यवहारको आधारमा प्रदेश सरकारले पनि सोही किसिमको व्यवहार उ माथि गर्नेछ,’ पत्रकार सम्मेलनमा कार्कीले भने ।
मन्त्री कार्कीले संविधान दिवस मनाउने तयारीमा रहेको समयमा कुनै पक्षबाट त्यसको विरोधमा काम हुन्छ भने यो कानुनी राजको मुलुक भएको स्मरण गराउँदै मन्त्री कार्कीले भने ‘संविधानको विरोध गर्ने कुनै पक्षलाई छुट संविधानले दिदैन त्यसैले उनीहरुमाथि आवश्य कार्बाही हुनेछ, चाहे सिके राउत होस या अन्य ।’
उनले प्रदेश सरकारको तर्फबाट संविधान दिवस मनाउने पहिलो औपचारिक कार्यक्रमसमेत भएको जानकारी दिदै दिवसमा वढी भन्दा बढी जनसभागीता गराउने अपेक्ष सरकारले लिएको र सोही प्रकारले तयारी गरेको जानकारी दिए ।
संविधान सबैको साझा हो भन्ने धारणा आम समुदायमा सन्देश पुर्याउने गरी प्रदेश सरकारले कार्यक्रम आयोजना गर्न लागेको मन्त्रालयले जनाएको छ ।
मुख्यमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय समिति गठन
प्रदेश सरकारले संविधान दिवशको अवसरका तीन दिन विभिन्न कार्यक्रम आयोजना गरी मनाउने तयारी गरेको छ । त्यसका लागि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ ।
सोही कार्यक्रमका लागि प्रदेश सरकारका प्रमुख सचिव केदार न्यौपानेको संयोजकत्वमा कार्यक्रम व्यवस्थापन समितिसमेत गठन गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
असोज २, ३ र ४ गते प्रदेशस्तरीय विभिन्न कार्यक्रमको आयेजना गरी संविधान दिवस मनाउने तयारी प्रदेश सरकारले गरेको हो ।
जसमा अस्थायी राजधानीसमेत रहेको विराटनगरभित्रका सबै सरकारी कार्यालय, महानगरपालिकाले आ–आफनौ कार्यालय र क्षेत्रका विभिन्न स्थनहरुमा राष्ट्रिय झण्डा एवं व्यानर सजाई नगरको श्रृंगार र सरसफाई गर्नेदेखि साँझ दिपावली गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ ।
प्रकाशित समय : ०१:५७ बजे



















