global ime bank Long Banner Ad

गृहपृष्ठ जस्तापाताले छाएको विद्यालय भवन, स्कुले बालबालिकाको बिजोग

जस्तापाताले छाएको विद्यालय भवन, स्कुले बालबालिकाको बिजोग

जस्तापाताले छाएको विद्यालय भवन, स्कुले बालबालिकाको बिजोग

केही दिनयता धनुषालगायत तराई मधेसमा बढेको प्रचण्ड गर्मीका कारण स्कुले बालबालिकाहरु समस्या परेका छन् । भदौ महिनामा प्रचण्ड गर्मीका कारण विद्यालयहरुमा विद्यार्थीहरुको उपस्थिती कम देखिएको छ ।

धनुषाको नगराइन नगरपालिकाको फुलगामाबजारमै अवस्थित श्री राष्ट्रिय आधारभुत विद्यालयमा कक्षा ५ सम्म पढाई हुँदै आएको छ । विद्यालयमा करिब दुई सय पचासभन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन । तर हाल विद्यालयमा विद्यार्थी संख्याको आधा मात्रै विद्यालय आउने गरेको विद्यालयका शिक्षक धनिराम ठाकुरले बताए ।

विद्यालयमा विद्यार्थीहरुको चापअनुसारको कक्षाकोठामा फर्निचर अभावले गर्दा विद्यार्थीहरुलाई खुल्ला भुइँमै बसाएर पढाउनु परेको विद्यालयका प्रध्यानाध्यापक रामनारायण पंजियारले जानकारी दिए ।

विद्यालयमा कक्षाकोठाको अवस्था विद्यार्थी संख्याको अनुपातमा नभएको र हावादार समेत नरहेकाले समस्या भएको पंजियारले बताए । विद्यार्थीहरुलाई एक त भुइँमा बसेर पढ्नु परेको छ भने अर्कातर्फ चारैतिर चारैतिर टाँसिएरै घर बनाएकाले विद्यालयको कक्षाकोठा अध्यारो भएको प्र.अ. पंजियारले बताए । विद्यालयको भवन समेत वर्षौं पहिले बनाएकाले गर्दा जस्तापाताले छाएको छ भुई र छानाको दुरी कम भएकाले विद्यार्थीहरुलाई गर्मीले बढी सताउने गरेको छ । विद्यार्थी मात्र होइन गर्मीले शिक्षकलाईसमेत आहत बनाएको छ ।

गर्मीले गर्दा शरीर पसिनै पसिनाले भिजेर विद्यार्थीहरुको कापी चेक गर्दा पसिनाले कापी नै भिजेर च्यातिने गरेको पंजियारले बताए । विद्यालयमा खानेपानी र चर्पीकोसमेत राम्रो व्यवस्था नरहेकाले विद्यार्थीहरुलाई दिसा पिसाव गर्नमै समस्या भएको छ । त्यतिमात्र होइन तिर्खा लाग्दा पानी खान पनि आफ्नो घर नै जानुपर्ने बाध्यता रहेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

यता, नगराइन नगरपालिकाकै घोडघासस्थित श्री मिथिला राष्ट्रिय प्राथमिक विद्यालयमा २ सय २५ विद्यार्थी अध्ययनरत छन् । तर, विद्यालयमा हाल मुस्किलले ५० विद्यार्थी उपस्थित हुने गरेका छन् । मंगलबार विद्यालयमा कक्षा ४ मा ४ जना र कक्षा ५ मा ६ जना, कक्षा ३ मा ७ जना, कक्षा २ मा १० जना विद्यार्थी उपस्थित भएका थिए । विद्यालयको पुरानो भवन र कक्षाकोठा अभावले गर्दा विद्यार्थीहरुलाई पढाई लेखाई गराउन निकै समस्या हुँदै आएको विद्यालयका प्रध्यानाध्यापक आशा झाले बताइन् ।

प्र.अ. झाले भनिन् विद्यालयको कक्षाकोठा हावादार छैनन् साघुरो कक्षाकोठामा पढाउनु परेकाले विद्यार्थीहरुलाई पढाउन निकै समस्या भइरहेको छ । गर्मीकै कारण गर्दा भदौ ३ गते आफूहरुले टिफिनकै समयमा विद्यालय व्यवस्थापन समितिको राय लिएर विदा दिएको बताएकी छिन् ।

विद्यालयहरुमा जस्तापाता (टिन)को छाना भएको भवन बनाइनु तराई मधेशको लागि सान्दर्भिक नभएको नगराइन नगरपालिकाकै श्री अखिलेश्वरनाथ राष्ट्रिय प्राथमिक विद्यालयका शिक्षक रामसरोज यादव तर्क गर्छन् । शिक्षक यादवले भने तराइ मधेसमा गर्मीको ६ महिना जस्तापाता तातिएर विद्यार्थीहरुलाई कक्षाकोठामा बस्न कठिन भइरहेको छ ।

विद्यालयमा बिजुलीवत्तीको सुविधा उपलब्ध हुन सकेको छैन भने पुस महिनामा जस्तापाताबाट असिना चुहिने गर्दछ । त्यस्तै वर्षायाममा पानीको थोपाले गर्दा आवाज निस्किने भएकाले शिक्षकहरुलाई समेत निकै समस्या भोग्नु परेकाले अब भवन बनाउदा जस्तापाताको विकल्प खोज्नुपर्ने बताएका छन् ।

श्री मिथिला आधारभुत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र पासमानका अनुसार गर्मी यामको समयमा विद्यालयमा विजुलीवतीको सुविधा भएको खण्डमा पंखा लगाउन सकिन्छ । तर कतिपय विद्यालयहरु गाउँभन्दा टाढा रहेकाले विजुली पुर्याउन नसकेकाले विद्यार्थीहरुलाई समस्या भइरेको छ । सोही कारण जस्तापाताको विकल्पमा माटोले बनेको खपडा (छाना) लगाउनुपर्ने उनको तर्क छ ।

धनुषाको सवैला नगरपालिकाको रघुनाथपुर बस्ने अभिभावकसमेत रहेका समाजसेवी विनोद साह विद्यालयको वरिपरी हराभरा राख्नु पर्ने गरि वृक्षारोपण गर्न सके प्रचण्ड गर्मीका बेलामा केही मात्रामा भएपनि चिसोपना महसुस हुने बताउँछन ।

यता, प्रचण्ड गर्मीको समयमा धनुषाका अधिकांश विद्यालयमा विजुलीवत्तीको सुविधा नभएको र कक्षाकोठासमेत अवस्थित देखिएकोले विहानी कक्षा सञ्चालनको बारेमा पनि सोच्न थालिएको छ । स्थानिय तहको समन्वयमा विहानी कक्षा संचालन गर्न सकिने मौखिक निर्देशन भदौको पहिलो हप्तामै गरिसकेको शिक्षा विकास तथा समन्वय इकाइ धनुषाका निमित्त प्रमुख मेहिलाल यादवले बताए ।

विद्यालयमा विद्यार्थी र शिक्षकहरुसमेत गर्मीले गर्दा अध्ययन अध्यापन गराउनमा समस्या भई रहेको अनुभव सुनाउछन् । स्थानिय तहकै शिक्षाका स्रोत व्यक्ति र विद्यालय निरिक्षकहरुले जानकारी गराएकाले गर्दा स्थानिय तहकै समन्वयमा विहानी कक्षा संचालन गर्न विद्यालयहरुलाई छुट दिएको निमित्त प्रमुख यादवले बताएका छन ।

 

सबै तस्बिरहरू- दीपेन्द्रप्रसाद सिंह/न्युज काराेबार

प्रकाशित समय : २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु