गृहपृष्ठ गाई मारेर जेल परेकालाई छाडिदिन अदालतको आदेश
गाई मारेर जेल परेकालाई छाडिदिन अदालतको आदेश
गौ हत्याको मुद्दामा कैद भुक्तान गरिरहेका चार जनालाई कैदमुक्त गर्न जिल्ला अदालतले आदेश दिएको छ । न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले शुक्रबार उनीहरूलाई कैदमुक्त गर्न आदेश दिएको हो ।
गौ हत्याको अभियोग प्रमाणित भएपछि जेल परेका सोलुखुम्बुको साविक चौरीखर्क गाविस–८ का दावाकाजी शेर्पा, बुङ् गाविसका गन्जधन कुलुङ राई , रजप्रसाद राई र नेचासल्यान गाउँपालिका–२ का हेमन्त राई कैदमुक्त भएका हुन् । पुरानो कानूनअनुसार १२ वर्षको कैद भुक्तान गरिरहेका चार जनाले गत भदौ ५ गते नयाँ कानुनअनुसार कैद घटाइपाउँ भनी निवेदन दिएका थिए । सो निवेदनमाथि अदालतले नयाँ कानूनअनुसारको तीन वर्षको कैद भुक्तान गरिसकेकाले कैदमुक्त गर्न आदेश भएको जिल्ला अदालत सोलुखुम्बुका नायब सुब्बा भगीश्वर सराइलीले जानकारी दिए ।
दावाकाजी शेर्पा, गन्जधन कुलुङ राई र रजप्रसाद राईलाई जनही २२÷२२ हजार रुपैयाँ जरिवानासहित र हेमन्त राईलाई बिना जरिवाना कैदमुक्त गरिएको सराइलेले बताए । हेमन्तले गाईहत्या मात्र गरेकाले जरिवाना नगरिएको तथा अन्य तीनले गाई चोरीसमेत गरेकाले जरिवाना तिराइएको अदालतको ठहर छ ।
तीन जना ८ असोज ०७१ मा पक्राउ परेका थिए भने हेमन्त राई १७ चैत २०७० मा पक्राउ परेका थिए । हेमन्तलाई १४ जेठ २०७१ को पैmसलामा थुनामा राख्न आदेश भएको थियो भने बाँकी अरूलाई ८ असोज २०७१ को पैmसलाले थुनामा राखिएको थियो ।
उनीहरूलाई तत्कालीन प्रचलित कानूनअनुसार १२ वर्षको सजाय भएको थियो भने हाल बहाल रहेको मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २७ को पशुपछीसम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्याको तीन वर्ष कैद सजायको व्यवस्था भएकाले उनीहरूलाई कैदमुक्त गरिएको जिल्ला न्यायाधीश सुवेदीले बताए ।
प्रकाशित समय : १७:३८ बजे



















