सेञ्चुरी कमर्सियल बैंकले दुई आर्थिक वर्षको लाभांश वितरण गर्ने
वि.सं.२०७७ माघ ६ मंगलवार २२:३२
shares

सेञ्चुरी कमर्सियल बैंक (CCBL)को पुस २९ गते सम्पन्न नवौं तथा दशौं वार्षिक साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आर्थिक २०७५/७६ को मुनाफाबाट ६.७५ र आव २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांश वितरण गर्ने भएकाे हाे ।
साधारण सभाले सेयरधनीहरुलाई आव २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६ रुपैयाँमा ४.७५ प्रतिशत नगद लाभांश (करसहित) र २ प्रतिशत बोनश सेयर तथा उक्त बोनश सेयर वितरणपश्चात् हुन आउने चुक्ता पुँजी रकम ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँमा आव २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
यसका साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आव २०७५/७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ । संस्थापक सेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना सञ्चालक रमेश कुमार निरौला, मन बहादुर राई र रण बहादुर श्रेष्ठ सभाबाट निर्वाचित भएका छन् ।
चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप ८२.४२ अर्ब रुपैयाँ र कर्जा रकम ६६.९३ अर्व रुपैयाँ परिचालन गरी २२.०२ करोड रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

























