तीन दिनदेखि पेट्रोलियम पदार्थ ढुवानीमा अवरोध, सम्झौता रद्द गर्ने निगमको चेतावनी
वि.सं.२०७५ असोज ४ बिहीवार १३:४१
shares

नेपाल आयल निगमले इन्धन ढुवानीकर्ता तथा चालकले तत्काल ट्यांकर सञ्चालन नगरे ढुवानी सम्झौता रद्द गर्ने चेतावनी दिएको छ ।
निगमले बुधबार एक सूचना जारी गर्दे पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थामा प्रतिकूल प्रभाव पार्ने पिडिओ नलिने, भारतीय आयल कर्पोरेशन (आइओसी)मा इन्धन लिन नजाने, डिपोमा इन्धन लिएर नआउने र बिक्री वितरणमा असहयोग गर्ने ट्यांकर तथा चालकलाई कडा कारवाही गरिने चेतावनी दिएको हो ।
आम उपभोक्ताको दैनिक जीवनसँग प्रत्यक्ष प्रभाव पार्ने अत्यावश्यक पेट्रोलियम पदार्थको आपूर्ति सरल र सहज राख्न तत्काल आ–आफ्नो क्षेत्रमा ट्यांकर सञ्चालन गर्नसमेत निगमले सूचीत गरेको छ ।
वैज्ञानिक ढुवानी भाडामा समायोजन गरेपछि पनि पुनः विभिन्न बहानामा पेट्रोलियम पदार्थको आपूर्तिमा निगम एवं आम उपभोक्तालाई अप्ठ्यारो पार्ने गरी हड्ताल गर्नु गम्भीर विषय भएको निगमका प्रवक्ता वीरेन्द्र गोइतको भनाइ छ ।
केही समयअघि निगमको ढुवानी सम्झौतामा रहेका ट्यांकर चालकले उठाएका तलब, भत्ता, सञ्चयकोष, ट्रिप भत्तालगायत माग पूरा गरी पेट्रोलियम पदार्थको नियमित आपूर्ति सरल एवं सहज राख्ने सहमति भएको थियो ।
इन्धन ढुवानीकर्ता तथा ट्यांकर चालकले मंगलबारदेखि इन्धन ढुवानी रोकेका छन् ।

























