गृहपृष्ठ न अरिंगाल न मौरी : नेकपाको सरकारमा किन लाग्दै छ धमिरा ?
न अरिंगाल न मौरी : नेकपाको सरकारमा किन लाग्दै छ धमिरा ?
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पार्टीका नेता–कार्यकर्तालाई सरकारको विरोध गर्नेविरुद्ध अरिंगाल बन्न निर्देशन दिए । सरकारमाथि आलोचनाको प्रतिवाद नगरेकामा भदौ ३० गते नेता–कार्यकर्तासँग असन्तुष्टि जनाउँदै ओलीले भनेका थिए– एउटा अरिंगाललाई चलाउनुभयो भने सिङ्गै गोलो खनिन्छ तर हामीसँग अरिंगालको जति पनि बुद्धि छ कि छैन ?’
प्रधानमन्त्रीकोे भनाइको आसय थियो– पार्टीका कुनै एक नेताविरुद्ध कोही लाग्यो भने ठिकै छ भन्ने होइन, एकजुट भएर प्रतिवाद गर्ने हो । दुई ठुला कम्युनिस्ट पार्टी एक भएका छन् । कुनै बेलाका अत्यधिक क्रियाशील र जुझारु मानिने कम्युनिस्ट पार्टीका नेता–कार्यकर्तामा अहिले विगतको जस्तो एकता नदेखेपछि ओलीले ‘अरिंगाल’ बन्न निर्देशन दिनुपरेको थियो ।
पार्टीमा ‘धमिरा प्रवृत्ति’ मौलाएको आभाष मिलेपछि नेता–कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिएका ओलीको चर्काे आलोचना भयो । सरकारविरुद्ध चौतर्फी आक्रमण भइरहँदा पनि नेता–कार्यकर्ता चुप बसेको भन्दै ओलीले पोखेको आक्रोशलाई विपक्षी नेपाली कांग्रेसले संसदबाटै प्रतिवाद गर्यो ।
सडक र सदनसम्म ‘अरिंगाल’को विरोध भएपछि ओलीले नेता–कार्यकर्तालाई मौरी बन्न निर्देशन दिए । दुस्मनप्रति एकजुट भएर प्रतिकार गर्ने अरिंगाल बन्न निर्देशन दिँदाको विरोध थेग्न नसकेपछि ओलीले ६ असोजमा ‘मौरीजस्तै एकजुट र कर्मशील’ हुन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए ।
ओलीले ‘अरिंगाल’ र ‘मौरी’ बन्न निर्देशन दिए पनि नेता–कार्यकर्ता भने ‘धमिरा’ बनिरहेको पछिल्ला घटनाक्रमले देखाउँछ । बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई महिना बित्दासमेत अपराधी पत्ता लगाउन नसक्दा र दैनिकजसो बलात्कार, हत्याका घटना बढिरहँदा कार्यकर्ताले सरकारका विरोधीविरुद्ध ‘अरिंगाल’ र ‘मौरी’ बन्नसक्ने आधार भेटिरहेका छैनन् । बरु, सरकारविरुद्ध जनआक्रोश बढिरहेको छ । सत्तारुढ दलका शीर्षनेता नै सरकारविरुद्ध जाइलाग्न थालेका छन् । नेकपा नेतृत्वको सरकारमा ‘धमिरा’ लाग्न थालिसकेको छ ।
न अरिंगाल न मौरी
नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले गत बिहीबार संसदमै सरकारको कडा आलोचना गरे । मुलुकमा हत्या, हिंसा र बलात्कार बढेको भन्दै उनले प्रधानमन्त्री र गृहमन्त्री नै नभएको देशजस्तो भएको टिपप्णी गरेका थिए । त्यतिले मात्र सन्तोष नमिलेपछि नेपालले छुट्टै गुटगत भेलासमेत बोलाए । शुक्रबार नेकपा स्थायी समितिका सदस्यहरुको अनौपचारिक भेला बस्यो । पार्टीभित्र अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकलौटी गरेको भन्दै स्थायी कमिटी बैठक बोलाएरै प्रदेशको पदाधिकारी चयनमा नेपालले असन्तुष्टि पोखे ।
नेकपा एमाले र नेकपा माओबादी केन्द्रको पार्टी एकता पाँच महिना पूरा नहुँदै शीर्षनेताबीच एक–अर्काेविरुद्ध औपचारिक रुपमै घेराबन्दी सुरु भएपछि कार्यकर्तासमेत फरक–फरक कित्तामा बाँडिएका छन् । वरिष्ठ नेता नेपालले सरकार र पार्टी नेतृत्वको आलोचना गरेपछि सत्तारुढ नेकपाको विवाद दोस्रो तहका नेता तथा प्रदेश, जिल्ला हुँदै कार्यकर्तासम्म पुगिसकेको छ ।
नेता नेपालले संसदमा सरकारप्रति गरेको आलोचनाको प्रधानमन्त्री ओलीले अमेरिकाबाटै जवाफ फर्काए । संयुक्त राष्ट्रसंघको ७५औं महासभालाई सम्बोधन गर्न न्युयोर्क पुगेका प्रधानमन्त्रीसँगै रहेका अर्का नेता विष्णु रिमालसमेत नेपालविरुद्ध खनिएका छन् । प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले नेता नेपालको विरोध गर्दै ट्विट गरेपछि नेपाल पक्षीय नेता–कार्यकर्ता आक्रोशित बनेका छन् । ओली समूहले कडा प्रतिवाद गरेपछि नेपाल पक्ष पनि प्रतिरक्षामा उत्रिएको छ ।
ओलीनिकटका नेता डा. राजन भट्टराईले पनि ट्विटरमार्फत नेता नेपालको कार्यशैलीको आलोचना गरेका छन् । नेता नेपालको कार्यशैलीको विरोध गरिरहँदा डा. भट्टराई पनि सरकारका काम कारबाहीप्रति सन्तुष्ट भने देखिँदैनन् । संसदमा बिहीबार केन्द्रीय सदस्य एवं सांसद विरोध खतिवडाले पनि ‘सरकारको अनुहार देख्दा पनि लाज मान्नुपर्ने’ स्थिति आएको टिप्पणी गरेका थिए । यसरी सदन, सडक र सामाजिक सञ्जालसम्म नेकपाका नेता–कार्यकर्ता सरकारविरुद्ध जाइलाग्न थालेका छन् ।
नेता नेपाल र दोस्रो तहका नेतामात्र नभई अर्का नेता झलनाथ खनाल र बामदेव गौतम पनि सरकार र पार्टी सञ्चालनको तौरतरिकाप्रति असन्तुष्ट छन् । आफूलाई तेस्रो वरीयता दिएकोमा झलनाथ खनाल पनि अध्यक्षद्वय ओली र प्रचण्डप्रति रुष्ठ छन् । सांसद बन्न भित्रभित्रै रोकेको झ्वाँकमा बामदेव गौतम पनि अध्यक्ष ओलीप्रति असन्तुष्ट छन् । सरकारको पक्षमा कुनै नेता–कार्यकर्ताले ‘अरिंगाल वा मौरी’ प्रवृत्ति देखाउन सक्ने अवस्था छैन ।
बरु धमिरा
सरकारविरुद्ध जनताका गुनासा सामान्य भए पनि सत्तारुढ दलकै नेता सार्वजनिक रुपमा आलोचनामा उत्रिनु स्वाभाविक नभएको विश्लेषकहरुको टिप्पणी छ । ‘दुई तिहाइको सरकारको सत्तारुढ दलकै नेताले उछितो काड्नुलाई स्वाभाविक मान्न सकिन्न,’ विश्लेषक राजेश गौतम भन्छन्, ‘आन्तरिक समस्या भित्रै समाधान गर्नुपर्ने हो, बाहिर आउने परिस्थिति उत्पन्न हुनुलाई एक–अर्काेलाई सिध्याउने धमिरा प्रवृत्ति मौलाएको रुपमा बुझ्न सकिन्छ ।’
नेकपाकै नेता विरोध खतिवडा आफूले नागरिकको हैसियतमा सरकारलाई गाली गरेको बताउँछन् । संसदमा समेत सरकारको उछितो काडेका उनले सरकारले नागरिकलाई बाँडेका सपना पूरा गर्न नसकेकाले आलोचना गर्नुपरेको बताए । सांसद खतिवडा भन्छन्, ‘सरकारका काम–कारबाहीप्रति नागरिक सन्तुष्ट छैनन् । संसदको प्रतिनिधिको हैसियतले सरकारविरुद्ध नागरिकस्तरबाट आएका आलोचना र गुनासोबारे हामीले जानकारी गराएका हौं ।’
ओली नै सामूहिकताविपरीत
पार्टीमा एक–अर्काेलार्ई सिध्याउन पक्ष–विपक्षमा लागेको नभई आफूहरुले नेतृत्वलाई खबरदारीमात्र गरेको नेपाल पक्षका नेता युवराज ज्ञवाली बताउँछन् । उनी भन्छन्, ‘केन्द्रदेखि वडा तहसम्मको पार्टी एकता सिस्टमेटिक ढंगबाट नभएकाले अहिले अराजकता मच्चिन सुरु भएको छ, समयमै स्थिति नियन्त्रणमा लिन नेतृत्वलाई सचेत र खबरदारी गरेका हौं ।’
यद्यपि, सत्तारुढ दलका नेताहरुबाट सरकार र पार्टीको आलोचना हुनु स्वाभाविक प्रक्रिया रहेको स्थायी समिति सदस्य घनश्याम भुसाल बताउँछन् । ‘तर, अरुबाट सामूहिकता खोज्नेले आफूले पनि त्यहीअनुसारको व्यवहार गर्नपर्छ,’ ओलीको कार्यशैली र व्यवहारप्रति लक्षित गर्दै उनले भने, ‘सरकारका कामले गति नलिँदा, पार्टीका काम–कारबाही नियमित नहुँदा झक्झक्याएका हौं ।’
पार्टीभित्र अरिंगाल वा मौरीको जस्तो सामूहिकता भने अहिले हराएको उनी स्वीकार्छन् । ‘पार्टीमा मौरी वा अरिंगाल जस्तो सामूहिक शैली छैन, कसले के गर्दै छ, कसरी पार्टी वा सरकार चल्दै छ, थाहै हुँदैन,’ उनले भने ।
समाधानमा ओली कति सक्रिय
प्रधानमन्त्री ओलीनिटकका नेताहरु भने नेतृत्वमा केही कमजोरी रहे पनि तिनको व्यवस्थापनमा ओली तत्पर रहेको बताउँछन् । सरकार वा प्रधानमन्त्रीविरुद्ध जाइलागिहाल्नुपर्ने बेला नभएको उनीनिटक पत्रकार एवं सल्लाहकार गोपाल खनाल बताउँछन् । ‘सरकार वा पार्टीभित्र कमजोरी छन् । नेतृत्वबाट पनि केही कमजोरी भएको होला तर तिनको व्यवस्थापन र समाधानका लागि नेतृत्व लागिरहँदा बाहिर असन्तुष्टि पोख्नु राम्रो होइन ।’
प्रधानमन्त्री ओलीले पनि गर्न सकेनन् भने कसले गर्ने भन्ने चिन्ता सबैतिर रहेको उनको बुझाइ छ । ‘ओली असफल हुँदा व्यक्तिमात्र होइन, नेकपा असफल हुन्छ,’ खनालले भने, ‘यसैले उहाँले पार्टी र सरकारमा देखिएका समस्या समाधानमा पहल गरिरहनुभएको छ, सबैको साथ आवश्यक छ ।’
प्रकाशित समय : १२:३७ बजे



















