तेजाब खन्याएर बालकको हत्या
वि.सं.२०७५ असोज ४ बिहीवार १७:०८
shares

अछामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गंगा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई आफ्नै कार्की जानकी बयकले हत्या गरेको स्थानीयले आरोप लगाएका छन् ।
असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी रोइरहेको सुन्नेबित्तिकै उनको आँखा, कान, मुख सबैतिर फोका आएको देखेकी थिइन । बालकलाई तत्काल स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मंगलसेन पुर्याइएको थियो ।
मंगलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।
मृतक बालकका बुबा महावीरले भाइबुहारी जानकीविरुद्ध तेजाब खन्याई कर्तव्य ज्यान गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए । प्रहरीले जानकीलाई हिरासतमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

























