‘मुलुक परिवर्तनमा थारु समुदायको भूमिका महत्वपूर्ण’
वि.सं.२०७५ मंसिर २७ बिहीवार २३:२७
shares

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको परिवर्तनमा थारु समुदायको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
‘मुक्तिक डगर’ थारु भाषाको पत्रिका बिहीबार विमोचन गरेपछि उनले जनयुद्धका क्रममा सबैभन्दा बढी मानवीय क्षति थारु समुदायले भोग्नुपरेको स्मरण गर्दै जनयुद्धमा पनि ठूलो सहयोग गरेको स्मरण उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले शहीदको रगत र बेपत्ता तथा घाइतेको त्यागले ठूलो राजनीतिक परिवर्तन ल्याए पनि सबै सपना पूरा नभएको बताए । ‘हामी यो अवस्थामा आइपुगेका छौं, यो सबै हजारौं हजार शहीदको बलिदानले सम्भव भएको हो,’ उनले भने, ‘तर यो नै पर्याप्त होइन, शहीदले खोजे जस्तो समाज निर्माण भएको छैन ।’
उनले संविधानले सुनिश्चित गरेका उत्पीडित जाति र समुदायका अधिकार सम्बन्धित वर्गले पाउन नसकेको बताए । अध्यक्ष दाहालले भने, ‘अहिलेको संविधानको विशेषता भनेको यसलाई परिमार्जन गर्न सकिन्छ, त्यसैले उत्पीडित वर्गले प्राप्त गर्न नसकेका अधिकार संशोधनको बाटोबाट पूरा हुनेछन् ।’
थारु समुदायका चर्चित व्यक्तित्व स्व. जोखन रत्गैया चौधरीले सम्पादन गरेको सो पत्रिकाको पुनःप्रकाशन शुरु भएपछि विमोचन गरिएको थियो । पत्रिकाको अहिले जोखनकी छोरी इन्दु चौधरीले सम्पादन गरिरहेकी छन् ।
रासस

























