नेपाली कांग्रेसको महासमिति बैठक अन्योलमा
वि.सं.२०७५ पुस ५ बिहीवार २३:१३
shares

तोकिएको समयमा बैठक नसकिँदा नेपाली कांग्रेसका महासमिति सदस्यहरु निराश बनेका छन् । पार्टीलाई पुनर्जीवन दिन आयोजित कांग्रेस महासमिति बैठक आँफै अन्योलमा परेपछि सदस्यहरु घाम तापेर समय बिताइरहेका छन् ।
विधान मस्यौदा पेस गर्न भइरहेको ढिलाइका कारण महासमिति बैठक अस्तव्यस्त बनेको छ । पहिलो दिनमै बन्दसत्रमा बोल्न ५ सय ४२ जनाले नाम टिपाएकामा बुधबारसम्म २ सयले पनि बोलेका छैनन् ।
बिहीबार बिहान ९ बजे सुरु हुने भनिएको बैठक अहिले साढे ४ बजसम्म सुरु भएको छैन । केही नेताहरुले विधानमा सहमति गरेर केन्द्रीय समितिले पारित गरेपछि मात्र महासमिति बैठकको बन्द सत्र हुने बताएका छन् ।
लामो प्रयास भए पनि अहिलेसम्म विधानमा सहमति जुट्न सकेको छैन । अनौपचारिक रुपमा विधानमाथि थुप्रै छलफल भए पनि केन्द्रीय समितिमा ठोस छलफल हुन सकेको छैन । सभापति शेरबहादुर देउवाको तर्फबाट उपसभापति बिमलेन्द्र निधिले बिहीबार विधानमाथि नयाँ प्रस्ताव ल्याएका छन् ।
घोषित कार्यक्रमअनुसार बुधबार महासमिति सकिनुपर्ने थियो । विधान मस्यौदा नै पेस हुन नसकेका कारण महासमिति बैठक लम्बिएका छ ।
























