राष्ट्र बैंकको निर्देशनपछि ब्याजदरमा फेरि भद्र सहमति
वि.सं.२०७५ पुस ५ बिहीवार २३:३७
shares

नेपाल बैंकर्स संघले ब्याजदरमा फेरि भद्र सहमति गरेको छ । राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नरहरु चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठको निर्देशनपछि बैंकर्स संघले ब्याजदरमा भद्र सहमति गरेको हो ।
कर्जा निक्षेप अनुपात सिसिडी रेसियो ८० प्रतिशत नघाएका बैंकलाई राष्ट्र बैंकले एकपटकलाई जरिवाना नतिराउने भएपछि बैंकहरू ब्याज घटाउन सहमत भएको बुझिएको छ । अब बचतमा बढीमा साढे ६ प्रतिशतमात्र ब्याज दिन पाइनेछ । व्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशतसम्म ब्याज दिन पाइनेछ भने संस्थागत मुद्दति निक्षेपकर्ताले साढे ८ प्रतिशतसम्म ब्याज पाउनेछन् ।
यसअघि, भद्र सहमति हुँदा बचतको उच्च ब्याजदर ७ प्रतिशत, व्यक्तिगत मुद्दति साढे १० र संस्थागत १० प्रतिशत तोकिएको थियो । त्यो सहमति तोड्दै बैंकहरु ब्याज बढाबढको प्रतिस्पर्धामा लागेका थिए ।
तीन साताअघि भद्र सहमति खारेज भएपछि १३ वटा बैंकले ब्याज बढाएका थिए । हिमालयन र नबिल बैंकजस्ता बलिया बैंकले पनि ब्याज बढाएर १३ प्रतिशत पुर्याएका थिए ।
























