Nepalese Flag २०७८ वैशाख २४ गते शुक्रबार   |   May 07, 2021

गभर्नरको 'सपिङ'

न्युज कारोबार काठमाडौं माघ १६, २०७७       

गभर्नरको 'सपिङ'

प्याज कसरी किलो ? ७५ रुपैयाँ । धार्नीको कति पर्छ ? १५० पर्छ । त्यसो भए धार्नी नै जोख्नुस् । नेपाल राष्ट्र बैँकका गर्भनर महाप्रसाद अधिकारीले बल्खु कृषि तथा तरकारी बजारमा प्याज तौलिसकेपछि क्यूआर कोर्डमार्फत भुक्तानी गरे । सरोजा आलु प्याज पसलकी सञ्चालक सरोजा राणाले मोबाइल खोजी गरिन् र पैसा पाएको कन्फर्म गरिन् । गभर्नर अर्को सपिङका लागि बल्खुकै फलफूल बजार पुगे । उनले १० किलो फुजी स्याउ किने र क्यूआर कोडबाटै २ हजार ३०० रुपैयाँ भुक्तानी गरे । खोला किनारमा रहेको पाण्डे फ्रुट ट्रेडर्सका सञ्चालकको मोबाइलमा एसएमएस आएको घण्टी बज्यो । पसलेले पैसा आएको भन्दै टाउको हल्लाएपछि उनी बाहिर सडकमा निस्किए । साइकलमा स्याउ, सुन्तला र केरा लिएर उभिएका बाराका मोहम्मद सुल्तान मियाँसँग उनले एक दर्जन केरा किने । व्यवसायी मियाँको घाँटीमा झुन्डिएको क्यूआर स्क्यान गरे र सय रुपैयाँ भुक्तानी गरे । क्यूआर कोड भुक्तानी अभियानमा बैँकहरूले लिएको सक्रियताबाट उत्साहित बनेका गभर्नर अधिकारीले फलफूल व्यापारीसँग सेल्फी पनि खिचे । पुस १० गते राष्ट्र बैँकको अग्रसरता र सानिमा बैँक तथा नक्साल तरकारी बजारको समन्वयमा क्यूआर कोड भुक्तानी प्रणालीलाई अभियानकै रुपमा अघि बढाएसँगै गभर्नर अधिकारी हिजोआज 'सपिङ'मा निस्किरहनुपर्छ । त्यसलाई व्यवस्थित गर्न उनले सचिवालयलाई सकेसम्म शुक्रबारको समय मिलाउन भनेका छन् । गभर्नरले नक्सालपछि कालिमाटी, नख्खुलगायतका तरकारी तथा फलफूल बजारमा गएर सपिङ गरिसकेका छन् । कालिमाटीमा प्रभु बैँक र नख्खुमा ग्लोबल आईएमई बैँकको अग्रसरतामा व्यवसायीलाई क्यूआर कोड हस्तान्तरण गरिएको छ । क्यूआर कोड हस्तान्तरण कार्यक्रममा प्रमुख अथिति बनेर पुगेका गभर्नरलाई आयोजकले कुनै वस्तु खरिद गराउने र क्यूआर कोडबाट भुक्तानी गराएर कार्यक्रम उद्घाटन गराउने गरेका छन् । गभर्नरलाई 'सपिङ'का लागि शुक्रबार (माघ १६) बल्खुको तरकारी बजारमा एनएमबी बैँक र फलफूल बजारमा नबिल बैँकले बोलाएका थिए । बल्खुमा प्याज किन्दै पसल सञ्चालक सरोजालाई गभर्नरले भने, 'अबदेखि क्यूआरबाटै पैसा लिनुहोस्, आफूले सामान किन्दा पनि क्यूआरबाटै पैसा तिर्नुहोस्, बैँकमा जम्मा गर्ने झन्झट पनि हुँदैन, मिसप्लेस हुने सम्भावना पनि हुँदैन, फिर्ताका लागि चानचुनको समस्या पनि हुँदैन, फिर्ता बढी गयो कि भन्ने पीर पनि हुँदैन, सबै सजिलो हुन्छ ।'

प्याजको पैसा भुक्तानी गर्दै गभर्नर अधिकारी । साथमा, एनएमबी बैँकका सीईओ सुनिल केसी।
प्याजको पैसा भुक्तानी गर्दै गभर्नर अधिकारी । साथमा, एनएमबी बैँकका सीईओ सुनिल केसी ।

सरोजा आजका दिनसम्म क्यास र चेकमा कारोबार गर्थिन् । पहिलोपटक गभर्नरले सामान किनेर क्यूआरबाट भुक्तानी दिएका हुन् । खातामा पैसा पाएको घण्टी मोबाइलमा बजेपछि म्यासेज हेरेर उनले भनिन्, 'यही पो सजिलो हुने रहेछ ।' बल्खु तरकारी बजारमा दुई वर्षदेखि उनी दैनिक २५-३० हजार रुपैयाँको प्याज र आलु बेच्छिन् भने हप्तामा डेढ लाख रुपैयाँजतिको खरिद गर्छिन् । आफूले राम्रैसँग भुक्तानी गरे पनि अरुले दिने चेक बैँकमा जम्मा नगरेसम्म शंका भइरहन्छ । क्यूआरबाट भुक्तानी गर्दा तत्कालै पैसा पाइने भएकाले सहज हुने विश्वास उनमा बढेको छ । बल्खु फलफूल बजारका पाण्डे फ्रुट ट्रेडर्सका सञ्चालक हुन् या साइकलमा फलफूल बेच्ने व्यापारी दुवैलाई गभर्नर अधिकारीले क्यूआर कोड भुक्तानी धेरै सजिलो भएकाले यसैबाट पैसा लिन र तिर्न सुझाव दिए । गभर्नरका कुरा सुनेपछि व्यवसायी मियाँले अब कसैले पैसा छिन्न सक्ने, सामानको कम पैसा दिन सक्ने वा पैसा हराउन सक्ने कुनै तनाव नरहेको बताए । उनी दैनिक २५ सयदेखि ३ हजार रुपैयाँसम्मको व्यापार गर्छन् । [caption id="attachment_187431" align="alignnone" width="900"] साइकल फलफूल बेच्ने व्यवसायीसँग केरा किनेर क्यूआर कोडबाट भुक्तानी गर्दै गभर्नर महाप्रसाद अधिकारी । साथमा नबिल बैँकका सीईओ अनिलकेशरी शाह ।[/caption] कार्यक्रममा उपस्थित तरकारी तथा फलफूल व्यवसायीलाई गभर्नरले डिजिटल पेमेन्टका कारण व्यवसायीको कारोबारको यकिन तथ्यांक बैँकसँग रहने भएकाले कर्जा लिन अहिलेजस्तो संघर्ष नहुने पनि बताए । 'तपाईंको नियमित कारोबार देखेपछि बैँकहरूले तपाईंको कर्जाको साँवाब्याज तिर्नसक्ने क्षमता आंकलन गर्छन्, फलतः कर्जा दिन आफैँ धाउँछन्,' उनले व्यवसायीलाई भने, 'बैँकलाई असल ऋणीको जहिल्यै आवश्यकता पर्छ, तिर्नसक्ने क्षमता भएका व्यवसायीलाई नै बैँकले छिटो पत्याउने हो, क्यूआर भुक्तानीले तपाईंको आर्थिक हैसियत निर्धारण गरिदिन्छ ।' गभर्नर अधिकारीले विश्वव्यापी कोरोनाभाइरस (कोभिड-१९) महामारीबाट छिटो निस्किने उपाय पनि डिजिटल भुक्तानी नै भएको बताए । उनलाई डिजिटल भुक्तानीमा पनि क्यूआर भुक्तानीप्रति धेरै भरोसा छ । भन्छन्, 'यो क्यूआर भुक्तानी पद्धतिको विकास कसले गरेको हो, त्यसलाई म हरेक कार्यक्रममा सम्झिने गर्छु, श्री स्वस्थानी व्रतकथामा भनेझैँ यसबाट हुने फाइदाको वर्णन त हजार जिब्रा भएका शेषनागले पनि गर्न सक्दैनन्, मैले के गर्न सक्थेँ ।' राष्ट्र बैँकको गभर्नर भएपछि आफूले हस्ताक्षर गरेका नोट सबैका हात‑हातमा होओस् भन्ने चाहना हुने गरे पनि आफूलाई त्यस्तो नलाग्ने उनले बताए । 'मलाई मैले हस्ताक्षर गरेका नोटहरू सबैका हात‑हातमा होउन् भन्ने चाहना छैन, म त क्यासलेस सोसाइटी चाहन्छु,' उनले भने, 'मेरो चाहना छ, मैले हस्ताक्षर गरेका नोट धेरै छाप्नु नपरोस्, सकेसम्म नोटहरू नै बजारमा नदेखिउन् ।' तरकारी बजारमा आयोजित कार्यक्रममा एनएमबी बैँकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले सरकारको ‘डिजिटल नेपाल’ बनाउने अभियानमा बैँकको सदैव साथ रहने प्रतिबद्धता जनाए । ‘हामीले सबै सेवा डिजिटाइज गर्न ठूलो लगानी गरेका छौँ,’ कार्यक्रममा उपस्थित कृषक तथा व्यवसायीलाई उनले भने, ‘छिट्टै मोबाइलबाटै कर्जा लिन सक्ने पद्धतिको सुरुवात गर्दै छौँ, हरेक कारोबारको भुक्तानी क्यूआरबाट गर्नुभयो भने तपाईंहरूलाई कर्जा दिने बलियो आधार तयार हुन्छ, तपाईंहरूको कारोबार हामीले स्वतः इभ्यालुएट गर्न सक्ने भएकाले कर्जा प्रवाह पनि सहज हुन्छ ।’ उनले व्यवसायीको दिनहुँको सानो‑सानो बचतबाट नै बैँकहरूले ठूला‑ठूला आयोजनामा लगानी गर्ने भएकाले थोरै बचत पनि बैँकमा राख्दा मुलुक विकासमा ठूलो भूमिका निर्वाह हुने र व्यवसायीलाई ब्याज पनि प्राप्त हुने जानकारी गराए । फलफूल बजारको कार्यक्रममा नबिल बैँकका सीईओ अनिलकेशरी शाहले नबिल बैँकले व्यवसायीका सबै किसिमका कारोबारमा सहयोग गर्ने प्रतिबद्धता जनाए । क्यूआर थ्रेड राखेरमात्रै नहुने भएकाले प्रयोग बढाउन बैँकले फलफूल बजारमा टिम परिचालन गर्ने उनले जानकारी दिए । [caption id="attachment_187468" align="alignnone" width="1000"] स्याउको पैसा तिरेपछि मोबाइलमा म्यासेज देखाउँदै गर्भनर र व्यवसायी ।[/caption] व्यवसायीलाई अभ्यस्त बनाउन क्यूआर कोड अभियान सञ्चालन गरिएका बजारमा सम्बन्धित बैँकहरूले कर्मचारीको टोली परिचालन गरेका छन् । नक्सालमा सानिमा बैँक, कालिमाटीमा प्रभु बैँक, नख्खुमा ग्लोबल आईएमई बैँक, बल्खु तरकारी बजारमा एनएमबी बैँक र फलफूल बजारमा नबिल बैँकले कर्मचारी खटाएर व्यवसायी र ग्राहकलाई क्यूआर कोड भुक्तानीका लागि सहजीकरण गरिरहेका छन् । नेपालमा केही पहिलादेखि नै क्यूआर कोड भुक्तानी सुरु भएको हो । कोभिड-१९ महामारी सुरु भएयता स्वस्फूर्त ढंगले सानादेखि ठूला व्यवसायी, सपिङ सेन्टरलगायतले क्यूआर कोड भुक्तानीको अभ्यास बढाएका छन् । त्यसैलाई मध्यनजर गर्दै राष्ट्र बैँकले अभियानकै रुपमा क्यूआर कोड थ्रेस स्थापना गर्ने कार्यलाई अघि बढाएको हो । ठूला तथा साना बजारमा क्यूआर कोड पेमेन्ट प्रणालीको सुरुवात गर्न धेरै बैँकहरूले पहल गरिरहेका छन् । आगामी साता तीनकुनेको तरकारी बजारमा माछापुच्छ्रे बैँकले तरकारी किनाउँदै छ भने सनराइज बैँकले दक्षिणकाली लगेर खुवा, अकबरे खुर्सानीलगायतको 'सपिङ' गराउँदै छ । साउनयताका ६ महिनामा ५२ हजार ३२१ क्यूआर कोड थपिएका छन् भने पुसमा मात्रै २२ हजार ८३७ क्यूआर कोड थ्रेड थपिएको राष्ट्र बैँकको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा देशभर १ लाख ३८ हजार ९६८ क्यूआर कोड रहेकोमा पुससम्ममा १ लाख ९१ हजार २९२ वटा पुगेका छन् । क्यूआर कोडबाट कात्तिकमा ९३ करोड ९० लाख रुपैयाँबराबरको २ लाख ४१ हजार ८१८ वटा कारोबार भएको थियो भने मंसिरमा १ अर्ब २५ करोड ६० लाख रुपैयाँबराबरको ३ लाख ४३ हजार ५७४ वटा कारोबार भएको राष्ट्र बैँकले जनाएको छ ।

यी पनि पढ्नुहोस्

पसल-पसलमा भेटिन थाले क्यूआर कोड, मंसिरमा मात्रै सवा अर्बको कारोबार

बढ्यो क्यूआर कोडको प्रयोग

सम्बन्धित खबरहरु