बालुवाको थुप्रोमाथिको पालमा मुख्यमन्त्री शाहीको एक रात
वि.सं.२०७५ असोज २८ आइतवार १३:१८
shares

कर्णालीको विकास र समृद्धिको नारा लिएर म्याराथन दौडमा रहेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही शुक्रबार दैलेखको आठविस नगरपालिका–१, डावमा पर्ने कर्णाली किनारमा पुगेका छन् । उनीभन्दा पहिले नै मेघ आले नेतृत्वको टोली त्यहाँ पुगिसकेको थियो ।
त्यहाँ पुग्नेबित्तिकै मुख्यमन्त्री शाही र सँगै रहेका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले भूगर्भ तथा जलचर वैज्ञानिकसहितको उक्त टोलीलाई कर्णालीको पर्यटन विकासका लागि योगदान गरेको भन्दै खादा तथा अविरले स्वागत गरे । मुख्यमन्त्री शाहीको स्वागतपछि भूगर्भविद क्यारेन वानमेटा र नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेबाट कर्णाली नदीको उत्पत्ति, त्यसको उद्गम स्थल, कर्णाली नदी क्षेत्रको पारिस्थितिक पद्धति र कर्णालीबाट लिन सकिने फाइदाका विषयमा छोटो ब्रिफिङ भयोे ।

ब्रिफिङ सकेलगत्तै आलेले आजको रात सँगै बिताउन अनि बालुवा र नदीकिनारको अनुभूति संगाल्न आग्रह गरेपछि शाहीले आफूलाई जंगल, बालुवा र नदीसँगै रहन कुनै आपत्ति नरहेको भन्दै शुक्रबार राति नदीकिनारमा रहेको बालुवाको थुप्रोमा बनाइएको पालमा बिताएका छन् । सशस्त्र द्वन्द्वका क्रममा कयौं रात खुला आकाशमुनि सुतेका शाहीले मुख्यमन्त्री भएपछि पनि बालुवाको थुप्रोमाथिको अोछ्यानलाई कुनै अनौठो रुपमा लिएनन् ।
डावदेखि तल्लो डुंगेश्वरसम्मको करिब १५ किलोमिटर र्याफ्टिङ यात्रापछि मुख्यमन्त्री शाहीले कर्णाली नदीको यो क्षेत्रमा पहिलोपटक र्याफ्टिङ परीक्षण भएको र व्यावसायिक रुपमा र्याफ्टिङ सम्भव भएको वताएका छन् ।

























