सचिवालय बैठकमा ओलीले भने– अबदेखि सरसल्लाह गरेर निर्णय लिन्छु
वि.सं.२०७५ कात्तिक ६ मंगलवार ०१:२१
shares

प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र पद्धति अनुसार अघि बढाउने प्रतिवद्धता जनाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा सोमबार बसेको नेकपाको सचिवालय बैठकमा अध्यक्ष ओलीले आगामी दिनमा पार्टीका कुनै पनि निर्णय गर्दा विधि र पद्धति अनुसार गरिने बाचा गरे । वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विधि र प्रक्रियाबाट नेतृत्व नचलेको, निर्णयहरु पार्टीको विधि र विधान अनुसार नभएको भन्दै असन्तुष्टीको पत्र नै सचिवालयमा दर्ता गरेपछि अध्यक्ष ओली दबाबमा परेका हुन् ।
असोज पहिलो साता बसेको सचिवालय बैठकले प्रदेशका संयोजक तोकेपछि सोही निर्णयप्रति नेता नेपालले असन्तुष्टि जनाउदै लिखित असहमति पेश गरेका हुन् । सचिवालयको बैठकको निर्णयप्रति असहमति जनाउँदै नेता नेपालले राखेको पत्रमाथि छलफलपछि अध्यक्ष ओलीले विधि र पद्धतिलाई आगामी दिनमा पालना गरिने प्रतिवद्धता जनाएका नेकपाका नेताहरुले बताएका छन् ।
नेता नेपालको असन्तुष्टि पत्रबारे अन्य सदस्यहरुले पनि पार्टीको विधि पद्धतिलगायतका विषयलाई आत्मसाथ गर्न नेतृत्वको ध्यानाकर्षण गराएका सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले प्रवक्ता पदबाट दिएको राजीनामा पनि बैठकले अस्वीकार गरेको छ ।
प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकिकरणलगायतका विषयमा एजेण्डा निश्चित भईसकेकाले त्यसबारेको निर्णय आगामी बैठकमा गरिने उनले जानकारी दिए । अर्को बैठक कार्तिक ७ गते अपरान्ह ३ बजेका लागि बोलाइएको छ ।
























