चौतारीमा राजा भेटिए जसरी प्रधानमन्त्रीको फोटो टाँसियो : कांग्रेस
वि.सं.२०७५ मंसिर १६ आइतवार २३:५९
shares

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारको पछिल्ला प्रचार शैली भड्किलो भएको भन्दै आलोचना गरेको छ । आइतबार सिंहदरबारमा पत्रकार सम्मेलन गरी कांग्रेसले सामाजिक सुरक्षा कार्यक्रमलगायतका विषयमा गरेका प्रचार शैलीलाई अनावश्यक र भड्किलो भनेको हो ।
योगदानमा आधारिक सामाजिक सुरक्षा ऐन, २०७४ कार्यान्वयनको क्रम अघि बढाउन लागिएको विषय सकारात्मक भए पनि प्रचार शैली भने भड्किलो रहेको उसको टिप्पणी छ । ‘नयाँ युगको सुरुवात संज्ञा’ सरकारको बढ्दो अलोकप्रियतालाई ढाक्न खोज्ने पातलो पछ्यौरी भएको कांग्रेसको आरोप छ ।
आफ्नो पार्टी सरकारमा हुँदानै अघि बढाएको कार्यक्रमलाई आफ्नै नयाँ शैलीजस्तै बनाएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले दावी गरे । ‘राष्ट्रपतिबाट प्रमाणित भएको मितिले ९१ दिनका दिन लागु हुने व्यवस्था ऐनमा उल्लेख रहेको तथ्यलाई आधार मान्दा राष्ट्रपतिबाट साउन २९ गते ०७४ मा प्रमाणित भएको मितिले गत वर्षकै मंसिर १ गते सो निर्धारित मिति पर्दछ,’ उनले भने, ‘नयाँ युगकै संज्ञा दिनु पर्ने हो भने संसदमा पेस भएको दिन, अथवा पारित भएको दिन, अथवा राष्ट्रपतिबाट प्रमाणिकरण भएको दिन, अथवा मंसिर ११ मा तामझाम गरिएको दिन, अझ यो कार्यान्वयनमा आउन तय गरिएको ०७६ को साउन १ को दिन… ।’
यस्तै कांग्रेस केन्द्रीय कार्यसमितिले क्रिचियन धर्म प्रचारको लागि रकम खर्च गरेर सविधानको उल्लंघन गरेर बजेटको दुरुपयोग गरेको आरोप लगाएको छ । राज्यको व्यापक बजेट र साधनको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको आफ्नो ठहर रहेको कांग्रेसको निर्णय छ ।
‘खास धार्मिक आस्थामा अधारित अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाको आयोजनामा काठमाडौंमा भइरहेको अन्तर्राष्ट्रिय सम्मेलनमा सरकारसमेत आयोजकको भूमिकामा संलग्न हुनु र राज्यको व्यापक बजेट र साधानको प्रयोग हुनु संविधानको मर्म र भावना समेतको विपरीत रहेको हाम्रो ठहर छ,’ कांग्रेसको विज्ञप्तीमा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय समिति सरकारको यस्तो संलग्नता र राज्यको साधान र स्रोतको दुरुपयोगको घोर भत्र्सना गर्दछ ।’
नेपाली कांग्रेसले जारी गरेको विज्ञप्ती

























