काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

विराटनगर बसपार्क : निर्माण त भयो तर सञ्चालनमा आएन

13.61K
shares

साउनमै निर्माण सम्पन्न भएको अत्याधुनिक सुविधा सम्पन्न विराटनगर बस टर्मिनल अझै पनि सञ्चालनमा आउन सकेको छैन । साउन पहिलो साता नै निर्माण सम्पन्न गरी विराटनगर महानगरपालिकालाई हस्तान्तरण गरी सञ्चालनमा ल्याउने भनिएको बसपार्क चार महिनासम्म पनि सञ्चालनमा आउन नसकेको हो ।

सामान्य वर्षामै हिलाम्मे र हिउँदमा धुलाम्ये हुने विराटनगर बसपार्क निर्माण सम्पन्न भएपछि विराटनगरको मुहार नै फेरिएको छ । तर, महानगरको ढिलासुस्ती र ६ लेन सडकमा निर्माणाधीन ढलका कारण बनिसकेर पनि बस टर्मिनल सञ्चालनमा आउन सकेको छैन ।

अत्याधुनिक सुविधासम्पन्न अढाइ तले भवनसहितको बस टर्मिनल निर्माणका सबै काम गएको साउन महिनामै सम्पन्न भएको थियो । नगर विकास कोषको ८ करोड ४७ लाख ऋण सहयोगमा विराटनगर महानगरपालिकाले निर्माणका लागि गौरी पार्वती निर्माण सेवा काठमाडौंलाई ठेक्का दिएको थियो । उक्त कम्पनीले बस टर्मिनलको सबै काम सम्पन्न गरिसकेको छ ।

निर्माण सम्पन्न गरेर हस्तान्तरणका लागि ठेकेदार कम्पनीले विराटनगर महानगरपालिकालाई पत्राचारसमेत गरिसकेको गौरी पार्वती निर्माण सेवाका साइट इन्चार्ज सुदर्शन थापाले बताए । ‘हामीले सबै काम सकेका छौं, टर्मिनलअगाडि ६ लेन सडकको ड्रेन बनिरहेको छ, जसले गर्दा यातायातका साधन टर्मिनलमा छिर्न सकेका छैनन् । काम सकिसके पनि रुँगेर बसिरहनुपरेको छ,’ उनले भने । महानगरलाई छिटो लिइदिनुपर्यो भनेर अनुरोध गरिरहेको र हस्तान्तरण गर्नका लागि आधिकारिक चिठीसमेत पठाइसकेको उनले बताए ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले भने पुस दोस्रो साताभित्र बस टर्मिनल उद्घाटन गरिने जानकारी दिए । बस टर्मिनल क्षेत्रमा ६ लेनको सडकअन्तर्गत ढल निर्माणको काम भइरहेकाले तत्काल सञ्चालनमा ल्याउन समस्या भइरहेको उनले जानकारी दिए ।

‘हामीले पुस पहिलो वा दोस्रो साता उद्घाटन गर्ने भनेका छौं, ६ लेनको सडक निर्माण भइरहेको छ, कोशी राजमार्गमा त्यो सडकअन्तर्गत बस टर्मिनल क्षेत्रमा नाला निर्माणको काम भइरहेकाले समस्या भएको हो,’ उनले भने, ‘बसपार्क अगाडिको ड्रेनहरू कम्प्लिट गरिएको छैन । टर्मिनलको मुखको ड्रेन महानगरपालिकाअन्तर्गत पर्दैन । सडक विभागले गर्ने हो । हामीले पहल थालेका छौँ । सडक बनेको हप्ता दिनभित्र अत्याधुनिक सुविधा सम्पन्न बस टर्मिनल सञ्चालनमा ल्याउँछौँ ।’

ठेकेदारले निर्माण गरेको बस टर्मिनलमा एकपटकमा साना–ठूला गरी ५० देखि ५४ वटा सम्म बस रोक्न मिल्ने विराटनगर महानगरपालिकाले जनाएको छ । बस टर्मिनलमा पुरानो बसपार्क जस्तो धेरै समयसम्म बस रोक्न नमिल्ने र यात्रु ओराल्ने र चढाएर गन्तव्यतर्फ लागि हाल्नुपर्ने गरी आधुनिक बस टर्मिनल निर्माण गरिएको विराटनगर महानगरपालिकाका मेयर पराजुलीले जानकारी दिए । यसअघि, वर्षातको समयमा पानी जमेर हिलाम्मे हुने र सुख्खायाममा धुलोको समस्या भोग्दै आएका यातायात व्यवसायी, यात्रु र स्थानीयवासीले बस टर्मिनल निर्माणपछि राहत पाउने आशा गरे पनि निर्माण सम्पन्नपछि समेत सञ्चालनमा आउन नसक्दा निराश बनेका छन् ।

पूर्व नेपाल यातायात व्यवसायी कम्पनीका अध्यक्ष राजन कँडेलले बस टर्मिनल निर्माण सकिए पनि सञ्चालनमा नआउँदा समस्या भइरहेको बताए । उनले भने, ‘धेरै वर्षदेखि हामीले समस्या झेल्दै आउनुपरेको छ । बस टर्मिनल निर्माण भएपछि पहिले हिलो र धुलोले निकै समस्या पार्दै आएको थियो । बसपार्क अव्यवस्थित थियो तर आधुनिक बस टर्मिनल निर्माण सम्पन्न भएपछि यातायात व्यवसायी र यात्रुले झेल्दै आउनुपरेका समस्या समाधान हुने थियो भन्ने लागेको थियो तर निर्माण भएर पनि सञ्चालनमा ल्याउन नसक्नु एकदमै दुःखदायी विषय हो । अब अहिले पनि सडकमै गाडी लगाउनुपरेको छ । विराटनगरको ठूलो समस्या बसपार्क वा टर्मिनल नै हो, त्यसैले सम्बन्धित निकायले यसलाई चाँडै सञ्चालनमा ल्याओस् ।’

बस टर्मिनलनमा व्यवस्थित टिकट काउन्टर, यात्रु प्रतीक्षालय, रेष्टुरेन्ट, ब्यागेज राख्ने कोठा र सार्वजनिक शौचालय हुनेछन् । पहिलो तलामा टिकट काउन्टरसहित यात्रु प्रतीक्षालय र पसल रहनेछ भने दोस्रो तलामा रेष्टुरेन्ट, लगेज कक्ष र प्रशासन कक्ष रहनेछ । यो बस टर्मिनल पूर्वक्षेत्रकै सुविधा सम्पन्न र नमुना हुने दाबी गरिएको छ । यस्तो सुविधा सम्पन्न बस टर्मिनल निर्माण सम्पन्न भइसके पनि चाँडै सञ्चालनमा आउन नसक्दा यातायातका साधनले अव्यवस्थित रुपमा यात्रु चढाउने र ओराल्नुपर्ने बाध्यता छ । बस पार्किङ पनि सडकमै र अव्यवस्थित हुँदै आएको छ ।