डा. केसी इलाममा, १६ औं पटक अनशन बस्दै
वि.सं.२०७५ पुस २५ बुधवार २२:५१
shares

पटक-पटक अनशन बसेका कारण चर्चा र विवादमा आइरहने डा. गोविन्द केसी आफ्नो १६ औं पटकको अनशनका लागि इलाम पुगेका छन् । उनले विज्ञप्ती जारी गर्दै बुधबार बेलुकादेखि आमरण अनशन बस्ने जानकारी दिएका छन् ।
कडा टिप्पणी र सत्याग्रहका कारण चर्चा र विवादमा आइरहने डा. केसी यसपटक पनि त्यस्तै प्रकरणका कारण चर्चा र विवादमा छन् । उनले सरकारविरूद्ध केही तीखा टिप्पणी पनि गरेका छन् ।
देशमा कुशासन व्याप्त भएको उल्लेख गर्दै डा. केसीले भ्रष्ट व्यक्तिको संरक्षणमा शीर्ष राजनीतिज्ञ लागेको टिप्पणी गरेका छन् । ‘कर्मचारीहरुलाई बलिको बोका बनाएर राजनीतिज्ञहरुलाई क्लिन चिट दिने अभ्यास बसालिएको छ,’ डा. केसीले विज्ञप्तीमा भनेका छन्, ‘हत्या र बलात्कारजस्ता अपराधहरु बढ्दो क्रममा छन् भने गृह मन्त्रालय लगायत सिंगो सरकारी संरचना अपराधीलाई न्यायको कठघरामा ल्याउनको सट्टा फर्जी अपराधी बनाउँदै निर्दोषहरुलाई फसाउनमा अभ्यस्त भएको छ ।’
ग्रामिण क्षेत्रका जनताको भन्दा सीमित माफियाको स्वार्थमा सरकार फसेको उनको टिप्पणी छ । ‘ग्रामीण क्षेत्रमा बस्ने दुई तिहाइ जनताको हक हितभन्दा सीमित माफियाहरुको स्वार्थमा सरकार लागेको छ,’ उनको विज्ञप्तीमा भनिएको छ, ‘सबै विद्यार्थीको योग्यताका आधारमा निःशुल्क वा सस्तो शुल्कमा चिकित्सा तथा स्वास्थ्य शिक्षाका अन्य विषयहरु पढ्ने अधिकारका लागि हामी निरन्तर लडी आएका छौं ।’

























