धितोपत्र बोर्डले सुझाव समितिको प्रतिवेदन कार्यान्वयनमा लग्यो
वि.सं.२०७५ पुस २५ बुधवार २२:४४
shares

अब क्रेडिट रेटिङ ५ भएका संस्थाले सेयर निष्कासन गर्न नपाउने भएका छन् । नेपाल धितोपत्र बोर्डले मुद्रा तथा पुँजीबजारसम्बन्धी सुझाव समितिको प्रतिवेदन कार्यान्वयनमा लैजाने क्रममा धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ मा संशोधन गरी प्रारम्भिक सार्वजनिक निष्कासन गर्न न्यूनतम ग्रेडभन्दा कम्तीमा एक स्तरमाथिको रेटिङ प्राप्त गरेको हुनुपर्ने व्यवस्था गरेको हो ।
यससँगै न्यूनतमभन्दा एक स्तरमाथिको रेटिङ प्राप्त गरेको संगठित संस्थाले समेत सम्पूर्ण धितोपत्रको प्रत्याभूति गर्नुपर्ने भएको छ । यसअघि, धितोपत्र सार्वजनिक निष्कासन गर्न चाहने संगठित संस्थाले सबैभन्दा न्यून रेटिङ प्राप्त गरेमा सार्वजनिक निष्कासन गरिएको सम्पूर्ण धितोपत्रको प्रत्याभूति गर्नुपर्ने व्यवस्था थियो ।
त्यस्तै, संगठित संस्थाले ऋणपत्र जारी गर्दा जारी रकमको कम्तीमा ४० प्रतिशत ऋणपत्र प्राकृतिक व्यक्तिलाई बिक्री–वितरण गर्नुपर्ने प्रावधान राखिएको छ । यसरी छुट्याइएको ऋणपत्र तोकिएको अवधिभित्र प्राकृतिक व्यक्तिले खरिद नगरेमा अन्य खरिदकर्तालाई बिक्री गर्न सकिनेछ । बजारमा सर्वसाधारण लगानीकर्ताको पहुँच विस्तार गराई ऋणपत्र बजारलाई थप गतिशील बनाउन यस्तो व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक परीष्टनाथ पौड्यालले जानकारी दिए ।
प्रारम्भिक सार्वजनिक निष्कासनको प्रिमियम निर्धारण गर्दा नेटवर्थको चार गुणासम्म कायम गर्न सक्ने व्यवस्था रहेकोमा त्यसलाई संशोधन गरी नेटवर्थको दुई गुणासम्म कायम गर्न सक्ने व्यवस्था गरिएको छ । त्यसैगरी, सूचीकृत संगठित संस्थाले प्रिमियममा धितोपत्रको थप सार्वजनिक निष्कासनको प्रिमियम निर्धारण गर्दा प्रतिसेयर नेटवर्थको भन्दा बढी नहुने गरी प्रिमियमसहितको निष्कासन मूल्य निर्धारण गर्न सक्ने व्यवस्था गरिएको छ । यसअघि, नेटवर्थको चार गुणासम्म कायम गर्न सक्ने व्यवस्था थियो । स्वीकृत धितोपत्रको हकमा भने पुरानै व्यवस्था लागू हुने बोर्डले जनाएको छ ।
बोर्डले धितोपत्र दलाल व्यवसायीमार्फत मार्जिन कारोबार गर्न दिने व्यवस्थालाई शीघ्र कार्यान्वयनमा ल्याइने पनि जनाएको छ । सर्वसाधारण लगानीकर्ताको वित्तीय साक्षरताको अवस्था तथा धितोपत्र बजारको विकासको अवस्थालाई मध्यनजर गरी नयाँ व्यवस्था गरिएको बोर्डका कार्यकारी निर्देशक पौड्यालले जानकारी दिए ।

























