चितवनको समृद्धिका आधार कृषि र पर्यटन : चन्द्र ढकाल
वि.सं.२०७५ पुस २५ बुधवार २३:१६
shares

आइएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्थानीय उत्पादनको प्रवर्धनमा मेला महोत्सवको भूमिका प्रभवकारी रहने बताएका छन् । बुधबार १२औं चितवन महोत्सवलाई सम्बोधन गर्दै उपाध्यक्ष ढकालले मेलाले नागरिकको आर्थिक उपार्जन बढाउन भूमिका खेल्ने बताएका हुन् ।
प्राचीन ऋषिहरुको तपस्यास्थल देवघाटलाई केन्द्र बनाएर धार्मिक पर्यटन प्रवर्धन गर्न सकिने सम्भावना औंल्याउँदै उनले जंगली जनावरको मुख्य वासस्थान सौराहामा आउने विदेशी पर्यटकको बसाइ लम्ब्याउन चितवन र चितवन आसपासका सम्भावित पर्यटकीय क्षेत्रको सम्वर्धन गर्नुपर्ने धारणा राखे । ‘नगरबन, मौलाकाली, देवघाट जस्ता क्षेत्रमा सुविधा सम्पन्न पर्यटकीय पूर्वाधारहरु जलमार्ग, स्थलमार्ग, केबलकार र होटलहरुको निर्माण गर्ने हो भने समग्र पर्यटन उद्योग र स्थानीय रोजगारीमा चितवनले महत्वपूर्ण योगदान दिनसक्छ,’ उनले भने ।
चितवनमा उत्पादन हुने कृषि उपजको उचित भण्डारण, केरा, तरकारी, दूध, मह र कुखुराको उत्पादनलाई वितरण गर्ने बजारको खोजी गरि यहाँका स्थानीय कृषकहरुको आर्यआर्जनलाई बढाउन सकिने भन्दै उनले चितवन शिक्षाको हबको रुपमा समेत विकसित हँुदै गएकोमा प्रसन्नता व्यक्त गरे ।
पुस २५ गतेदेखि माघ ४ गतेसम्म १० दिन सञ्चालन हुने १२औं चितवन महोत्सवलाई आईएमई ग्रुप र ग्लोबल आईएमई बैंकले सहप्रायोजन गरेका छन् । सन् २००१ मा स्थापना भएको आइएमई ग्र्रुपले रेमिट्यान्स, बैंकिङ, सूचना प्रविधि, ऊर्जा, पर्यटन, अटोमोटिभ, इन्स्योरेन्स, ट्राभल, इन्फोटेन्टमेन्ट, हस्पिटालिटीलगायतका क्षेत्रमा लगानी विस्तार गर्दै मुलुकभित्र रोजगारीका अवसर सिर्जना गर्दै आइरहेको छ ।

























