काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

डा. रेणुकाको ‘चिराक’ बजारमा

11.74K
shares

डा. रेणुका ‘सोलु’को उपन्यास ‘चिराक’ बजारमा आएको छ । शनिवार प्रज्ञा भवन कमलादीमा पुस्तकको विमोचन गरिएको हो । नेपाली समाजको लैंगिक विभेदलाई मुख्य आधार बनाएर लेखिएको चिराकमा पश्चिम नेपालको भूगोल, समाज र संस्कृतिलाई चित्रण गरिएको छ ।

महिला हिंसाका घटना अशिक्षित र विपन्न परिवारमा मात्रै नभई शिक्षित र सम्पन्न परिवारमा पनि विकराल छ भन्ने तथ्यलाई लेखकले पुस्तकमा उतारेकी छन् । विमोचन कार्यक्रममा समालोचक प्रा. डा. लक्ष्मण गौतमले पुस्तकको बलियो पक्ष नै शिक्षित परिवारभित्रको महिला हिंसाको उजागर भएको टिप्पणी गरे ।

पढाइमा समेत तेज उपन्यासकी मूल पात्र तुलसी कसरी लैंगिक विभेदका कारण पारिवारिक तनावमा पर्छिन् र समानताको अधिकारको लडाइँमा चिराक बनेर उभिन्छिन् भन्ने सन्देश पुस्तकले दिन्छ । यौन मनोविज्ञान, पुरुषप्रधान समाज र मानसिकताले जकडिएको समाजका खराब पक्षलाई पृथक् रुपमा समेटिएका कारण पुस्तकको लोकप्रियता बढ्ने समालोचक साहित्यकार गिता केशरीले बताइन् ।

यस्तै, समालोचक प्रा. डा. ज्ञानु पाण्डेले नारी र पुरुष समाजका समान हैसियतका पात्र भएकाले उनीहरुको अधिकार र स्वतन्त्रता पनि बराबरी हुनुपर्ने विचार राखिन् । त्यसका लागि साहित्यिक कृतिमार्फत लेखकले न्याय गरेको उनको टिप्पणी छ । अर्की साहित्यकार माया ठकुरीले ‘चिराक’ विमोचनकै दिनबाट लोकप्रियताको बाटोमा हिँडिसकेको बताइन् । पश्चिमेली भाषा संस्कृतिलाई दुरुस्तै पुस्तकमा समेट्नु असाधारण भएको उनको भनाइ छ ।

लेखक ‘सोलु’ले उपन्यासमा साहित्यिक फुर्काहरुलाई कम महत्व दिँदै समाजको वास्तविक चित्र जस्ताको तस्तै ल्याउन झर्रा शब्दको बढी प्रयोग गरिएको बताइन् ।

सगरमाथा प्रतिभा प्रतिष्ठानले प्रकाशन गरेको २ सय ४० पेजको चिराकको वितरक ऐरावती प्रकाशनले गरेको छ । लेखक रेणुका ‘सोलु’को यो दोस्रो उपन्यास हो । यसअघि, उनको उपन्यास ‘भीर मह’ बजारमा आएको छ । उनका ‘गुलाफ फुल्न खोज्दा’ आत्म संस्मरण, ‘अस्तित्वको खोजी’ कथासंग्रह, ‘उपन्यासकार बिपीका नारी पात्रमा नीति चेतना’ समालोचनालगायत १२ वटा कृति प्रकाशित छन् ।