सर्वाधिक आयकर योगदान गर्ने फोनपे सम्मानित
वि.सं.२०८३ मंसिर ८ मंगलवार १४:२०
shares

ललितपुर ।आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ ले आर्थिक वर्ष २०८१/८२ को आय विवरणका आधारमा फोनपे पेमेन्ट सर्भिस लिमिटेडलाई सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा सम्मान गरेको छ।
राष्ट्रिय कर दिवस २०८३ को अवसरमा कार्यालयले फोनपेलाई सम्मानपत्र प्रदान गरेको हो। आन्तरिक राजस्व कार्यालय, ललितपुर–१ का प्रमुख कर अधिकृत शिवकुमार राईले नेपालको अर्थतन्त्रलाई डिजिटल बनाउन तथा आर्थिक गतिविधिलाई औपचारिक प्रणालीमा आबद्ध गर्न फोनपेले पुर्याएको योगदानको प्रशंसा गरे।
यसअघि पनि फोनपे सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा सर्वाधिक आयकर योगदान गर्ने संस्थाका रूपमा आठौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा सम्मानित भएको थियो।
नेपालको अग्रणी डिजिटल भुक्तानी प्रणाली सञ्चालकका रूपमा फोनपेले लाखौँ प्रयोगकर्ता, वित्तीय संस्था तथा व्यापारीको सञ्जालमार्फत डिजिटल भुक्तानी सेवाको विस्तार गर्दै आएको छ। कम्पनीले डिजिटल वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्नुका साथै नेपालको आर्थिक विकासमा योगदान पुर्याउँदै आएको जनाएको छ।
यसैबीच, फोनपे निकट भविष्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मार्फत सर्वसाधारणमा जाने तयारीमा रहेको छ। कम्पनीका अनुसार यसले संस्थागत पारदर्शिता, सुशासन र सर्वसाधारणको सहभागितालाई थप विस्तार गर्नेछ।
सर्वाधिक आयकर योगदानका लागि प्राप्त सम्मानले संस्थागत उत्तरदायित्व र वित्तीय पारदर्शिताप्रतिको आफ्नो प्रतिबद्धतालाई थप बलियो बनाएको फोनपेले जनाएको छ।

























