सुर्खेतबासीको चिन्ता- विरेन्द्रनगर फोहोरको पनि राजधानी नबनोस्
वि.सं.२०७५ माघ १० बिहीवार २१:२५
shares

संघियता कार्यान्वयनसँगै सुर्खेत कर्णाली प्रदेशको राजधानी भयो । सुर्खेत प्रदेश राजधानी घोषणा भएसँगै विरेन्द्रनगर नगरपालिकाको महत्व र जिम्मेवारी बढ्यो । तर कतिपय जिम्मेवारीमा नगरपालिका चुक्दै गएको भन्दै आलोचना सुरू भएको छ ।
त्यसैमध्येको एक हो नगरपालिकामा अव्यवस्थित बन्दै गएको फोहोरको व्यवस्थापन । फोहोरको उपयुक्त व्यवस्थापनको अभावमा विरेन्द्रनगरका चोकचोकमा अस्तव्यस्त अवस्थामा रहेका फोहोर देख्न पाइन्छ । जसका कारण शहरको सौन्दर्यलाई त असर परेको छ नै सँगै स्थानीयको स्वास्थ्यमा समेत नकारात्मक असर परिरहेको छ ।
नगरपालिकाले फोहोरको व्यवस्थापन गर्न नसकेपछि प्रदेश राजधानी बनेको विरेन्द्रनगर कतै फोहोरको पनि राजधानी बन्ने त होइन ? भन्ने चिन्ता र चासो स्थानीयमा बढ्दै गएको छ । यो आरोप स्थानीय सर्वसाधारणको मात्र होइन व्यापारीको पनि हो । उनीहरू पनि नगरपालिकाले फोहोर व्यवस्थापन नगर्दा आफूहरूको व्यापार नै प्रभावित बनेको बताउँछन् ।

तर, नगरपालिका भने फोहोर व्यवस्थापनमा केही पनि नगरिएको भन्ने आरोप स्वीकार्न तयार छैन । विरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदी नगरपालिका फोहोर व्यवस्थापनमा सक्रीयताका साथ लागेको दावी गर्छन् । त्यसैका लागि नगरपालिकाले सरसफाइ कार्यविधि पनि पास गरेको उनको भनाइ छ ।
‘विरेन्द्रनगर नगरपालिकाको सरसफाइमा प्रगति हुँदै आएको छ,’ प्रमुख सुवेदीले न्युज कारोबारसँग भने, ‘नगरपालिकामा सरसफाइ कार्यविधि पनी पास भएको छ । जसका आधारमा नगरक्षेत्रको फोहोर व्यवस्थापन गरी स्वच्छ र सुन्दर विरेन्द्रनगर बनाउने हाम्रो प्रयास हो ।’
यद्यपी नगरक्षेत्रको फोहोर व्यवस्थापनमा केही समस्याहरू रहेको उनले स्वीकारे । तर त्यसलाई सुधार गर्दै लैजाने उनको भनाई थियो । वृहत् शहर सरसफाइ अभियानको गुरूयोजना तथा ढलनिकासको गुरूयोजना निर्माणमा नगरपालिका जुटेको उनको भनाई थियो ।
फोहोर नगर्न जनचेतना जगाउने कार्य गर्ने जानकारी दिँदै उनले त्यसपछि पनि फोहोर गर्नेलाई कार्बाही गरिने बताए । नगरपालिकालाई फोहोर व्यवस्थापनमा स्थानीय, व्यापारीलगायत सबै पक्षको साथ आवश्यक रहेको सुवेदीको भनाई थियो । नगरपालिकाले व्यापारीहरूका कारण पनि फोहोर व्यवस्थापनमा समस्या भएको बताउँदै आएको छ ।

उता व्यापारीहरू पनि फोहोरका कारण चिन्तित छन् । उनीहरू आफ्ना कारण फोहोर भएको स्वीकार्न तयार छैनन् । ‘हामी सधैंभरी पसल अगाडि फोहोर थुपार्दैनौं,’ व्यापारी योगेन्द्र खत्रीले भने, ‘नगरपालिकाको गाडी फोहोर लिन आउने भएकाले अगाडि राखिन्छ, कहिलेकाँही गाडीले ढीलो गर्दा त्यस्तो देखिएको मात्रै हो ।’
व्यापारी खत्रीका अनुसार नगरपालिकाले सडक छेउमा डस्बिनको व्यवस्था नगरेका कारण पनि फोहोर व्यवस्थापनमा कठिनाइ भएको हो । ‘सडक छेउमा नगरले डस्बिनको व्यवस्था गरेको छैन, समयमा फोहोर उठाइँदैन, सडक पेटीको लेबल पनि मिलेको छैन र ट्राफिक व्यवस्थापन पनि राम्रो छैन,’ खत्रीले भने, ‘हामी शहर दुर्गन्धित गर्ने पक्षमा छैनौं । जसले फोहोर गर्छ उसलाई नगरपालिकाले कार्बाही गर्नुपर्छ र सरसफाई सम्बिन्धित सामग्री राखिदिनु पर्छ ।’
फोहोरको दुर्गन्ध फैलनुमा व्यापारीमात्र होइन पैदलयात्री तथा गाडी चालक पनि उत्तिको जिम्मेवार रहेको व्यापारी कृष्णाकुमारी पाण्डेको दावी छ । ‘पसलबाट निस्किएको फोहोर पसलभित्रै राखेर नगरपालिकाको गाडी आएको बेलामा मात्रै बाहिर फाल्ने गर्दछौं,’ व्यापारी पाण्डेले भनिन्, ‘तर पैदलयात्रीहरु जथाभाबी फोहोर फाल्दै हिड्छन् ।’

























