गृहपृष्ठ कार्यकर्तालाई ‘रामधुलाई’, सुरक्षा कमल थापालाई
कार्यकर्तालाई ‘रामधुलाई’, सुरक्षा कमल थापालाई
२०७३ चैतमा तत्कालिन उपप्रधान एवम् स्थानीय विकासमन्त्री कमल थापा निर्वाचन आयोगविरुद्ध धर्नामा बसे । निर्वाचन आयोगले राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्र हटाउने निर्णय गरेपछि बहालवाला मन्त्री थापा उद्योगमन्त्री दीपक बोहोरा समेतलाई लिएर सरकारकै संयन्त्रविरुद्ध धर्ना बसेका थिए ।
कमल थापा आफैं सरकारमा थिए । तर, आफैं आसिन सरकारको एउटा ‘विंग्स’विरुद्ध आन्दोलन गर्न सडकमा उत्रेको देखेर धेरै अचम्ममा परेका थिए । कतिपयले चाहिँ उनको आलोचना गरे । अहिले उनी सरकारमा छैनन् । यद्यपि, विभिन्न मागमुद्दा उठाउँदै बेला–बेला आन्दोलन गरिरहेका छन् ।
सोमबार उनै थापा आफू नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्तालाई लिएर हिन्दु राष्ट्र कायम गर्नुपर्ने मागसहित काठमाडौं पुतलीसडकको पद्मोदय मोडमा उत्रिए । सडक नै अवरुद्ध गरेर बीचमा धर्ना बस्न पुगेका राप्रपा कार्यकर्तालाई सुरुमा प्रहरीले धपायो । तर, ६ जना सुरक्षाकर्मीको घेरा हालेर पुगेका थापाले बीच सडकमा धर्ना हाले । उनीसँग राप्रपाका अन्य नेता र कार्यकर्ता पनि थिए ।

एउटै एजेन्डा, एउटै स्थल तर कतै राप्रपाका कार्यकर्ता प्रहरीलाई ढुंगा हानिरहेका थिए भने कतै प्रहरीको लाठी खाइरहेका थिए । त्यसक्रममा राप्रपाका केही कार्यकर्ता घाइते पनि भएका छन् ।

कार्यकर्ताले पिटाइ खाइरहे पनि बीच सडकमा ६ जना शसस्त्र प्रहरीको सुरक्षा घेराभित्र अध्यक्ष थापा धर्ना दिइरहेका थिए । हतियारसहितका सुरक्षाकर्मीको घेरामा रहेका उनी अपरान्ह २ बजेदेखि ३ बजेसम्म धर्नामा बसे र सुरक्षा घेराभित्रै केहीबेर भाषण गरे । भाषणका क्रममा उनले नेपाललाई हिन्दु राष्ट्र कायम नगरेसम्म आन्दोलन नछाड्ने बताए । बहुसंख्यक हिन्दु भएको मुलुकलाई विदेशीको इशारामा धर्म निरपेक्ष घोषणा गरिएको उनले बताए । घत्लाग्दो विषय के छ भने, उनै थापा हुन् जसले उपप्रधान एवम् परराष्ट्रमन्त्री हुँदा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको संविधान विश्वकै उत्कृष्ट भन्दै हिँडेका थिए । ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधान’लाई उत्कृष्ट भनेका थापाले सत्तामा रहुञ्जेल धर्म निरपेक्षताको विरुद्धमा ठूलो स्वर गर्न सकेका थिएनन् भने अहिले सरकारबाहिर रहेका बेला ठूल्ठूलो स्वरमा सनातन हिन्दु राष्ट्र कायम हुनुपर्छ भन्ने भाषण छाँटे । यसबारे दर्शकदीर्घामा बसेका कतिपय कानेखुसे गरिरहेका थिए । ‘राजनीति नै यही हो,’ रातो टिसर्ट लगाएर भिँडको पछाडिपट्टी बसेका एक युवाले आफ्ना साथीलाई भन्दै थिए, ‘सरकारमा हुँदा चुईं नबोल्ने, अहिले हेर न, कार्यकर्तालाई लाठी र उसलाई सेक्युरिटी ।’ यतिकैमा राप्रपा कार्यकर्ताले प्रहरीको चुटाइ भेटिरहे पनि आफ्नो भाषणा सकेर अध्यक्ष थापा भने पीएसओको घेराभित्रै रहेर गाडी चढेर हिँडे ।

सामान्यतया सुरक्षा भय भएकाहरूलाई पिएसओको सुविधा दिने गरिन्छ । उनी विभिन्न समयमा मन्त्री भएका थिए । उपप्रधानमन्त्रीसँगै गृह, परराष्ट्र, स्थानीय विकासलगायतका मन्त्रालय उनले सम्हालेका थिए । सुरक्षाकर्मी खटाउने कार्य मन्त्रिपरिषद्को निर्णय, मन्त्रीस्तरीय निर्णय, विगतदेखिको प्रचलन, गृह मन्त्रालयको विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि ०७० अनुसार हुँदै आएको छ । पूर्वविशिष्ट व्यक्ति भएकाले उनलाई सरकारले पीएसओको सुविधा दिएको छ । तर, उनको पीएसओ कहिले सरकारी संयन्त्रकै विरुद्धमा हुने गतिविधिमा त कहिले प्रहरी संगठनकै विरुद्धमा प्रयोग हुँदै आएको देखिन्छ ।
तस्बिर : सुनिल प्रधान
प्रकाशित समय : २३:०३ बजे



















