global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

बेइजिङमा ट्रम्प–सी संवाद, सहकार्यसँगै द्वन्द्वको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बिहीबार बेइजिङमा भएको बहुप्रतीक्षित शिखर भेटवार्ता औपचारिक मित्रता, कूटनीतिक सङ्केत र गहिरिँदो रणनीतिक अविश्वासबीच सुरु भएको छ । ट्रम्पले सीसँगको सम्बन्धलाई ‘सम्मानको विषय’ भनेर प्रस्तुत गर्न खोजिरहँदा सीले भने विश्वका दुई शक्तिशाली राष्ट्रबीच सम्भावित टकरावको जोखिमबारे चेतावनी दिएको छ ।

“तपाईं एक महान नेता हुनुहुन्छ । कहिलेकाहीँ मानिसहरूले मैले यस्तो भनेको मन पराउँदैनन्, तर म सत्य कुरा नै भन्छु”, ग्रेट हल अफ द पिपुलमा आयोजित औपचारिक भेटअघि ट्रम्पले सीको खुलेर प्रशंसा गर्दै भने, “तपाईंसँग हुनु सम्मानको कुरा हो । तपाईंको साथी हुनु पनि सम्मानको कुरा हो ।” ट्रम्पले अमेरिका र चीनबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वाससमेत व्यक्त गरे ।

तर सीको सन्देश भने बढी सतर्क र रणनीतिक थियो । विश्व समुदायले अमेरिका र चीन ‘थुसिडाइड्स ट्र्याप’ बाट जोगिन सक्छन् कि सक्दैनन् भनेर हेरिरहेको, विदेश नीति अध्ययनमा प्रयोग हुने उक्त अवधारणाले उदाउँदो शक्ति र स्थापित शक्तिबीच प्रतिस्पर्धा अन्ततः युद्धमा परिणत हुनसक्ने खतरा औँल्याउँछ ।

सीले भने, “सहकार्यले दुवै पक्षलाई फाइदा पुर्‍याउँछ, जबकि द्वन्द्वले दुवैलाई हानि पुर्‍याउँछ । दुई देश प्रतिद्वन्द्वी होइन, साझेदार बन्नुपर्छ । साझा समृद्धिका लागि सहकार्य गर्दै नयाँ युगअनुसार प्रमुख राष्ट्रबीच सम्बन्धको सही बाटो तय गर्नुपर्छ ।”

सीले यसअघि पनि सन् २०१४ देखि विभिन्न अवसरमा यही अवधारणा उठाउँदै आएको थियो । ट्रम्पका पूर्ववर्ती राष्ट्रपति जो बाइडेनसँगका भेटवार्तामा समेत यो विषय दोहोर्‍याएको थियो । तर ट्रम्पले भ्रमणलाई सकारात्मक र मैत्रीपूर्ण बनाउने प्रयास गरिरहँदा सीले फेरि यही चेतावनी दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

बेइजिङस्थित तियानानमेन स्क्वायरमा रहेको ग्रेट हल अफ द पिपुलमा ट्रम्पको स्वागत अत्यन्त भव्य रूपमा गरिएको थियो । क्यानन सलामी, सैनिक परेड, अमेरिकी र चिनियाँ राष्ट्रिय गान तथा विशाल रातो गलैँचाबीच दुवै नेताले एकअर्कासँग हात मिलाएको थियो । स्कुलका बालबालिकाले दुवै देशका झण्डा फहराउँदै स्वागत गरेका थिए ।

ट्रम्पले भ्रमणका क्रममा ‘टेम्पल अफ हेभन’ को अवलोकन गर्ने कार्यक्रम पनि रहेको छ । १५ औँ शताब्दीको उक्त धार्मिक परिसरलाई चीनमा स्वर्ग र पृथ्वीबीचको सम्बन्धको प्रतीक मानिन्छ । दुवै नेता बिहीबार राजकीय भोजमा पनि सहभागी हुने कार्यक्रम छ ।

यद्यपि भ्रमणको मुख्य केन्द्र व्यापार, इरान र विश्व अर्थतन्त्रसँग जोडिएका जटिल विषय बनेका छन् । ह्वाइट हाउसले ट्रम्प कुनै ठोस उपलब्धिविना चीन नजाने स्पष्ट पारेको छ । अमेरिकी प्रशासन चीनबाट अमेरिकी सोयाबिन, गोमांस र विमान खरिदबारे प्रतिबद्धता खोजिरहेको छ । साथै व्यापार विवाद समाधानका लागि संयुक्त व्यापार बोर्ड गठन गर्ने प्रस्तावमा पनि छलफल भइरहेको जनाइएको छ ।

तर इरानसँग चीनको निकट आर्थिक सम्बन्धले परिस्थितिलाई थप संवेदनशील बनाएको छ । इरान र इजरायलबीचको युद्ध तथा अमेरिकाको प्रत्यक्ष संलग्नताले विश्व बजारमा ऊर्जा सङ्कट निम्त्याएको छ । हर्मुज जलघाँटी प्रभावकारी रूपमा बन्द हुँदा तेल र प्राकृतिक ग्यास ढुवानीमा अवरोध पुगेको छ, जसले विश्वव्यापी आर्थिक वृद्धिमा दबाब बढाएको छ ।

यही पृष्ठभूमिमा ट्रम्प र सीबीच इरानमाथि चीनले कस्तो भूमिका खेल्ने भन्ने विषय महत्त्वपूर्ण बनेको छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले चीनलाई इरानमाथि प्रभाव प्रयोग गर्न आग्रह गरिने बताएको छ । उनले फक्स न्युजसँगको अन्तर्वार्तामा भने, “यो सङ्कटका कारण विश्व अर्थतन्त्र कमजोर भइरहेको छ । उपभोक्ताहरूले कम चिनियाँ वस्तु खरिद गरिरहेका छन् । त्यसैले यो समस्या समाधान हुनु चीनकै हितमा पनि छ ।”

रुबियोले चीनलाई पर्सियन खाडीमा इरानको गतिविधि नियन्त्रण गर्न सक्रिय भूमिका खेल्न आग्रह गरिने बताए । चीनले इरानलाई तनावबाट पछि हट्न प्रेरित गर्नुपर्ने धारणा व्यक्त गरे ।

तर ट्रम्पले भने अमेरिकी अर्थतन्त्रमा परेको दबाबले इरानप्रतिको आफ्नो अडान परिवर्तन नहुने स्पष्ट पारेको छ । ह्वाइट हाउसबाट प्रस्थान गर्ने क्रममा उनले भने “म अमेरिकीहरूको आर्थिक अवस्थाबारे सोचिरहेको छैन । म एउटा मात्र कुरामा केन्द्रित छु – इरानलाई आणविक हतियार बनाउन दिन सकिँदैन ।” उनले हरेक अमेरिकीले यो अवस्था बुझ्ने दाबी पनि गरे ।

ट्रम्पको यही भनाइपछि उपराष्ट्रपति जेडी भान्सले भने राष्ट्रपतिका भनाइलाई फरक ढङ्गले व्याख्या गरिएको प्रतिक्रिया दिदै ट्रम्पले अर्थतन्त्रलाई महत्त्व नदिएको अर्थ नलाग्ने दाबी उनले गरे ।

भ्रमण टोलीमा प्रविधि, रक्षा, कृषि र वित्त क्षेत्रका उच्च अधिकारी तथा व्यवसायीहरूको ठूलो समूह सहभागी छ । यसले भ्रमण केवल राजनीतिक मात्र नभई आर्थिक र रणनीतिक महत्त्वको रहेको सङ्केत दिएको छ ।

अमेरिका र चीन गत वर्ष व्यापार युद्धविराममा पुगेका थिए, जसले एकअर्कामाथि थप शुल्क लगाउने चेतावनीलाई केही समयका लागि रोकिएको थियो । ह्वाइट हाउसका अनुसार उक्त सहमति विस्तार गर्ने विषयमा अझै छलफल भइरहेको छ । तर ट्रम्पको यो भ्रमणका क्रममा त्यसबारे कुनै ठोस घोषणा हुने वा नहुने अझै स्पष्ट भइसकेको छैन ।

प्रकाशित समय : १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु