global ime bank Long Banner Ad

गृहपृष्ठ भक्तपुरमा बिस्केटजात्रा सुरु, सुरक्षा व्यवस्था कडा

भक्तपुरमा बिस्केटजात्रा सुरु, सुरक्षा व्यवस्था कडा

भक्तपुरमा बिस्केटजात्रा सुरु, सुरक्षा व्यवस्था कडा

भक्तपुरमा बिस्केटजात्रा सुरु भएको छ । नयाँवर्षको आगमनसंँगै शुरु हुने बिस्केटजात्रा आजदेखि सुरु भएको हो । लिच्छवीकालदेखि मनाउन थालिएको जात्राको आज बिहान भैरबनाथको पूजा गरिएको छ । दिउँसो स्थानीयवासीको पूजा सकिएर गुठी कार्यालयले ल्याएको सरकारी पूजा सकिएपछि रथ तानेर जात्रा शुरु भएको गुठी संस्थानका प्रमुख हरिप्रसाद सुवेदीले जानकारी दिए ।

नयाँवर्षको चार दिन अगाडिदेखि शुरु भई नयाँवर्षको पाँच दिनसम्म सञ्चालन हुने बिस्केटजात्रा यहाँका बासिन्दाले आठरात नौ दिनसम्म धुमधामका साथ मनाउने गरेका छन् । जात्राको पहिलो दिन आज बिहानैदेखि भैरब र भद्रकालीको पूजा गरी अपरान्हबाट भैरवनाथ र भद्रकालीको रथ तानेर जात्रा मनाइने परम्परा रहेको छ ।

परापूर्वकालदेखि चलिआएको विश्वप्रसिद्ध बिस्केटजात्रा ‘सर्प मारियो’ भन्ने अर्थमा नेवार समुदायमा मनाइने यो जात्रामा तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ तौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी पुर्याइ फर्काउने प्रचलन छ । रथलाई तल्लो क्षेत्रमा गःहिटी पुर्याएपछि आज पहिलो दिनको रथयात्रा विसर्जन गरिन्छ ।

भैरवनाथको रथमा तलेजुका पूजारी र तलेजुका नाइके नरेन्द्र जोशीका अनुसार खड्ग, तरबार, निशान राखिसकेपछि गुठी संस्थानबाट लगेको सरकारी पूजा सकेर रथ तान्न शुरु गरिन्छ । विक्रम संवत् अनुसार सौरमासको आधारमा मनाइने बिस्केटजात्रा बिःसीत अर्थात नागनागिन मर्यो भन्ने भावका आधारमा लिच्छवीकालदेखि मनाइँदै आएको तलेजुका नाइके जोशीले बताए ।

चैत मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो् उठाउने र वैशाख १ गते साँझ लिङ्गो ढाल्ने गरिन्छ भने वैशाख १ गते भेलुखेलमा भव्य मेला लाग्ने गर्दछ । यसदिन जात्रा हेरेमा शत्रुनाश हुन्छन् भन्ने जनविश्वास रहेअनुसार यो जात्रालाई शत्रुहन्तजात्रा पनि भन्ने गरिन्छ । नागनागिनीसँग जोडिएको यो जात्रालाई नेवारी भाषामा बीःसित (नाग मर्यो), बीय जात्रा (नागको जात्रा), वीःस्यात (नाग मारियो) हुँदैपछि विश्वजात्रा, भई अपभ्रंशबाट बिस्केटजात्रा हुन गएको स्थानीयवासीको भनाइ छ ।

राजा भूपतिन्द्र मल्ल यो जात्रा अझ व्यवस्थित गरी आठरात र नौ दिन मनाउने प्रचलन बसाएको एवं त्यही प्रचलन आजसम्म चल्दै आएको छ । जात्रामा रथ तान्दा झगडा हुने र ढुङ्गा हानाहान रोक्नलाई भक्तपुर नगरपालिकाले विभिन्न समिति गठन गरेको छ । यसवर्ष जिल्ला प्रशासन र प्रहरीले सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित समय : १९:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु