गृहपृष्ठ एनआईसी एसिया : वाणिज्य बैंकमध्ये अब्बल बन्ने दौडमा
एनआईसी एसिया : वाणिज्य बैंकमध्ये अब्बल बन्ने दौडमा
दुई वर्षअघिसम्म औसतभन्दा कमजोर देखिएको एनआईसी एसिया बैंक अहिले वाणिज्य बैंकहरुमध्येकै अब्बल बन्ने दौडमा छ । शाखा संख्या, कर्मचारी संख्या, ग्राहक संख्या, निक्षेप संकलन, कर्जा विस्तार, नाफा आर्जनलगायतमा एनआईसी एसिया बैंक १ नम्बर बन्ने दौडमा अघि बढेको हो ।
शाखा संख्या, कर्मचारी संख्या र ग्राहक संख्याका हिसाबले एनआईसी एसिया बैंकले अहिले नै पुराना सरकारी र निजी क्षेत्रका ‘लिडर’ बैंकहरुलाई निकै पछाडि छाडिसकेको छ । व्यापार प्रवर्धन र ब्रान्डिङमा आक्रामक देखिएको यो बैंकले गत वर्ष पनि सामान्यमात्र नाफा बढाएको थियो । आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आर्थिक वर्षमा बैंकले १४–१५ प्रतिशत हाराहारीमा नाफा वृद्धि गरेको थियो । तर, यो वर्षको पहिलो ६ महिनामै बैंकको नाफा गत वर्षको समीक्षा अवधिको तुलनामा १६४ प्रतिशतले बढेको छ ।
चालू आर्थिक वर्षदेखि कम्पनीले विगतमा गरेको लगानीको प्रतिफल लिन थालेको छ । राजधानीलगायत देशभरका ठूला सहर जततातै विज्ञापन झुन्ड्याएर ग्राहक आकर्षित गरेको बैंकले ठूला–साना मिडियामा पनि ठूलो मात्रामा विज्ञापन गरेको छ । फलस्वरुप, स्थापनाको १५–१६ वर्षसम्म जम्मा ५–६ लाख ग्राहकलाई सेवा दिँदै आएको बैंकले दुई वर्षको अवधिमा ग्राहक संख्या करिब १० लाख थपेको छ । गत वर्षभरमा करिब ५ लाख ग्राहक थपिएको बैंकमा यो वर्षको आठ महिनामै साढे ५ लाख ग्राहकले खाता खोलेका छन् ।
युवा नेतृत्व र जोशिलो टिमका साथ व्यवसाय विस्तारमा जुटेका एनआईसी एसिया बैंकलाई सहकर्मी बैंकहरुसँगको छलफलमा शाखा विस्तारको प्रसंग उठ्दा निरुत्साहित गर्ने प्रयास पनि नभएको होइन । तर, बैंकले व्यवसाय प्रवर्धनको मुख्य माध्यम नै शाखा विस्तारलाई बनायो । गत आर्थिक वर्षभरमा सयभन्दा बढी शाखा स्थापना गरेको बैंकले यो वर्षको आठ महिनामै ५० भन्दा शाखा खोलिसकेको छ । यसबाहेक सेवा सहज बनाउन बैंकले २८९ वटा एटीएम, ४० वटा एक्सटेन्सन काउन्टर र २५ वटा शाखारहित बैंकिङ सञ्चालनमा ल्याएको छ । शाखा विस्तारलाई प्राथमिकता दिएको कम्पनीमा हाल करिब ३ हजार कर्मचारी कार्यरत छन् । बैंकले गत वर्षमात्रै करिब ४ चार दरबन्दी थप गरेको थियो ।
एनआईसी एसिया बैंकले व्यवसाय विस्तारका क्रममा ३२० वटा संघसंस्थासँग सहकार्य गरिसकेको छ । जसमा अस्पताल, व्यापारिक प्रतिष्ठान, सामाजिक संघसंस्थालगायत छन् । बैंकसँग ३० वटा अस्पतालले सहकार्य गरेका छन् ।
देशभर एटीएम, एक्सटेन्सन काउन्टर, शाखारहित बैंकिङ र शाखा स्थापनालाई तीव्र बनाएको र मिडिया मार्केटिङमा आक्रामक बनेको बैंकमा भौतिक पूर्वाधारको तुलनामा ग्राहक संख्या अप्रत्यासित रुपमा बढेपछि अहिले सेवा प्रवाहमै समस्या आएको छ । बैंकको बढ्दो लोकप्रियताका कारण शाखा र एटीएमको संख्या अपर्याप्त भएपछि ग्राहकले समयमा सेवा पाउन छाडेका छन् । मुख्य सहरका शाखाबाट सेवा लिन ग्राहक टोकन लिएर घण्टौं कुर्न बाध्य हुने गरेका छन् ।
टोकन लिएको डेढ घण्टासम्म पनि सेवा नपाएपछि जनकपुरका नवीनकुमार महतो काठमाडौंको नयाँ बानेश्वर शाखा प्रबन्धक प्रकाश थपलियासामु गुनासो गर्न पुगे । ‘एनआईसी एसिया बैंकमा पैसा राख्न या झिक्न आउँदा पूरा दिन माया मार्नुपर्छ, यसरी त धेरै गाह्रो हुन्छ नि सर हामीलाई,’ उनले भने, ‘कर्मचारी थपेर हुन्छ कि काउन्टर थपेर हुन्छ, सेवाचाहिँ चुस्त बनाउनुपर्यो ।’
प्रबन्धक थपलियाले नयाँ बानेश्वर शाखा एक्सपान्सन भइरहेकाले ग्राहकले अब छिट्टै सहज सेवा पाउने भन्दै आश्वस्त तुल्याए । ‘हाम्रो उद्देश्य ५ मिनेटभित्रै ग्राहकलाई सेवा दिने भन्ने छ,’ उनले भने, ‘तर बढीमा १० मिनेटभित्र सेवा दिनसक्ने गरी क्षमता विस्तार भइरहेको छ ।’ एनआईसी एसिया केन्द्रीय कार्यालयका अनुसार ग्राहक संख्या धेरै बढेका कारण सेवा प्रवाह प्रभावित भएका करिब ५० वटा शाखा एक्सपान्सन गर्ने काम भइरहेको छ । हाल मासिक ५०-६० हजार ग्राहक थपिइरहेकाले तत्काल समस्या देखिएको र चाँडै हल हुने बैंकले जनाएको छ ।
यससँगै बैंकले डिजिटल्ली एक्सपान्सन गर्ने कार्यलाई तीव्रता दिएको छ । बैंकले डिजिटल इन्नोभेसन र डिजिटल एक्सपान्सन गरी धेरै ग्राहकलाई शाखासम्म आउनुपर्ने अवस्थाको अन्त्य गर्ने र तीन–चार महिनाभित्रै सेवा प्रवाहमा देखिएको समस्या हल गर्ने गरी कार्ययोजना बनाएको जनाएको छ ।
चालू आर्थिक वर्षको ६ महिनामा नाफामा उल्लेख्य वृद्धि गरेको यो बैंकभन्दा अगाडि नबिल बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकमात्र छन् । बैंकले गत आर्थिक वर्षको ६ महिनाको तुलनामा १६४ प्रतिशतले नाफा बढाएको छ । गत वर्षको ६ महिनामा ५७ करोड रुपैयाँ खुद नाफा गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा गरेको हो ।
एनआईसी एसिया बैंकले सबैभन्दा ठूलो लगानी साना तथा मझौला व्यवसायमा गरेको छ । साना तथा मझौला व्यवसायमा बैंकले ४८ प्रतिशत कर्जा प्रवाह गरेको बैंकले घर/अटोतर्फ ३५ प्रतिशत, कर्पोरेटतर्फ १० प्रतिशत र विपन्न वर्गतर्फ ७ प्रतिशत कर्जा लगानी गरेको छ ।
एनआईसी बैंक १९९८ जुलाईमा स्थापना भएको हो । स्थापनाको १५ वर्षपछि यो बैंक बैंक अफ एसियासँग मर्ज भयो । एनआईसी र बैंक अफ एसियाबीचको मर्जर नेपालको इतिहासमै दुई ठूला वाणिज्य बैंकहरुबीचको पहिलो मर्जर थियो । करिब ६ वर्षअघि २०१३ जुनमा बैंक अफ एसियासँग मर्ज भएपछि एनआईसी एसिया बनेको यो बैंक अहिले एउटा सफल वाणिज्य बैंकको रुपमा स्थापित भइसकेको छ ।
प्रकाशित समय : २०:०६ बजे


















