global ime bank Long Banner Ad

गृहपृष्ठ कामना सेवा नम्बर १ विकास बैंक बन्ने विश्वास

कामना सेवा नम्बर १ विकास बैंक बन्ने विश्वास

कामना सेवा नम्बर १ विकास बैंक बन्ने विश्वास

कामना सेवा विकास बैंकका अध्यक्ष सुदीप आचार्य तथा सञ्चालक चतुराखर अधिकारीले कामना सेवा अब १ नम्बर विकास बैंक बन्ने विश्वास व्यक्त गरेका छन् । कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ (एमबैंकिङ रिलोडेड ५) सेवा शुभारम्भ कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतको कुशल नेतृत्व क्षमताका कारण बैंक १ नम्बर विकास बैंक बन्ने विश्वास उनीहरूले व्यक्त गरेका हुन् ।

अध्यक्ष आचार्यले बैंकको उद्देश्य भनेकै विकास बैंकहरुमध्ये उत्कृष्ट बन्नु रहेको बताए । ‘त्यसका लागि क्षमतावान सीईओ र ऊर्जाशील कर्मचारी बैंकले पाएको छ,’ उनले भने । बैंकले पछिल्लो समयमा ल्याएका सुविधाहरुबाट बैंकको कमजोरीको खाडल पुरिएको भन्दै उनले बैंकको ध्यान अब इन्नोभेसनतर्फ जानुपर्ने बताए । ‘म सुरुमा कास्की फाइनान्सको डाइरेक्टर थिएँ,  त्यसपछि कामना सेवा विकास बैंकको डाइरेक्टर भएँ, सेवा विकास बैंकसँग मर्ज भएपछि बनेको कामना सेवा विकास बैंकमा पनि डाइरेक्टर हुँदै अध्यक्षसम्म भएँ, तर आफैँ अध्यक्ष भएको बैंकको खातालाई मैले कहिलै प्राइमरी एकाउन्टको रुपमा प्रयोग गर्न पाइँन, अब भने बैंक फुलफेजको सुविधायुक्त बन्यो, मेरो नेतृत्वको बैंकलाई मैले पहिलोपटक प्राइमरी बैंकको रुपमा प्रयोग गर्न पाएँ,’ उनले आफ्नो अनुभव सुनाए, ‘पहिले भारत जाँदा अर्कै बैंकको डेबिट कार्ड बोकेर जानुर्थ्यो, केही महिनाअघि नेपाल र भारतमा समेत प्रयोग गर्न सकिने भिजा डेबिट कार्ड लन्च भयो । अहिले मोबाइल बैंकिङको रिलोडेड भर्सन आएको छ । योसँगै बैंक पूर्ण क्षमताको बैंक बन्यो । तर अब हामी नम्बर १ बन्नुछ, त्यसका लागि नयाँ काम गर्नुपर्ने चुनौती थपिएको छ ।’

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत बस्नेतले कामना सेवा विकास बैंकले आधुनिक बैंकिङ सेवा थप्ने क्रममा मोबाइल बैंकिङको रिलोडेड भर्सन ल्याएको जानकारी दिए ।

बैंकले ल्याएको नयाँ मोवाइल बैंकिङको रिलोडेड भर्सनमा फिंगर प्रिन्टबाट ई–बैंकिङ सेवा लगइन गर्न सकिने तथा क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने फिचर छ । मोबाइल, इन्टरनेट, टेलिफोन, बिजुली, खानेपानीलगायत बिल भुक्तानी बैंकको खाताबाटै गर्न सक्ने व्यवस्था गरिएको उक्त सेवा न्यूनतम कारोबार सीमासम्म नि:शुल्क गरिएको छ । सो सेवा प्रयोग गर्दा ग्राहकले भुक्तानीअनुसार विभिन्न छुट पनि पाउने बैंकले जनाएको छ ।

प्रकाशित समय : २०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु