गृहपृष्ठ विधेयक फिर्ता नलिए अन्तर्राष्ट्रियकरण गर्ने पत्रकार महासंघको चेतावनी
विधेयक फिर्ता नलिए अन्तर्राष्ट्रियकरण गर्ने पत्रकार महासंघको चेतावनी
नेपाल पत्रकार महासंघले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने काम बन्द नभए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएको छ । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रताविरोधी प्रावधानबारे शनिबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा महासंघका महासचिव रमेश विष्टले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी प्रावधान नसच्चिए अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने चेतावनी दिएका हुन् ।
विधेयक कानुनको रुपमा आइसकेपछि नेपालमा स्वतन्त्र पत्रकारिता रहँदैन भन्नेमा महासंघ प्रस्ट रहेको भन्दै उनले सरकारको कदमविरुद्ध महासंघले आइतबारदेखि साताव्यापी आन्दोलन घोषणा गरेको जानकारी गराउँदै आन्दोलनबाट नसच्चिए अन्तर्राष्ट्रिय समुदायलाई बोलाउने बताएका हुन् । ‘आन्दोलनबाट सच्चिए हामी नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको असल मित्रको रुपमा रहँदै आएको अन्तर्राष्ट्रिय समुदायलाई गुहार्छौं । हामी अन्तर्राष्ट्रिय नीतिगत मिडिया मिसन नेपालमा बोलाउँदै छौं । नेपालका कानुनहरु कस्ता बनिरहेका छन् ? यो नेपालको संविधानअनुसार छ कि छैन ? प्रेस स्वतन्त्रताको विश्वव्यापी मूल्य र मान्यताअनुरुप छ कि छैन ? स्वतन्त्र ढंगबाट अन्तर्राष्ट्रिय समुदायले अब नेपालको मिडियासम्बन्धी कानुनमा अनुगमन पर्यवेक्षण गरुन् भनी हामी आह्वान गर्दैछौं । अब हामी अन्तर्राष्ट्रिय मिडिया मिसन र संयुक्त राष्ट्रसंघ सम्मलाई हामी यो प्रक्रियामा सहभागी गराउँदैछौं ।’
प्रकाशित समय : २३:५५ बजे



















