मनलाग्दी खर्च गर्न सांसदले मागे १० करोड, स्थानीय जनप्रतिनिधि भन्छन्- दिन हुँदैन
वि.सं.२०७६ जेठ ६ सोमवार २१:५०
shares

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमअन्तर्गतको बजेट बढाएर १० करोड पु-याउनुपर्ने संघीय सांसदको मागप्रति स्थानीय जनप्रतिनिधिले गम्भीर असन्तुष्टि जनाएका छन् । नयाँ संरचना कार्यान्वयनमा आएसकेपछि पनि संघीय सांसदले परम्परागत र जड शैली देखाउनु गलत भएको उनीहरुको टिप्पणी छ ।
संविधानले केन्द्र, प्रदेश र स्थानीय तहका काम, कर्तव्य र अधिकार निर्दिष्ट गरेको परिप्रेक्ष्यमा फेरि स्थानीय तहको बजेट र काम कारबाही प्रभावित हुने गरी भइरहेको लबिङ स्वीकार्य नहुने उनीहरुले स्पष्ट पारेका छन् । स्थानीय जनप्रतिनिधिले सांसदहरु आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको र मुलुकको व्यवस्थासँग रुपान्तरण हुन नसकेको आरोप लगाएका छन् । सांसदहरुको यस्तै कमजोर मानसिकता र दरिद्र सोचका कारण मुलुक कहिल्यै समृद्ध हुन नसकेको कठोर टिप्पणी उनीहरुले गरेका छन् ।
संघीय सांसदको भूमिका नीति निर्माण गर्ने, राष्ट्रिय तहका ठूला आयोजनाको कार्यान्वयनमा केन्द्र सरकारलाई दबाब दिने, नागरिकको हितमा सरकारले काम गरे नगरेको अवलोकन गर्ने तथा प्रदेश र स्थानीय तहको काममा समन्वय गर्ने हो । मुलुकका स्वास्थ्य, शिक्षा, रोजगारी, सार्वजनिक यातायात, कृषिलगायतका यावत् समस्यामाथि दृष्टि राख्नुपर्ने हो । तर, संविधानको मर्म र संघीयताको भावनाविपरीत सांसदहरुले बजेट माग गरिरहेको भन्दै स्थानीय तहका जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् ।
देशका सातवटै प्रदेशका एक-एकजना स्थानीय जनप्रतिनिधिसँग हामीले सोधेका छौं- सांसदहरुको मागप्रति तपाईंहरु के भन्नुहुन्छ ?
संघीय सांसदको चौथो सरकार बन्न प्रयास : हरिबहादुर रोकाया
अध्यक्ष, गौमुल गाउँपालिका, बाजुरा (सुदूरपश्चिम प्रदेश)
संघीय सांसदको काम नीति निर्माण गर्ने हो । स्थानीय तहमा गएको बजेट सही ढंगले कार्यान्वयन भइरहेको छ कि छैन ? भ्रष्टाचार र अनियमितता पो भइरहेको छ कि ? अथवा, स्थानीय तहले बजेट खर्च गर्न जानिरहेका छन् कि छैनन् भनेर बुझ्ने हो । संघीय सांसदले प्रदेश र स्थानीय तहलाई गाइड गर्ने हो । तर, संघीय सांसदको कार्यशैली र सोच निकै कमजोर देखिन्छ । संविधानतः मुलुकमा तीन तहका सरकार विद्यमान छन्, सांसदहरु चौथो सरकार बन्ने प्रयासमा देखिन्छन् । उनीहरुले कार्यकर्तालाई रकम बाँड्न सकेमात्र राजनीति सुरक्षित हुन्छ भन्ने सोच पालिरहेका छन् । नीति निर्माण तहमा भएका मानिसको यस्तै दरिद्र सोचका कारण राष्ट्र समुन्नत बन्न नसकेको हो । मलाई लाग्छ- एउटा छुट्टै स्कुल खोलेर सांसदहरुलाई संविधान पढाउनुपर्छ, जिम्मेवारी र अधिकारबारे पाठ पढाउनुपर्छ ।
कानुन-पद्धति एकातिर, व्यवहार अर्कातिर : हरिजंग शाही
प्रमुख, छायाँनाथ नगरपालिका, मुगु (कर्णाली प्रदेश)
सांसदले मनमौजी खर्च गर्न पाउने यो कदमको हामीले विगतदेखि नै विरोध गर्दै आएका हौं । अहिले त झन् स्थानीय तह नै यति अधिकारसम्पन्न भएका बेला भ्रष्टाचारलाई प्रेरित गर्ने यस्तो बजेट किन विनियोजन गर्नुपर्यो । सांसदको तजविजीमा खर्च हुने गरी बजेट छुट्याइँदा योजना तर्जुमा एकातिर, जनताको आवश्यकता अर्कातिर हुने गरेको छ । संघीय संरचनामा गइसके पनि सांसदहरुले यस्तै सोच पालिरहनुले कानुन-पद्धति एकातिर र व्यवहार अर्कैतिर देखाउँछ । मैले बुझेको के हो भने स्थानीय तहले नसकेका काम प्रदेशले र प्रदेशले नसकेका काम केन्द्रले गर्ने हो । नीति निर्माणका सांसदहरु केन्द्रित हुनुपर्ने हो । संविधानले नै यो कुरा निर्दिष्ट गरेको छ । तर, सांसदहरुले संविधान नपढी हस्ताक्षर गरेको जस्तो देखिएको छ ।
कार्यकर्ता पोस्ने प्रपञ्च : अञ्जु दहित
उपप्रमुख, बारबर्दिया नगरपालिका, बर्दिया (प्रदेश ५)
संघीय संरचनामा स्थानीय तहहरु निकै प्रभावकारी छन् । अधिकारसम्पन्न छन् । स्थानीय तह बजेट परिचालन र कार्यान्वयनमा पनि सक्षम छन् । यस्तो अवस्थामा कार्यकर्तालाई पोस्ने प्रवृत्तिलाई प्रश्रय हुने गरी केन्द्र सरकारले बजेट विनियोजन गर्नै हुँदैन । राजनीति बचाउन रकम माग्ने सांसदबाट कसरी देशको विकास हुन्छ ? कार्यकर्ता पाल्न राजनीति गर्ने होइन नि ! राजनीति त विकासका लागि गर्ने हो । सांसदहरुले स्थानीय तहको अनुगमन गर्ने र सही ठाउँमा बजेट खर्च भएको नभएको मूल्यांकन गर्नेमा ध्यान केन्द्रित गर्ने हो भने मनलाग्दी बजेट माग्नै पर्दैन । जनताले सांसदको भूमिका सहजै देख्नेछन् । स्थानीय तहकै पनि योजनाका लागि वडास्तरीय र गाउँ÷नगर स्तरीय अनुगमन समिति छन् । ती समितिमार्फत सांसद स्थानीयस्तरमा पुग्न सक्नुपर्छ । आफूखुसी खर्च गर्न बजेट छुट्याउनु कार्यकर्ता पोस्ने काम हो, बजेटको दुरुपयोग हो ।
स्थानीय तहको अवमूल्यन ः सगुन गुरुङ
अन्नपूर्ण गाउँपालिका, कास्की (गण्डकी प्रदेश)
अझै पनि आफूखुसी रकम खर्च गर्ने गरी बजेट माग गर्नुले मुलुक संघीयतामा गए पनि सांसदहरु पुरानै मनोवृत्तिले ग्रसित छन् भन्ने देखिन्छ । संघीयता आएपछि बजेट चाहियो भन्नु गलत छ । यो स्थानीय तहका अवमूल्यन हो । सांसदका यस्ता क्रियाकलापले उनीहरुप्रति जनता सकारात्मकभन्दा बढी नकारात्मक बन्नेछन् । एक-दुई कार्यकर्ता त खुसी बन्लान् तर आमनागरिक सन्तुष्ट हुन सक्दैनन् । सांसदहरुले अब स्थानीय तहमा बढी बजेट विनियोजन गर्न केन्द्रमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ, संघीयताको मूल मर्मलाई आत्मसात गर्दै स्थानीय तहलाई बलियो बनाउनुपर्छ र संविधानको भावनाअनुसार मुलुकको समृद्धिमा लाग्नुपर्छ । अब पनि पुरानै विचार र शैली पालिराख्ने हो भने हामी नयाँ व्यवस्थामा छौं भन्नुको कुनै अर्थ छैन ।
संघीयताको मर्मविपरीत बजेट माग ः रेनु दाहाल
प्रमुख, भरतपुर महानगरपालिका, चितवन (प्रदेश ३)
सांसदहरुले अब आफूखुसी खर्च गर्ने प्रयोजनका लागि बजेट माग गर्नु उपयुक्त हुँदैन । स्थानीय तहलाई सहयोग गर्ने र स्थानीय योजनालाई आत्मसात गर्ने सोचचाहिँ बढी व्यावहारिक हुन्छ । सांसदहरुले आफूखुसी बजेट माग गर्नुले परम्परागत सोचबाट मुक्त हुन नसकेको देखिन्छ । मुलुक संघीयतामा गए पनि संघीयतालाई स्वीकार्न नसकेको जस्तो देखिन्छ । मुलुकको व्यवस्था परिवर्तन भए पनि नीति निर्माताको कार्यशैली र सोच पुरानै रहने हो भने मुलुकको विकास नै प्रभावित हुन्छ । संघीय सांसदको ठूलो भूमिका छ । उनीहरुले फराकिलो सोच बनाएर राजनीति गर्नुपर्छ । राष्ट्रिय राजनीति गर्न चाहने व्यक्ति स्थानीय स्तरको साँघुरो घेराबाट माथि उठ्नुपर्छ । बजेट दुरुपयोग गर्नुतर्फ होइन, दुरुपयोग हुनबाट रोक्ने भूमिका निर्वाह गर्नुपर्छ ।
सांसदलाई रकम आपत्तिजनक : विजयकुमार सरावगी
प्रमुख, वीरगन्ज महानगरपालिका, पर्सा (प्रदेश २)
सांसदहरुले त मुलुकका स्वास्थ्य, शिक्षा, रोजगारी, सार्वजनिक यातायात, कृषिलगायतका यावत् समस्यामाथि दृष्टि राख्नुपर्छ । तर, यहाँ कहाँबाट खान पाइन्छ ? भन्ने स्वार्थमात्र देखिन्छ । सांसदले १० करोड माग गर्नु कार्यकर्ता खुसी पार्ने सोचबाट अभिप्रेरित छ । मुलुकको भलाइ हेर्ने हो भने संघीय सांसदहरुले छुट्टै बजेट माग्ने होइन, स्थानीय तहका योजनालाई आफ्ना योजना मानेर कार्यान्वयनमा सहजीकरण गर्नुपर्छ । स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरेर विकास निर्माणमा अघि बढ्नुपर्छ । स्थानीय तहको क्षमता अभिवृद्धि गर्ने भूमिका खेल्नुपर्छ । तर, बजेट माग्नु संघीयताको मर्म र भावनाविपरीत छ । यो तहको राजनीतिले हामीलाई सखाप पार्छ । यसमा मेरो गम्भीर आपत्ति छ ।
विगतको धङधङी हटेन : राजेन्द्रकुमार पोखरेल
प्रमुख, कनकाई नगरपालिका, झापा (प्रदेश १)
मुलुक नयाँ व्यवस्थामा गइसके पनि सांसदको सोच पुरानै व्यवस्थाअनुसारकै छ । सांसदसँग जनताको अपेक्षा छ होला, मान्न सकिन्छ । तर, त्यसको अर्थ नीति र विधि मिचेर अगाडि बढ भन्ने पक्कै होइन । यसले सांसदहरु विगतकै धङधङीबाट ग्रसित छन् भन्ने देखाउँछ । स्थानीय तहले गाउँ/टोल र वडास्तरबाट याजना छान्ने र गाउँ/नगर परिषदबाट पारित गराएर कार्यान्वयनमा लैजाने भएकाले यसको प्रभावकारिता धेरै छ । अनुगमनका लागि वडास्तरीय र नगरस्तरीय समिति छन् । स्थानीय तह आफैंमा एउटा सरकार भएकाले तिनको काममा संघीय सांसदले सहयोग गर्नुपर्छ । मुलुकले संघीयतामार्फत विकेन्द्रीकरण यति राम्रो अभ्यास गरिरहेका बेला त्यसमा असहयोग पुग्ने काम सांसदबाट हुनु हुँदैन । बरु, स्थानीय तहका बढी भन्दा बढी बजेट विनियोजन गर्न भूमिका खेल्ने र त्यसको कार्यान्वयनमा चासो दिने हो भने जनताले उनीहरुको भूमिका देख्नेछन् । ग्रामीण क्षेत्रको सन्तुलित विकासका लागि सांसदका लागि बजेटभन्दा यो चाहिँ उपयुक्त विकल्प हुनेछ ।

























