global ime bank Long Banner Ad

गृहपृष्ठ पाँच लाखमा जापान पठाइदिने भन्दै लाखौं रकम असुली

पाँच लाखमा जापान पठाइदिने भन्दै लाखौं रकम असुली

पाँच लाखमा जापान पठाइदिने भन्दै लाखौं रकम असुली

दोलखाका वैतेश्वर गाउँपालिकाका रामकृष्ण दाहाल (रोशन) दुई वर्षअघि सम्म बरालिएर हिँड्थे । उनका आफन्त गणेश दाहाललाई रामकृष्णले समय खेर फालेको कत्ति मन परेन र कम्प्युटर सिकाए । १८ वर्षे ठिटोलाई कम्प्युटरको आधारभूत ज्ञान हासिल गर्न लामो समय पर्खिनुपरेन ।

रामकृष्णले कम्प्युटर सिकेनन् मात्र, जडिबुटीको शिक्षा इन्स्टिच्युटमा सिकाउन पनि थाले । उनको सिकाउने कला र विद्यार्थीलाई मोटिभेट गर्ने तरिका राम्रो थियो । विद्यार्थी बढे । मासिक १५-१६ हजार रुपैयाँ आम्दानी गर्थे । किशोरावस्थामै छोरोले राम्रो काम गरेर कमाउन थालेपछि बाबुआमा पनि दंग थिए । डेढ वर्ष यसैगरी बित्यो । दैनिकी ठिकठाक चल्दै थियो । तर, समयले उल्टो बाटो समाउन कुनै बेर लागेन ।

काठमाडौंको हरहर महादेव बस्दै आएका रामकृष्णको भेट दाङको तुलसीपुर उपमहानगरपालिकाका विष्णुबहादुर सेनसँग भयो । विष्णु सेन कस्तो प्रवृत्तिको मान्छे हो उनले बुझ्न खोजेनन् या बुझ्नै चाहेनन् । विष्णु सेनको चाँडै पैसा कमाउन सकिने आइडियामात्र उनले बुझे ।

विष्णु र रामकृष्ण मिलेर मास टेक्नोलोजी प्रा. लि. का नाममा मान्छे जापान पठाउन भन्दै पैसा असुल्ने योजना बन्यो । दुवैले आ-आफ्ना च्यानल प्रयोग गरे । नरेफाँटमा बस्ने सेनको बारेमा त्यहाँका अधिकांश मानिस स्पष्ट छैनन् । ‘म पनि स्पष्ट छैन, दुई-चार पैसा कमिन्छ भन्ने लागेर विष्णु दाइसँग काम गरेको हुँ,’ रामकृष्ण भन्छन्, ‘मैले १२ जनाबाट १ लाखका दरले पैसा उठाएको छु ।’ रामकृष्ण र विष्णु दुवै मिलेर वैदेशिक रोजगारीसम्बन्धी कागज गर्दै पैसा असुल्ने गरेका छन् ।

यसरी ठगियो पैसा ?
रामकृष्ण र विष्णुबीच योजना बनेपछि रामकृष्णले ‘जापान जाने अवसर’ लेखेर फेसबुकमा पोस्ट गरे । त्यसपछि मान्छे जापान जाने अभिलाषासहित उनीहरुकहाँ पासपोर्ट र पैसा लिएर पुगेका हुन् ।

विष्णु सेनले कहिलेदेखि पैसा उठाउन थालेको हो भन्ने थाहा नभएको रामकृष्ण बताउँछन् । तर असार ११ गते तीन महिनाभित्र जापान पठाइदिने भन्दै पैसा लिएको कागज गर्दै गर्दा भेटिएका रामकृष्णले यसअघि दुई चरण गरेर २५-२५ जनाबाट एक-एक लाख रुपैयाँका दरले पैसा उठाइसकेको र उनीहरुको भिसा चाँडै लाग्ने आश्वासन दिइरहेका थिए ।

उनीहरुले पाँच लाख रुपैयाँमा जापान पठाइदिने भन्दै पहिलो किस्ताबापत एक-एक लाख रुपैयाँ र पासपोर्ट लिने गरेका थिए । तीन महिनापछिको (ब्याक डेट) चेक, नागरिकताको फोटोकपी र नेपाली कागजमा तमसुक गरिदिएका उनीहरुले भिसा नलागे पैसा फिर्ता गरिदिने बताए । ‘पाँच लाखमै जापान जान पाउने भनेको छ,’ शिक्षा इन्स्टिच्युटमा भेटिएकी इन्दिरा तामाङले भनिन्, ‘भिसा लागे राम्रै भयो, नलागे पैसा फिता पाइहाल्छ, के बिग्रियो र !’

तीन महिना बितेको पत्तै भएन । पैसा बुझाउनेमध्ये झापा घर भएका निता सेढाईं र रचना खरेलले दसैंताका रामकृष्णलाई फोन गरे, ‘हाम्रो काम के हुँदैछ ?’ ‘जापानी एम्बेसीको मान्छे बिरामी भएर केही ढिला भएको हो, ठिक हुनेबित्तिकै भिसा लाग्छ भनेको छ,’ रामकृष्णको भनाइ उद्धृत गर्दै निताले भनिन् ।

‘जापानी एम्बेसीको मान्छे बिरामी भएर केही ढिला भएको हो, ठिक हुनेबित्तिकै भिसा लाग्छ भनेको छ,’ रामकृष्णको भनाइ उद्धृत गर्दै निताले भनिन् ।

चार महिनासम्म पनि भिसाको सुरसार नभएपछि पैसा बुझाउनेहरुले ताकेता गर्न थाले । ‘ठगिएको थाहा पाएपछि पैसा र पासपोर्ट फिर्ता लिन ताकेता गरेका हौं,’ तामाङ भन्छिन्, ‘त्यत्रो पैसा बुझाएको छ, जसरी पनि निकाल्नै प-यो नि !’

काठमाडौं टोखाका व्यवसायी श्यामकाजी डंगोलले पनि पाँच जना आफन्तलाई जापान पठाउन भन्दै पैसा बुझाएका थिए । ‘मैले त धेरै बुझेर पैसा बुझाएँ भन्ने लागेको थियो,’ उनले भने, ‘होइन रहेछ, फँसियो ।’ रामकृष्ण र सेनले शिक्षा इन्स्टिच्युटको दुरुपयोग गरेर पैसा असुलेको उनले बताए । ‘हामीलाई त ट्राभल्स एन्ड टुर्स पनि छ भनेको थियो,’ उनले भने, ‘पैसा ठग्ने योजनासहित सबै प्लान गरिएको रहेछ ।’

वैदेशिक रोजगार विभागमा उजुरी
पैसा तिर्न सबैले ताकेता गरेपछि रामकृष्ण भारत भागे । श्यामकाजीले भिसा लागिसकेको अफवाह फैलाइदिएपछि उनी कात्तिक ३० गते नेपाल फर्किए । ‘दुई-चार दिनसम्म त पैसा दिइहाल्छु भन्दै झुलाइरह्यो,’ इन्दिरा भन्छिन्, ‘तर सजिलै फर्किने नदेखेपछि महानगरीय प्रहरी वृत्त तीनकुनेमा मान्छे बुझायौं र वैदेशिक रोजगार विभागमा उजुरी हाल्यौं ।’

मंसिर ५ गते रामकृष्णलाई लिएर इन्दिरासहितको टोली तीनकुने पुग्यो र ६ गते विभागमा उजुरी हाल्यो । विभागले तत्कालै पक्राउ पुर्जी दियो । अहिले रामकृष्ण चिसो छिँडीमा दिन बिताउँदैछन् । विष्णु सेन भने सम्पर्कमा छैन ।

विभागका निर्देशक एवं सूचना अधिकारी भोलानाथ गुरागाईं विभागमा परेका उजुरीउपर कारबाहीका लागि विशेष सरकारी वकिलको कार्यालय र वैदेशिक रोजगार न्यायाधीकरणको प्रक्रियामा पठाउने बताउँछन् । वैदेशिक रोजगार न्यायाधीकरणले उजुरीको टुंगो लगाएर क्षतिपूर्ति दिलाउने उनले जानकारी दिए ।

को हुन् विष्णु सेन ?
जडिबुटीमा ‘सेनको किराना पसल’ नजिकै रहेको एउटा चिया पसलका सञ्चालक ‘सेन यस्तै-यस्तै काम गरेर तीन-चार पटक जेल बस्दै छुट्दै गरेको’ बताउँछन् । विष्णु सेन किराना पसल आफ्नै भएको र आफू जनजीविका सहकारीको सञ्चालकमध्येको एक भएको बताउँछन् ।

किराना पसलमा भेटिएकी सुवेदी थरकी एक महिला भने विष्णु आफ्नो मित भाइ मात्र भएको र यो पसल आफ्नो भएको बताउँछिन् । ‘विष्णु मेरो भाइको साथी हो, कहिलेकाहीँ यहाँ आउने हो,’ उनले भनिन्, ‘आएका बेला पानी, ग्यास पु-याउने गर्छ ।’ पसल आसपासका मानिसहरु भने विष्णु सेन कहिलेकाहीँमात्र अन्यत्र जाने र सधैंजसो त्यहीँ बस्ने बताउँछन् ।

प्रकाशित समय : २१:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु