गृहपृष्ठ सी जिनपिङ कठिन परिस्थितिमा ?
सी जिनपिङ कठिन परिस्थितिमा ?
हङकङमा लोकतन्त्र समर्थकहरूको जित र झिनजियाङ प्रान्तमा विगर मुसलमानहरूसँग सम्बन्धित कागजात बाहिरिएसँग चीनका राष्ट्रपति चिनियाँ राष्ट्रपति तनावमा परेका छन् । साथै अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले पनि चीनको विषयमा गहिरो निराशा व्यक्त गरेका छन् ।
हङकङको संसदमा आफ्नै एजेन्टलाई निर्वाचित गराउन खोजेको आरोप पनि चीनमाथि लगाइएको छ । यसैलाई लिएर प्रधानमन्त्री मरिसनले निराशा व्यक्त गरेका हुन् । सी जिनपिङलाई माओत्से तुङपछिका सबैभन्दा बढी शक्तिशाली मानिए पनि हाल उनी हरेक मुद्दामा घेरिएका छन् ।
आइतबार ‘नाइन नेटवर्क’ पत्रिकामा चीन सरकारले एक अस्ट्रेलियाली चिनियाँ नागरिकलाई संघीय संसदमा चुनाव लड्न १० लाख अस्ट्रेलियन डलरको अफर गरिएको रिपोर्ट प्रकाशित गरिएको थियो ।
३२ वर्षीय निक साओले प्रस्ताव अस्वीकार गरेको बताइन्छ । गत मार्चमा मेलबर्नको एक होटलमा उनको शव फेला परेको थियो । स्थानीय प्रशासनले उनको मृत्युको कारण पत्ता लगाउन सकेन ।
‘अरू देशमा झैं जोखिम मोल्दै अस्ट्रेलिया आउजाउ गर्नु हुँदैन, हामीले कानुन मजबुत बनाउँदै छौं,’ केनबरामा सोमबार प्रधानमन्त्री मरिसनले भने, ‘यसका लागि हामीले बौद्धिक एजेन्सीहरूलाई सबल बनाउँदै छौं, यस्ता आरोप सुनेर निराश भएका छौं ।’
सोमबार चीनका विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले चीनले कहिल्यै अर्को देशको आन्तरिक मामिलामा चासो नदिने बताए । उनले थपे, ‘हालै अस्ट्रेलियाका केही नेता, संगठन र सञ्चारले चीनबारे अनेक चर्चा गरेका छन्, मानिस खुब डराएजस्तो छ । कतिपयले अस्ट्रेलियामा चीनले जासुसी गरेको चर्चा गरेका छन् । यी कुरामा कुनै सत्यता छैन ।’
करिब ६४ वर्षअघि चीन सरकारले झिनजियाङलाई एक स्वायत्त प्रान्त बनाएको थियो । स्थानीयहरू यसलाई तुर्केस्तान पनि भन्थे । कम्युनिस्ट शासन झिनजियाङमा प्रविधि र उद्योगका क्षेत्रमा राम्रो विकास भयो । बिबिसीका अनुसार यससँगै यहाँको परम्परा र संस्कृतिमाथि ठूलो आघात पर्यो ।
यहाँका बहुसंख्यक मानिस मुसलमान र टर्कहरू थिए । उनीहरूलाई विगर भनिन्छ । अब उनीहरूको परिचय सकिँदै छ । उनीहरूले आफ्नो परम्परागत कपडा लगाउन र मस्जिदमा नमाज पढ्न पाउँदैनन् । साथै रमजानमा उपवास बस्न पनि पाउन्नन् । यो कुरा चीनबाट चुहिएपछि चिनियाँ अन्याय छताछुल्ल भएको छ । मानव अधिकार हननको आरोप लागेको छ ।
चीनमाथि ताइवान र हङकङमा चुनाव प्रभावित पारेको आरोप पनि लागेको छ । हङकङमा लोकतन्त्र समर्थकले जितेपछि चीनले हङकङ सधैं चीनबाट शासित रहने चेतावनी दिएको छ । चीनका विदेशमन्त्री वाङ यीले हङकङको निर्वाचनमा जसले जिते पनि चीनकै अंग हुने दाबी गरेका छन् ।
वाङ यीले टोकियोमा जी-२० को बैठकमा हङकङको शान्ति र सम्पन्नता भंग गर्न चाहने सफल नहुने दाबी गरेका थिए । सी जिनपिङका लागि हङकङ दुःस्वप्नजस्तै भएको छ । अवस्था सुध्रनुको साटो बिग्रँदो छ । हङकङको चुनावी नतिजाले सी जिनपिङको द्वन्द्व बढाएको छ ।
चीनको कम्युनिस्ट सरकारले नियुक्ति गरेका मुख्य कार्यकारी क्यारी लेमको कार्यकालमै हङकङमा विरोध-प्रदर्शन सुरू भएको छ । हङकङमा चीनको कम्युनिस्ट सरकार समर्थित उम्मेदवारहरूले हारेका छन् । डिस्ट्रिक्ट काउन्सिलका दस स्थानमध्ये बल्लबल्ल एक स्थानमा चीन समर्थित उम्मेदवार विजयी भएका छन् ।
चीन आर्थिक वृद्धिमा पनि चिन्तित छ । १४ प्रतिशत वृद्धिको दौडमा गिरावट आएको छ । सरकारी आँकडाअनुसार यस वर्षको तेस्रो त्रैमासिकमा चीनमा सम्पूर्ण गार्हस्थ्य (जिडिपी) को वृद्धिदर ६ प्रतिशत उल्लेख गरिएको छ ।
प्रकाशित समय : २१:२२ बजे



















