काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

बाख्रापालनको तरिका सिकाउँदै तनहुँ जलविद्युत् आयोजना

588
shares

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित परिवारका सदस्यको आयआर्जन क्षमता अभिवृद्धि गरी दिगो जीविकोपार्जनका आधार सिर्जना गर्ने उद्देश्यले व्यावसायिक बाख्रापालन तथा वित्तीय साक्षरतासम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

जीविकोपार्जन पुनर्स्थापना योजनाअन्तर्गत आयोजना प्रभावित व्यास तथा भिमाद नगरपालिका र म्याग्दे तथा ऋषिङ गाउँपालिकाका २२ कृषकलाई व्यावसायिक बाख्रापालन तालिम दिइएको हो ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय, तनहुँसँगको सहकार्यमा सञ्चालित तालिममा सम्बन्धित क्षेत्रका विज्ञबाट बाख्रापालनको व्यावसायिक व्यवस्थापन, पशु स्वास्थ्य तथा हेरचाह, आयआर्जनका सम्भावना र वित्तीय व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको थियो ।

आयोजनाले प्रभावित परिवारको जीविकोपार्जन पुनर्स्थापना तथा सामुदायिक विकासलाई प्राथमिकतामा राख्दै हालसम्म ३८ वटा कार्यक्रम सञ्चालन गरिसकेको आयोजना प्रमुख श्यामजी भण्डारीले बताए ।

ती कार्यक्रमबाट आयोजना प्रभावित परिवारका ७७६ जना लाभान्वित भएका छन् । आयोजनाबाट इलेक्ट्रिसियन, प्लम्बिङ, सिलाइकटाइ, मौरीपालन, बाख्रापालन, बङ्गुरपालन, तरकारीखेती, निर्वाहमुखी कृषि तथा हलुका सवारी चालकसम्बन्धी तालिमलगायत विभिन्न सीप विकास कार्यक्रम सञ्चालन गरिसकेको छ ।

आयोजनाको जीविकोपार्जन पुनर्स्थापना योजनाअनुरूप प्रभावित परिवारको सीप विकास, आयआर्जनका अवसर विस्तार, वित्तीय साक्षरता तथा उद्यमशीलता प्रवर्द्धनमार्फत आर्थिक आत्मनिर्भरता र दिगो जीविकोपार्जन सुनिश्चित गर्ने कार्यक्रमलाई निरन्तरता दिइएको छ ।