कुकुर तिहारको डिजिटल प्रचार गर्न रिल प्रतियोगिता, विजेतालाई एक लाख पुरस्कार
वि.सं.२०८३ कात्तिक १८ बुधवार ०७:१७
shares

काठमाडौं । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डले पहिलोपटक ‘कुकुर तिहार रिल प्रतियोगिता–२०२६’ आयोजना गर्ने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलको निर्देशनमा प्रतियोगिता आयोजना गर्न लागिएको बोर्डले जनाएको छ ।
नेपालका मौलिक चाडपर्व, संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट विश्वभर चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसअघि मन्त्री पौडेलकै निर्देशनमा बडादसैँको अवसरमा देशभरका १०० स्थानमा लिङ्गे पिङ हालिएको थियो ।
प्रतियोगितामार्फत कुकुर तिहारको सांस्कृतिक महत्त्व, मानिस र कुकुरबीचको आत्मीय सम्बन्ध तथा नेपाली परम्परालाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखिएको छ ।
प्रतियोगितामा सहभागी हुन इच्छुकले कुकुर तिहारसँग सम्बन्धित मौलिक तथा सिर्जनात्मक भिडियो रिल तयार गरी आफ्नो फेसबुक वा इन्स्टाग्राममा सार्वजनिक गर्नुपर्नेछ । प्रतियोगितामा उत्कृष्ट रिल बनाउनेलाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताका लागि तयार पारिने भिडियो अङ्ग्रेजी भाषामा हुनुपर्नेछ । भिडियोमा अङ्ग्रेजी सबटाइटल वा अङ्ग्रेजी भाषाको भ्वाइसओभर अनिवार्य गरिएको छ । सहभागीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दा सम्बन्धित ह्यासट्याग प्रयोग गर्नुका साथै इन्स्टाग्राममा नेपाल टुरिजम र फेसबुकमा नेपाल पर्यटन बोर्डको आधिकारिक पेजलाई ट्याग गर्नुपर्नेछ ।
सामाजिक सञ्जालमा प्रकाशित भिडियोसँगै डाउनलोड तथा हेर्न मिल्ने अनुमति दिइएको गुगल ड्राइभ लिङ्क इमेलमार्फत पठाउनुपर्ने बोर्डले जनाएको छ । प्रतियोगितामा सहभागी हुने भिडियो मौलिक सिर्जना हुनुपर्नेछ । प्राप्त भिडियोहरूलाई बोर्डले पर्यटन प्रवर्द्धन तथा प्रचारप्रसारका विभिन्न माध्यममा प्रयोग गर्न सक्नेछ ।
प्रतियोगितामा सहभागी हुन भिडियो पठाउने अन्तिम मिति नोभेम्बर २१ अर्थात् मङ्सिर ५ गते तोकिएको छ ।
नेपाली संस्कृतिमा कुकुरलाई निष्ठा, सुरक्षा र आत्मीयताको प्रतीकका रूपमा सम्मान गर्ने परम्परा छ । तिहारको दोस्रो दिन मनाइने कुकुर तिहारमा कुकुरलाई टीका, माला र मीठा परिकार खुवाएर पूजा गर्ने गरिन्छ ।
यस प्रतियोगिताले नेपाली संस्कृति र परम्परालाई डिजिटल माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुका साथै नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बोर्डले विश्वास लिएको छ ।

























