च्याउखेतीबाट आत्मनिर्भर बन्दै पार्वती थापा
वि.सं.२०८३ कात्तिक १८ बुधवार ०६:५६
shares

कञ्चनपुर । श्रीमान्को निधनपछि आत्मनिर्भर बन्ने सोचका साथ च्याउखेती सुरु गरेकी कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँकी पार्वती थापा अहिले सफल कृषक बनेकी छन् ।
विसं २०६९ मा श्रीमान् गुमाएपछि आर्थिक रूपमा आत्मनिर्भर बन्ने उद्देश्यले उनले च्याउखेती सुरु गरेकी थिइन् । सात वर्षअघि सामान्य जानकारीका आधारमा सुरु गरेको च्याउखेती अहिले पाँचवटा फार्मसम्म विस्तार गरेकी छन् । उनले वर्षभरि च्याउ उत्पादन गर्दै आएकी छन् ।
श्रीमान्को निधनपछि सामान्य खर्चका लागि समेत अरूसँग पैसा माग्नुपर्ने अवस्था आएपछि आफैँ केही गरेर आत्मनिर्भर बन्ने सोच आएको पार्वती बताउँछिन् । आफन्तबाट च्याउ पाएपछि त्यसैको खेती गरेर आम्दानी गर्न सकिन्छ कि भन्ने सोचले उनी यस व्यवसायमा लागेकी हुन् ।
च्याउखेती सुरु गर्दा बीउ कहाँ पाइन्छ र कसरी खेती गर्ने भन्ने सामान्य जानकारीसमेत उनीसँग थिएन । कृषि विज्ञान अध्ययन गरिरहेका छोराले च्याउखेतीसम्बन्धी पुस्तक दिएपछि उनले त्यसैको सहायताले खेती गर्ने प्रयास गरिन् । तर, व्यावहारिक ज्ञानको अभावमा सुरुमा राखेका पाँचवटा च्याउका पोका नै खेर गए ।
पछि कृषि ज्ञान केन्द्र र च्याउखेती गरिरहेका अन्य किसानबाट खेती गर्ने तरिका सिकेपछि उत्पादन राम्रो हुन थालेको उनी बताउँछिन् । च्याउखेतीबाट आम्दानी हुन थालेपछि हरेक वर्षको नाफा पुनः व्यवसाय विस्तारमा लगानी गर्दै आएकी छन् ।
हाल च्याउखेतीमा गरेको लगानी कटाएर करिब ५० प्रतिशतसम्म नाफा हुने गरेको उनको भनाइ छ । च्याउ बिक्रीबाट आएको आम्दानीले घरखर्चसँगै दुई छोराको पढाइ खर्चसमेत धानिएको छ । उनले वार्षिक करिब एक हजार ५०० किलो च्याउ बिक्री गर्दै आएकी छन् । यसबाट वर्षमा दुई लाख रुपैयाँसम्म आम्दानी हुने गरेको छ ।
सुरुमा बाँसको टहरा बनाएर च्याउखेती गर्दा हावाहुरीका कारण छाना उड्ने समस्या भोग्नुपरेको थियो । पछि कृषि ज्ञान केन्द्रबाट सहयोग पाएपछि च्याउखेतीलाई व्यवस्थित रूपमा अघि बढाउन सहज भएको उनी बताउँछिन् ।
हाल उनले सिजनअनुसार कन्ने र मिल्की च्याउ उत्पादन गर्दै आएकी छन् । यस वर्षदेखि डल्ले च्याउ उत्पादन गर्ने तयारीसमेत गरेकी छन् । कृषि विज्ञान अध्ययन गरिरहेका छोराले पनि उनलाई खेतीमा सहयोग गर्दै आएका छन् ।
थापाले उत्पादन बढाउने सम्भावना भए पनि बजारको समस्याका कारण व्यवसाय विस्तार गर्न कठिन भइरहेको बताउँछिन् । बाहिरी जिल्लाबाट सस्तो मूल्यमा च्याउ आउने हुँदा स्थानीय स्तरमा उत्पादन गरिएको च्याउले उचित मूल्य पाउन नसकेको उनको गुनासो छ ।
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दै बजार व्यवस्थापन र उचित मूल्य सुनिश्चित गर्न स्थानीय सरकारले सहयोग गर्नुपर्ने उनको माग छ । बजारको उचित व्यवस्था हुन सके च्याउखेती अझै विस्तार गर्ने उनको योजना छ ।
सुरुआती असफलता र विभिन्न चुनौती पार गर्दै च्याउखेतीबाट आत्मनिर्भर बन्न सफल पार्वती थापाको प्रयासले कृषि उद्यममार्फत आर्थिक रूपमा सक्षम बन्न सकिने सम्भावना देखाएको छ ।
























