काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

लुम्बिनीमा दोस्रो अन्तरराष्ट्रिय बुद्धवचन पाठ सुरु

714
shares

ai logo सारांश

  • लुम्बिनीमा दोस्रो अन्तरराष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ ।

लुम्बिनी । लुम्बिनीमा दोस्रो अन्तरराष्ट्रिय बुद्धवचन पाठ कार्यक्रम आइतबारदेखि सुरु भएको छ । प्रसिद्ध बौद्ध धर्मगुरु छोकी निमा रिन्पोछेको नेतृत्वमा आयोजित सातदिने कार्यक्रममा विभिन्न देशका बौद्ध भिक्षु, भिक्षुणी, विद्वान् तथा साधक सहभागी छन् ।

लुम्बिनीस्थित पाल थुब्तेन शेद्रुब लिङ अर्थात् ‘थाउजेन्ड गोल्डेन बुद्ध टेम्पल’मा आयोजना गरिएको कार्यक्रममा पाली, संस्कृत, तिब्बती, चिनियाँ, भियतनामी र अङ्ग्रेजीलगायत विभिन्न भाषामा बुद्धका उपदेश सामूहिक रूपमा वाचन गरिनेछ ।

बौद्ध परम्परा र सम्प्रदायका अनुयायीलाई एउटै आध्यात्मिक अभ्यासमा जोड्दै बुद्धका शिक्षाको संरक्षण, अध्ययन र विश्वव्यापी प्रसार गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको आयोजकले बताएका छन ।

कार्यक्रममा विश्वशान्ति, करुणा र सम्पूर्ण प्राणीको कल्याणका लागि सामूहिक प्रार्थना गरिनुका साथै तिब्बती बौद्ध धर्मपरम्पराको महत्त्वपूर्ण ग्रन्थ ‘काङ्ग्युर’मा सङ्ग्रहित बुद्धवचनको वाचन समेत गरने भएको छ । काङ्ग्युर तिब्बती बौद्ध परम्परामा बुद्धका उपदेशको प्रमुख सङ्ग्रह हो । यसमा सूत्र तथा तन्त्रसम्बन्धी विभिन्न ग्रन्थ समावेश छन् ।

त्यसैगरी, अङ्ग्रेजी भाषामा बुद्धवचन वाचनका लागि अन्तरराष्ट्रिय गैरनाफामूलक संस्था ‘८४००० : ट्रान्सलेटिङ द वड्र्स अफ द बुद्ध’ले अनुवाद गरेका ग्रन्थ प्रयोग गरिने आयोजकले बताएका छन ।

उक्त संस्थाले तिब्बती बौद्ध ग्रन्थलाई आधुनिक अङ्ग्रेजी भाषामा अनुवाद गरी विश्वभरका पाठकका लागि उपलब्ध गराउँदै आएको छ । तिब्बती बौद्ध परम्पराको महत्त्पूर्ण पर्व ‘ल्हाबाब दुछेन’ को अवसर पारेर कार्यक्रम आयोजना गरिएको हो ।

बौद्ध मान्यताअनुसार बुद्धले देवताको लोकमा आफ्नी माता तथा देवगणलाई धर्मोपदेश दिएपछि पुनः पृथ्वीमा अवतरण गरेको घटनाको स्मरणमा यो पर्व मनाइन्छ ।

तिब्बती बौद्ध पात्रोअनुसार नवौँ महिनाको २२ औँ दिनमा पर्ने ल्हाबाब दुछेनलाई बौद्ध धर्मका चार प्रमुख पवित्र पर्वमध्ये एक मानिन्छ ।

उक्त अवसरमा बुद्धवचन पाठ, ध्यान, प्रार्थना, दान तथा अन्य पुण्यकर्मलाई विशेष महत्त्व दिने गरिन्छ । बुद्धको जन्मस्थल लुम्बिनीमा विभिन्न देश र बौद्ध परम्पराका अनुयायी एकै स्थानमा भेला भई बुद्धका शिक्षाको सामूहिक वाचन तथा साधना गर्नाले लुम्बिनीको अन्तरराष्ट्रिय धार्मिक र आध्यात्मिक महत्त्व थप उजागर हुने अपेक्षा गरिएको छ ।

सात दिनसम्म सञ्चालन हुने कार्यक्रमले बुद्धका शान्ति, करुणा, मैत्री र अहिंसाका सन्देशलाई विश्व समुदायसम्म पु-याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।