काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

कर्णालीको खेलकुद गौरव बन्दै प्रदेश रंगशाला

672
shares

ai logo सारांश

  • कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ ।
  • दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा रहेको प्रदेश रंगशाला करिब १० हजार दर्शक अट्ने क्षमताको छ ।
  • रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र आठ लेनको एथलेटिक्स ट्र्याक निर्माण गरिएको छ ।

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण भएको प्रदेश रंगशाला अहिले कर्णालीको खेलकुद गौरव र पहिचानको नयाँ आधार बनेको छ । आधुनिक खेल पूर्वाधारसहित निर्माण गरिएको यस रंगशालाले कर्णालीलाई राष्ट्रिय खेलकुदको महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको मुख्यमन्त्री मंगलवहादुर शाहीले बताए ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य आयोजना स्थलका रूपमा रहेको प्रदेश रंगशाला करिब १० हजार दर्शक अट्ने क्षमताको छ । प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिएको रंगशालामा फुटबल मैदान, एथलेटिक्स ट्र्याक, पौडी पोखरी, कभर्ड हललगायत विभिन्न खेलका पूर्वाधार तयार गरिएका छन् ।

रंगशालामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटबल मैदान र आठ लेनको एथलेटिक्स ट्र्याक निर्माण गरिएको छ । त्यस्तै खेलाडी, रेफ्री, सञ्चारकर्मी तथा स्वास्थ्य सेवाका लागि आवश्यक कक्षसमेत बनाइएको छ । पौडी पोखरी र बहुउद्देश्यीय कभर्ड हलले रंगशालालाई विभिन्न खेल गतिविधि सञ्चालन गर्न सकिने बहुउपयोगी खेल परिसरका रूपमा विकास गरेको छ ।

करिब एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लागतमा निर्माण गरिएको यो रंगशाला कर्णाली प्रदेशको खेलकुद पूर्वाधार विकासमा ठूलो उपलब्धिका रूपमा हेरिएको छ । यसले फुटबल र एथलेटिक्समा मात्र नभई पौडी, भलिबल, बास्केटबल, ह्यान्डबललगायत खेलको अभ्यास र प्रतियोगिता सञ्चालनका लागि समेत आधार तयार गरेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन तथा समापन समारोह यही रंगशालामा आयोजना गर्ने तयारी गरिएको छ । प्रतियोगिताको तयारीसँगै

रंगशालाले राष्ट्रियस्तरमा चर्चा पाउन थालेको छ । सोमबार रंगशालाबाटै दशौँ राष्ट्रिय खेलकुदको ३० दिने काउन्टडाउनसमेत सुरु गरिएको थियो ।

रंगशालाको निर्माणले कर्णालीका खेलाडीका लागि आफ्नै प्रदेशमा आधुनिक खेल पूर्वाधार प्राप्त गर्ने अवसर सिर्जना गरेको छ । यसअघि व्यवस्थित खेल मैदान र प्रशिक्षण पूर्वाधारको अभाव झेल्दै आएका खेलाडीले अब नियमित अभ्यास र प्रतिस्पर्धाका लागि थप अवसर पाउने अपेक्षा गरिएको छ ।

प्रदेश रंगशालाले खेलकुदसँगै आर्थिक तथा पर्यटन गतिविधि विस्तारमा समेत योगदान पु-याउन सक्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । राष्ट्रियस्तरका प्रतियोगिता आयोजना हुँदा देशका विभिन्न प्रदेशबाट खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी र दर्शक सुर्खेत आउनेछन् । यसले होटल, यातायात, व्यापार तथा स्थानीय व्यवसायमा आर्थिक गतिविधि बढाउन सहयोग पुग्ने व्यवसायीहरुले अपेक्षा गरेका छन् ।

कर्णाली प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र पर्यटकीय सम्भावनाले भरिपूर्ण प्रदेश हो । यस्तो प्रदेशमा आधुनिक खेल पूर्वाधार निर्माण हुनुले खेलकुदलाई पर्यटनसँग जोड्ने अवसरसमेत सिर्जना गरेको छ ।

प्रदेश रंगशालाको वास्तविक उपलब्धि भने प्रतियोगिता सकिएपछि अझ स्पष्ट हुनेछ । यसलाई नियमित खेल प्रशिक्षण, राष्ट्रिय प्रतियोगिता तथा खेलाडी उत्पादनको केन्द्रका रूपमा सञ्चालन गर्न सके कर्णालीको खेलकुद विकासमा दीर्घकालीन योगदान पुग्ने सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले बताए ।

दशौँ राष्ट्रिय खेलकुद कर्णालीका लागि प्रतियोगिता आयोजना गर्ने अवसर मात्र नभई आफ्नो क्षमता, पूर्वाधार र सम्भावना राष्ट्रियस्तरमा चिनाउने अवसर पनि हो । प्रदेश रंगशाला त्यसैको महत्वपूर्ण प्रतीक बनेको छ ।