काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

रैथाने बाली फापर भित्र्याइदै

798
shares

ai logo सारांश

  • हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ ।
  • असारमा खेतबारीमा छरेको फापर बाली असोज/कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् ।
  • समुद्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको उचाइको खेतीयोग्य जमिनमा फापर खेती गर्ने गरिएको छ ।

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली ‘फापर’ भित्र्याउने चटारो छ ।

असारमा खेतबारीमा छरेको फापर बाली असोज/कात्तिकमा मुस्ताङी किसानले घरमा भित्र्याउने गर्छन् । हिमाली तथा उच्च पहाडी जिल्लामा उत्पादन हुने फापर यहाँ वर्षौँदेखि अपनाउँदै आइरहेको प्रसिद्ध रैथाने खाद्य बालीमध्येको एक हो ।

समुद्री सतहको दुई हजारदेखि पाँच हजार मिटरको उचाइको खेतीयोग्य जमिनमा फापर खेती गर्ने गरिएको छ । हिमाली जिल्ला मुस्ताङमा उवा, जौ, मकै, आलु, बोडीलगायत खाद्य बालीसहित फापर बाली पनि मुख्य ‘ब्रान्ड’ बनेको छ । अन्य खेतीको तुलनामा फापर खेती कम झन्झटिलो भए पनि मुस्ताङका किसानले व्यावसायिक रूपमा मात्रै नभई घरायसी प्रयोजन र देश–विदेशमा बस्ने आफन्त/इष्टमित्रलाई कोसेलीका रूपमा दिन फापर खेती गर्ने प्रचलन रहेको छ ।

मङ्सिरमा लगाइएको उवा र जौ थन्क्याएपछि मुस्ताङका किसानले फापर छर्ने प्रचलन रहेको घरपझोङ–५ ठिनी गाउँका किसान सविता थकालीले जानकारी दिइन् । यसरी छरिएको फापर असोजको अन्तिम सातादेखि कात्तिकको दोस्रो सातासम्म भित्र्याउने गरिन्छ ।

मुस्ताङको मुख्य उत्पादनका रूपमा रहेको रैथाने फापर खेती मुस्ताङका पाँचवटै स्थानीय तहमा उत्पादन हुने गर्छ । मुस्ताङको थासाङ–१ टुकुचेदेखि माथि लोमान्थाङको सीमावर्ती गाउँसम्म व्यावसायिक तथा घरायसी प्रयोजनका लागि फापर खेती गर्ने गरिएको छ ।

घरपझोङ–५ ठिनी गाउँका स्थानीय किसान अमित थकालीका अनुसार वर्षेनि उत्पादन गरिएको फापर घरायसी खर्चमा चाहिने छुट्याएर केही मात्रामा बिक्री गर्ने गरिएको छ । खेतबारीमा छरेको फापर १०० दिनमा पाकेर घरमा भित्र्याउने गरिन्छ ।

यसैगरी स्याउ बगैँचाभित्रको खाली जमिनमा फापर खेती गर्ने गरिएको उनको भनाइ छ । सडक सञ्जालले नजोडिँदा मुस्ताङमा उत्पादित कृषिजन्य वस्तुको बजारीकरणमा निकै समस्या पर्ने गरेकामा पछिल्लो समय सडक सञ्जालले जोडिएपछि फापरलगायतका रैथाने खाद्य अन्नबाली सहज रूपमा बिक्री हुन थालेको उनले बताए ।

फापरको पिठोबाट ढिँडो र रोटीलगायतका विभिन्न परिकार बनाएर खाने प्रचलन छ । मुस्ताङमा आउने पर्यटकका लागि फापरको ढिँडो र रोटी मुख्य आकर्षण बन्न थालेका छन् । विशेषगरी स्थानीय चाडपर्वमा फापरको पिठो प्रयोग गरिन्छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने फापरको पिठो हिजोआज सहर/बजारका भान्साघर र होटलमा मुख्य परिकारका रूपमा ग्राहकलाई पस्किने गरेको पाइन्छ ।