सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी
वि.सं.२०८३ कात्तिक ५ बिहीवार १६:०५
shares

अर्घाखाँची । सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनिहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ । तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ घोचेखोलाका युवा नेत्रप्रसाद भुसाल ।
भुसाल आज केवल सामाजिक सञ्जालमा चर्चित अनुहार होइनन् । युट्युब, फेसबुक र टिकटकलाई आफ्नो कर्मथलो बनाएका उनले यही माध्यमबाट राम्रो आम्दानीसँगै देश–विदेशमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् । टिकटकमा उनलाई चिन्ने ‘टिकटक स्टार नेत्र भुसाल’ भनेर चिनाउँछन् । युट्युबमा उनका लाखौँ ‘सब्सक्राइबर’ छन् भने फेसबुकमा दुई लाख ५० हजारभन्दा बढी फलोअर रहेको उनि बताउछन । टिकटकमा भने करिब २० लाख ‘फलोअर’ छन् । सामाजिक सञ्जालमा बनाएको यही ठूलो दर्शक सञ्जाल अहिले उनको आर्थिक सफलताको आधार बनेको छ ।
किशोरावस्थामै बाबुको निधन भएपछि उनको परिवारमा आर्थिक सङ्कट थपियो । बाबुको मृत्यु भएपछि घरको जिम्मेवारी र भविष्यको चिन्ताले नेत्रलाई पनि छोयो । पढाइ कसरी अघि बढाउने ? भाइबहिनीको शिक्षालाई कसरी निरन्तरता दिने ?परिवारको आर्थिक अवस्था कसरी सुधार्ने ? यस्ता प्रश्न उहाँका अगाडि उभिए तर समस्याले उनलाई रोक्न सकेन ।
एसइई दिएपछि पाएको करिब तीन महिनाको समयलाई सदुपयोग गर्दै उनले युट्युब च्यानल सुरु गर्नुभयो । अरूले मनोरञ्जनका रूपमा प्रयोग गरिरहेको इन्टरनेट र सामाजिक सञ्जाललाई उनले सम्भावनाको रूपमा हेर्न थालउ । ‘सामाजिक सञ्जालबाट पनि आम्दानी गर्न सकिन्छ’ भन्ने कुरा बुझेपछि उनि त्यसतर्फ अझै गम्भीर भएर लागे ।
सामाजिक सञ्जालमा नेत्रको यात्रा टिकटकबाट मात्र सुरु भएको होइन । उनि सुरुमा युट्युबमा टेकसम्बन्धी सामग्री र ब्लगिङ गर्न थाले । युट्युबका विभिन्न क्रियटरबाट प्रभावित भएर उनले टेक र ब्लगिङ च्यानल सुरु गरेको बताउछन । सुरुआती दिनमा दर्शक कम थिए, मिहेनतअनुसारको परिणाम पनि तत्काल देखिएन तर पनि उनले निरन्तरता दिन छाड्नुभएन ।
युट्युब च्यानल ‘मनिटाइज’ भएपछि पहिलोपटक आम्दानी हात पर्दा आफू निकै खुसी भएको उनि सम्झन्छन । त्यसपछि सामाजिक सञ्जाललाई केवल रुचिको विषय नभई व्यावसायिक सम्भावनाको क्षेत्रका रूपमा बुझ्न थाले। फेसबुकमा पनि सक्रियता बढाए । त्यसपछि टिकटकमा प्रवेश गरे। छोटा भिडियो, लाइभ स्ट्रिमिङ र दर्शकसँगको प्रत्यक्ष संवादले उनको लोकप्रियता विस्तारै बढाउँदै लग्यो ।
सन् २०१९ बाट उनले टिकटकमा नियमित लाइभ बस्न थाले । सुरुमा प्रयोगका रूपमा सुरु भएको लाइभ स्ट्रिमिङपछि उनको आम्दानीको महत्वपूर्ण माध्यम बन्यो । टिकटक लाइभमा दर्शकले पठाउने डिजिटल गिफ्ट नै आफ्नो मुख्य आम्दानीको स्रोत रहेको नेत्र बताउछन ।
युट्युबबाट सुरु भएको उनको डिजिटल यात्रा अहिले विभिन्न सामाजिक सञ्जालका फरक–फरक प्लेटफर्मसम्म फैलिएको छ । युट्युबमा ब्लगिङ र टेक सामग्री, फेसबुकमा विभिन्न सामग्री तथा टिकटकमा छोटा भिडियो र लाइभमार्फत उनले फरक–फरक दर्शकसँग सम्बन्ध स्थापित गरेका छन । यसले उनलाई एउटा प्लेटफर्ममा निर्भर नभई डिजिटल दुनियाँका विभिन्न माध्यममा स्थापित हुन सहयोग गरेको छ ।
सामाजिक सञ्जालको दुरुपयोगले समस्या निम्त्याउन सक्छ तर त्यसैलाई सिर्जनात्मक र व्यावसायिक रूपमा प्रयोग गर्ने हो भने यही माध्यम अवसरको ढोका बन्न सक्छ भन्ने नेत्रको जीवनले देखाएको छ । उनको सफलताले सामाजिक सञ्जाललाई लिएर समाजमा रहेको नकारात्मक बुझाइलाई एउटा प्रश्नसमेत गरेको छ, दोष सामाजिक सञ्जालमा हो कि त्यसको प्रयोग गर्ने तरिकामा ?
नेत्रको अनुभवमा सामाजिक सञ्जाललाई समय बिताउने साधनका रूपमा मात्र होइन, सिक्ने, सिर्जना गर्ने, दर्शकसँग जोडिने र आम्दानी गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ । आज उनको मोबाइलको स्क्रिनमा देखिने लाखौँ दर्शक केवल संख्या होइनन् । ती दर्शक उहाँको वर्षौँको मिहेनत, निरन्तरता र डिजिटल यात्राका साक्षी हुन् ।
अर्घाखाँचीको एउटा सामान्य परिवारबाट डिजिटल दुनियाँमा उदाएका नेत्र भुसालको कथा अहिलेका युवाका लागि एउटा सन्देश पनि हो, सामाजिक सञ्जालमा कति समय बिताइयो भन्नेभन्दा त्यसलाई कसरी प्रयोग गरियो भन्ने कुराले भविष्य निर्धारण गर्न सक्छ ।
मोबाइलको स्क्रिनमा औँला चलाएर सुरु भएको उहाँको यात्रा आज घर, गाडी, करोडौँको आम्दानी र सामाजिक पहिचानसम्म पुगेको छ । त्यसैले सामाजिक सञ्जाल युवालाई बिगार्ने माध्यम मात्र हो भन्ने भाष्यका बीच नेत्रको कथा एउटा फरक उदाहरण बनेको छ, सही सोच, निरन्तर मेहनत र सिर्जनात्मक प्रयोग भयो भने सामाजिक सञ्जाल पनि भविष्य निर्माण गर्ने माध्यम बन्न सक्छ ।
























