प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्छ : मुख्यमन्त्री यादव
वि.सं.२०८३ असोज ३० शुक्रवार १४:३८
shares

सारांश
- कृष्णप्रसाद यादवले विधिको शासन, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्ने बताएका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विधिको शासन, अपराध नियन्त्रण र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रहरीलाई नागरिकमैत्री बनाउनुपर्ने बताएका छन्। एकहत्तरौँँ प्रहरी दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले बदलिँदो अपराधको स्वरूपअनुसार प्रहरीको कार्यशैली पनि समयानुकूल र नागरिकमैत्री हुनुपर्ने बताए।
सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रण चुनौतीपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री यादवले मधेश प्रदेशलाई सुरक्षित र अपराधमुक्त बनाउन प्रदेश सरकार र प्रहरीबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
प्रहरीले इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गरेमा अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न ठूलो योगदान पुग्ने उनको भनाइ छ। उनले भने, ‘प्रहरी हाम्रा दाजुभाइ हुन्। उनीहरू अपराध नियन्त्रण गर्ने र कानुनको पालना गराउने महत्वपूर्ण निकाय हुन।’
मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले नागरिकलाई शान्तिपूर्ण रूपमा बाँच्न पाउने वातावरण निर्माणमा प्रहरीको योगदान महत्वपूर्ण रहेको बताए। उनले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकारले नेपाल प्रहरीलाई भौतिक पूर्वाधार तथा सवारीसाधन उपलब्ध गराउँदै आएको बताए।
शान्ति सुरक्षा, विपद् व्यवस्थापन तथा अपराध नियन्त्रणमा नेपाल प्रहरीलाई आवश्यक सहयोग गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री महतोले साइबर अपराध नियन्त्रणका लागि छुट्टै संरचना स्थापना गर्ने तयारी भइरहेको बताए।
जनकपुरधाम उपमहानगरपालिकाका कार्यवाहक नगरप्रमुख परमेश्वर साहले नगरलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरी तथा स्थानीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए।
उनले शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीसँग समन्वय र सहकार्य गर्न उपमहानगरपालिका तयार रहेको बताए। धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले अपराध नियन्त्रण, शान्ति सुरक्षा कायम र विपद् व्यवस्थापनमा नेपाल प्रहरी नागरिकको सबैभन्दा नजिकको सुरक्षा निकाय रहेको उनको भनाइ छ।
मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायब महानिरीक्षक ओमप्रसाद अधिकारीले प्रतिकूल परिस्थितिमा समेत प्रहरीले नागरिकसँग सहकार्य गरेर काम गर्दै आएको बताए।
त्यस अवसरमा वर्षको सर्वोत्कृष्ट प्रहरी अधिकृत विश्वम्भरनाथ साह तथा अपराध नियन्त्रणमा प्रहरीलाई सहयोग पु-याउने राजन केसी, शैलेन्द्र सिंह, जयनारायण र नन्दकुमारी टमटा तथा टिकटक प्रतियोगिताका उत्कृष्ट गुन्जेश्वर चौधरीलाई सम्मान गरियो।
























