दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने
वि.सं.२०८३ असोज २१ बुधवार १७:४१
shares

सारांश
- - राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्
- - चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
- - भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ करेन्सी इन सर्कुलेसन रहेको बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ । राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ खाले एटिएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार चाडपर्वलाई लक्षित गर्दै राष्ट्र बैंक, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था गरिएको छ । भोटेकोसी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै नयाँ नोटबारे अनावश्यक प्रचारप्रसार नगर्ने नीति लिइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार १ असोजदेखि राष्ट्र बैंकको थापाथली, प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था भइरहेको छ भने पछिल्ला चार–पाँच वर्षदेखि राष्ट्र बैंकले चाडपर्वका अवसरमा नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्दै आएको छ । भदौ ३१ गतेसम्म मुलुकमा ७ खर्ब ९४ अर्ब रुपैयाँ करेन्सी इन सर्कुलेसन रहेको बैंकले जनाएको छ ।
























