काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दाउन्ने बस दुर्घटना : मामाभान्जाको मृत्युले एलगाउँवासी शोकमग्न

247
shares

बाँके । दसैँको पूर्वसन्ध्यामा बस दुर्घटनामा परी एकैघरका मामा र भान्जाको मृत्यु भएपछि बाँकेको एलगाउँवासी शोकमग्न भएका छन् ।

नेपालगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस शनिबार (असोज १७) नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा दुर्घटना भएको थियो । दुर्घटनामा परी बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगन्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजियाको मृत्यु भएको हो ।

सुरेश र एकेन्द्र मामा र भान्जा हुन् । खजुरा–२, एलगाउँकै स्थायी बासिन्दा रहेका एकेन्द्र कोहलपुरमा बसोबास गर्दै आएका थिए ।

दसैँको पूर्वसन्ध्यामा सडक दुर्घटनामा चारजनाको मृत्युले सिंगो गाउँ नै शोकमग्न बनाएको खजुराका स्थानीय भीम ओलीले बताए । “सोच्दै नसोचेको, कल्पना समेत नगरेको यो दुःखद खबरले हामी स्तब्ध भएका छौँ,” ओलीले भने, “सवारी दुर्घटनामा मामा एकेन्द्रराज रेग्मी र भाइ सुरेश बिसीको यो असामयिक निधनले पूरै परिवार, सिंगो गाउँ नै शोकमा डुबेको छ ।”

मामा र भान्जा नै बस चालक थिए । शनिबार भने भान्जालाई साथ दिन एकिन्द्र पनि सँगै बसमा गएका ओलीले जानकारी दिए । स्थानीय मानखोला घाटमा उनीहरू दुईको दाहसंस्कार गरिएको छ ।

खजुरा गाउँपालिकाका पूर्वअध्यक्ष किस्मतकुमार कक्षपतिले दसैँको मुखैमा बस दुर्घटनामा मानवीय क्षति हुँदा आफन्तजनसँगै समग्र जिल्लावासी शोकमा रहेका बताए । उनले २४ घण्टाको अन्तरालमा खजुरा गाउँपालिका निवासी दुई बस चालकको ज्यान गएको उल्लेख गरे ।

शुक्रबार (असोज १६) काठमाडौंबाट बर्दियातर्फ आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा चालक खजुरा–५ का ३४ वर्षीय सुमन खत्रीको घटनास्थलमै मृत्यु भएको थियो ।

दाउन्ने बस दुर्घटनामा ज्यान गुमाएका नेपालगन्ज–७ का कनौजिया र कोहलपुर–३ का केसीको परिवार र आफन्तजन पनि शोकमग्न छन् । कोहलपुर–३ का वडाध्यक्ष माधव रिजालले दसैँको मुखमा परी वडावासी युवालाई गुमाउनुपर्दा नरमाइलो महसुस भइरहेको बताए । रासस