काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

बेनी–जोमसोम–कोरला सडकको अवरोध हटाइँदै

247
shares

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछि क्षत् विक्षत बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको म्याग्दी खण्डमा भएको अवरोध हटाउन मर्मत कार्य तीव्र पारिएको छ ।

रसुवा र तातोपानी नाका बन्द भएका अवस्थामा चीनसँग व्यापारका लागि एकमात्र विकल्प बनेको कोरला नाका जोड्ने सडक मर्मत गरी जतिसक्दो छिटो यातायात सञ्चालनका लागि सरकारले उच्च प्राथमिकताका साथ काम अघि बढाएको हो । चीनसँगको व्यापारिक नाकाका अलावा मुस्ताङमा उत्पादन भएको स्याउ बजार पठाउने, दसैँ तिहारका लागि भेडाच्याङ्ग्रा बजार झार्ने र पर्यटकीय याम सुरु भइसकेकाले मुस्ताङलाई सडक यातायात सञ्जालमा जोड्ने बेनी–जोमसोम सडक मर्मतका लागि दबाब परेको छ ।

दुई सय दुई किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडकमा बाढी पहिरोले ५५ ठाउँमा क्षति पु¥याएको थियो । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गादेखि म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुपारे र मुस्ताङको कोरला नाकादेखि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानी खण्डको सडक मर्मत भइसकेको जनाएको छ ।

म्याग्दीको राहुपारेदेखि पोखरेबगर खण्डको करिब १५ किलोमिटरमा सडक मर्मत हुन बाँकी छ । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि रातोपानी, धिरच्याङ, महभीर, भीरकाटे, तिप्ल्याङ, बेगखोला, कुनौटा, सिरुवारी, बैसरी र राहुपारे क्षेत्रमा कालीगण्डकीले कटान गरेर पैदलयात्रा गर्न पनि कठिन बनाएको सडकको मर्मतका लागि पनि उपकरण परिचालन भएको आयोजना प्रमुख तेजस्वी शर्माले बताए ।

“सबै तालमेल मिलेमा अबको एक हप्तादेखि १० दिनभित्र बेनी–जोमसोम–कोरला सडकमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालन गर्ने लक्ष्यसहित उपकरण र मजदुरहरु परिचालन गरेका छौँ”, उनले भने, “अवरोध भएको सबै ठाउँमा सामानान्तर हिसाबले मर्मतको कामलाई तीव्रता दिएका छौँ ।”

रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा राहुघाट जलविद्युत् आयोजनाको विद्युत्गृह र स्वीचयार्ड परिसरमा कालीगण्डकीले कटान गरेको सडकको विकल्पमा मार्ग खुलाउन प्रयोगमा नरहेको ग्यान टि टावर हटाउन भएको ढिलाइले दुई दिन सडक मर्मतको काम प्रभावित बनेको योजना प्रमुख शर्माले बताए ।

प्रमुख शर्माका अनुसार शनिबार तिल्केनीचौर छिचोलेर चमेरे हुँदै राहुपारेमा कालीगण्डकीले कटान गरेर भत्काएको सडक मर्मत थालिएको छ । तिल्केनीचौरमा अवरोध हटेपछि रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटसँग जिल्ला सदरमुकाम बेनीको यातायात सम्पर्क स्थापित भएको छ ।

यसैगरी, सुरक्षाकर्मी र स्वयंसेवकले तिल्केनीचौरदेखि सिरुवारी हुँदै बेगखोलासम्म ग्यालिनमा बोकेर डिजेल ढुवानी गरेपछि बैसरी र सिरुवारीमा थन्किएका एस्काभेटर सञ्चालन भएका छन् । मुस्ताङबाट ल्याएको र जलविद्युत् आयोजनासँग मौजुदा इन्धन सापटी मागेर पोखरेबगरबाट बेनीतर्फ सडक मर्मतमा उपकरण परिचालन भएको छ ।