गृहपृष्ठ ७ सय अर्ब निक्षेप पुर्याउँदै ग्लोबल आईएमई, १० प्रतिशत लाभांश प्रस्ताव
७ सय अर्ब निक्षेप पुर्याउँदै ग्लोबल आईएमई, १० प्रतिशत लाभांश प्रस्ताव
काठमाडौं : ग्लोबल आईएमई बैंकले दुई दशकको व्यावसायिक यात्रा पूरा गर्दै वित्तीय आकार विस्तारसँगै हरित तथा दिगो बैंकिङलाई आगामी दिनको व्यावसायिक वृद्धिको महत्वपूर्ण आधार बनाउने रणनीति अघि सारेको छ। बैंकले २०औं वार्षिक साधारणसभामार्फत वित्तीय उपलब्धिसँगै हरित कर्जा तथा दिगो वित्तका योजनालाई समेत अगाडि बढाउने तयारी गरेको हो।
आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म बैंकको कुल निक्षेप ७ सय अर्ब ४४ करोड रुपैयाँ पुगेको छ। कुल कर्जा लगानी ४ सय ७६ अर्ब ८४ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। त्यस्तै, चुक्ता पुँजी ३८ अर्ब ११ करोड ६० लाख रुपैयाँ पुगेको छ। समीक्षा अवधिमा बैंकले ६ अर्ब ३ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १५.९० प्रतिशतले बढी हो। एक वर्षमा बैंकको निक्षेप २१.८० प्रतिशत र कर्जा लगानी ८.२२ प्रतिशतले बढेको छ।
बैंकले आगामी १६ असोज २०८३ मा २०औं वार्षिक साधारणसभा बोलाएको छ। साधारणसभामा सेयरधनीलाई १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसमेत पेस गरिनेछ। सभाबाट प्रस्ताव पारित भएपछि लाभांश वितरण गरिने बैंकले जनाएको छ।
दुई दशकमा बैंकले आफ्नो सेवा सञ्जालसमेत उल्लेख्य विस्तार गरेको छ। हाल बैंकका ३ सय ४१ शाखा, ३ सय ६६ एटीएम, १ सय ४१ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर सञ्चालनमा छन्। विदेशमा तीन प्रतिनिधि कार्यालय रहेको बैंकले विभिन्न माध्यमबाट देशभर एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत बैंकिङ सेवा दिइरहेको जनाएको छ
प्रकाशित समय : १४:२२ बजे


















