गृहपृष्ठ नेशनल लाइफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेशनल लाइफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेशनल लाइफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

नेपालगञ्ज । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धिका लागि आयोजना गरेको चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न भएको छ।

नेपालगञ्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंह, प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३ सयभन्दा बढीको सहभागिता थियो।

कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष सिंहले बदलिँदो प्रविधि र कार्यशैलीअनुसार कर्मचारीलाई सक्षम बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन्। कर्मचारीको क्षमता र दक्षतामा गरिएको लगानीले कम्पनीको व्यवसाय प्रवर्द्धनमा समेत सकारात्मक योगदान पुर्‍याउने उनको भनाइ थियो।

सो अवसरमा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ प्राप्त गर्ने सात कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। सम्मानित हुनेमा शिवेश ठाकुर (इटहरी), गीताकुमारी थिङ (बर्दिबास), रुक्मणी कुमारी शर्मा (काठमाडौं), अनिल श्रेष्ठ (विरौटा), सुवासमणि पोखरेल (नेपालगञ्ज), प्रमिला मल्ल (नेपालगञ्ज) र विष्णुजंग शाही (जाजरकोट) छन्।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहक नै व्यवसायको मुख्य स्रोत भएकाले सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्न कर्मचारीलाई आग्रह गरे। संस्थाका नीति तथा नियमको पालना र कामप्रतिको जवाफदेहितालाई संस्थागत संस्कारका रूपमा विकास गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बीमाको माध्यमबाट विभिन्न बहानामा सम्पत्ति शुद्धीकरण हुन सक्ने भएकाले यसतर्फ सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिएका थिए। त्यस्तै प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी प्रयोगात्मक प्रशिक्षण दिएका थिए भने संजोग कोइरालाले कर्मचारीको व्यवहार तथा आचरणले संस्थाको पहिचान निर्माणमा पार्ने प्रभावबारे प्रशिक्षण दिएका थिए।

कार्यक्रममा कर्मचारीको सिर्जनशीलता, नेतृत्व क्षमता, सहकार्य तथा कार्यसम्पादन अभिवृद्धिका लागि विभिन्न अतिरिक्त गतिविधिसमेत सञ्चालन गरिएको थियो। सातै प्रदेशबाट सहभागी कर्मचारीले दैनिक कार्यसम्पादनसँग सम्बन्धित विषयमा नाटक प्रस्तुत गरेका थिए।

यसैगरी विभागीय प्रमुखहरूसँग प्यानल छलफल, कर्मचारीबीच परीक्षा, अन्तरकर्मचारी फुटसल, टेबलटेनिस तथा टग अफ वार प्रतियोगिता आयोजना गरिएको थियो। विजेता टोली तथा खेलाडीलाई पुरस्कारसहित सम्मान गरिएको कम्पनीले जनाएको छ।

कार्यक्रमको अन्तिम दिन कर्मचारीलाई रिफ्रेसमेन्टका लागि कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो।

चारदिने कार्यक्रमले कर्मचारीको प्राविधिक ज्ञान, व्यावसायिक दक्षता, नेतृत्व क्षमता, व्यवहार तथा संस्थागत कार्यसंस्कृतिको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ।

प्रकाशित समय : १२:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु