गृहपृष्ठ भाद्र शुक्ल पूर्णिमा : इन्द्रजात्राको रथयात्रा माथिल्लो टोलमा
भाद्र शुक्ल पूर्णिमा : इन्द्रजात्राको रथयात्रा माथिल्लो टोलमा
काठमाडौँ । ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्राका अवसरमा आज माथिल्लो टोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्राको तयारी गरिएको छ ।
इन्द्रजात्राको मुख्य दिन शुक्रबार तल्लोटोलमा श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरी सुरु भएको इन्द्रजात्रा उपत्यकाको लामो जात्रा भएको गुठी संस्थान काठमाडौँ शाखाका प्रमुख पवित्राकुमारी पाण्डेले जानकारी दिए ।
असोज १३ गते मङ्गलबार महिलाले मात्र रथ तानी नानीचा यात्रा चलाइने छ । यसै दिन बेलुकी राष्ट्रपति रामचन्द्र पौडेल हनुमानढोका दरबार जानुभई कुमारीबाट टीका एवं प्रसाद ग्रहण गर्नुहुनेछ । टीका प्रसाद ग्रहण गरेपछि राष्ट्राध्यक्षले कुमारीसँग खड्ग साट्ने परम्परा समेत छ ।
असोज १३ गते राति ०९ः२५ बजे इन्द्रध्वजपातन गरेपछि दुई हप्ताभन्दा लामो इन्द्रजात्रा समाप्त हुन्छ । इन्द्रध्वजपातन गरेपछि इन्द्रजात्राको लिङ्गोलाई टेकु दोभानस्थित वाग्मती किनारमा सेलाइन्छ । लिङ्गो सेलाउन घिसारेर लैजाने परम्परा छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइतमा लिङ्गोका लागि रुख काट्न वनयात्रा गरेपछि यो जात्राको प्रक्रिया सुरु हुन्छ । वनयात्रा, रुख कटान, लिङ्गो नगर प्रवेश लगायतको विधिपछि भाद्र शुक्ल द्वादशीका दिन इन्द्र ध्वजोत्थान गरिन्छ ।
इन्द्रजात्रा प्रताप मल्लको पालामा सुरु भएको विश्वास गरिन्छ । इन्द्रजात्रामा रथयात्राको चलन भने राजा गुणकामदेवले सुरु गरेको थियो । वर्षा र सहकालका देवताका रूपमा पूजिने इन्द्रको शुक्रबार विधिपूर्वक पूजा आजा पनि गरिएको थियो । जात्राका अवसरमा लाखे नाच, दशअवतार नाचलगायत सांस्कृतिक झाँकी एवं नाचगान हुने परम्परा रही आएको छ ।
प्रकाशित समय : २०:२० बजे

















