गृहपृष्ठ एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत
एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत
झापा । अर्जुनधारा नगरपालिका–१ मदनपुरमा निर्माण भइरहेको एकीकृत विपद् व्यवस्थापन भवनको काम ९२ प्रतिशत सम्पन्न भएको छ।
अर्जुनधारा नगरपालिकाका इञ्जिनियर नीरज अधिकारीका अनुसार भवनको हालसम्म ९२ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको छ।
मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्रअन्तर्गत रु पाँच करोड २० लाख ९७ हजार ४९२ को लागतमा भवन निर्माण भइरहेको हो। कालिका इञ्जिनियरिङ जेभी काठमाडौँले विसं २०८० मङ्सिर २१ गतेदेखि निर्माण सुरु गरेको थियो।
सुरुवाती सम्झौताअनुसार विसं २०८२ असार १५ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने भए पनि दोस्रोपटक आगामी कात्तिक मसान्तसम्मका लागि म्याद थप गरिएको अधिकारीले बताए।
“यो म्याद नै अन्तिम हो। थपिएको म्यादमा काम सम्पन्न नभए निर्माण कम्पनीलाई कारबाही हुन्छ,” उनले भने।
स्वीस सरकार, कोशी प्रदेश सरकार र झापाका चार स्थानीय तहको साझेदारीमा उक्त केन्द्र निर्माण भइरहेको छ। परियोजनामा कोशी प्रदेश सरकारको ५० प्रतिशत, बिर्तामोड, अर्जुनधारा र कनकाई नगरपालिकाको आठ–आठ प्रतिशत तथा बुद्धशान्ति गाउँपालिकाको छ प्रतिशत गरी स्थानीय तहको ३० प्रतिशत र स्वीस सरकारको २० प्रतिशत लगानी रहेको छ।
अधिकारीका अनुसार भवन निर्माणलगायतका मुख्य काम सम्पन्न भइसकेका छन्। अहिले भवनको फिनिसिङ, झ्यालढोका जडान र रङरोगनको काम भइरहेको छ।
तोकिएको समयभित्र निर्माण सम्पन्न गरी भवन हस्तान्तरण नगरे निर्माण कम्पनीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने उनले बताए।
एकीकृत विपद् व्यवस्थापन केन्द्रमा चारवटा दमकल, एउटा शववाहन र चारवटासम्म साना सवारीसाधन राख्न सकिनेछ। त्यस्तै, सवारीसाधन मर्मतका लागि ग्यारेज, पानी जम्मा गर्ने रिजर्भियर, विपद् सामग्री भण्डारण गर्ने गोदाम, सुरक्षाकर्मी बस्ने आवास, किचन र प्रशासनिक भवनलगायतका पूर्वाधार निर्माण गरिएको छ।
एकीकृत विपद् व्यवस्थापन केन्द्र स्थापनाका लागि सन् २०२१ जुन २ मा कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र झापाका चार स्थानीय तहबीच सम्झौता भएको थियो।
प्रकाशित समय : १९:२२ बजे


















