गृहपृष्ठ सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

बाँके । कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति बिस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउने बित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो ।

झुल लगाएर सुतेका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो । समयमै अस्पताल पुर्‍याएपछि उनको उपचारमा सहज भयो । एन्टी स्नेक भेनम चढाएपछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छोरा राजबहादुर थापाले बताए ।

“गाउँमै धामीझाँक्री वा स्थानीय स्वास्थ्यचौकीमा अलमल गरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो”, राजबहादुरले भने, “स्वास्थ्यचौकीमा लगे पनि नेपालगन्ज रेफर गर्छन् भन्ने थाहा भएकाले हामी सिधै भेरी अस्पताल आयौँ । सही समयमा अस्पताल ल्याएकाले बुबाले नयाँ जीवन पाउनुभयो ।”

जयबहादुर थापाको यो घटना एउटा प्रतिनिधि उदाहरण मात्र हो । गर्मी र वर्षाको मौसममा तराई तथा पहाडी भेगमा सर्पदंशका घटना अत्यधिक बढ्ने गरेका छन् । पछिल्लो समय भेरी अस्पतालमा सुविधा सम्पन्न पूर्वाधार, अनुभवी चिकित्सक र चुस्त व्यवस्थापनका कारण सर्पदंशका बिरामीका लागि ‘मृत्युको मुखबाट फर्काउने’ आशाको किरण छरिरहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार अन्तिम अवस्थामा पुगेर पनि भेरी अस्पताल आइपुगेका दर्जनौँ बिरामी नयाँ जीवन पाएर घर फर्किएका छन् । आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालमा विभिन्न जिल्लाबाट आएका ९१ जना सर्पदंशका बिरामीमध्ये ८५ जना निको भएर घर फर्किएका थिए भने छ जनाको मात्र मृत्यु भएको थियो ।

चालु आवको दुई महिनामा अस्पतालमा भर्ना भएका ४९ जना बिरामीमध्ये ४६ जना सफल उपचारपछि निको भएका छन् भने तीन जनाको मात्र मृत्यु भएको छ । तथ्याङ्कअनुसार अस्पताल आइपुग्ने ९२ प्रतिशतभन्दा बढी बिरामीको ज्यान जोगाउन भेरी अस्पतालका चिकित्सक सफल भएका छन् ।

गर्मीयाममा सर्पदंशका बिरामीको सङ्ख्या ह्वात्तै बढे पनि अस्पतालका तालिमप्राप्त र कुशल चिकित्सकको टोलीका कारण धेरैको ज्यान जोगाउन सम्भव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नालले बताए ।

“भेरी अस्पताल यति बेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रेषण (रेफर) भएर आउने सर्पदंशका बिरामीको मुख्य उपचार थलो बनेको छ”, डा दर्नालले भने, “हामीकहाँ आउने सर्पदंशका बिरामीलाई सहज र द्रुत रूपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छौँ ।”

सर्पदंशबाट हुने अधिकांश मृत्युको मुख्य कारण अस्पताल ल्याउन गरिने ढिलाइ नै हो । भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहेको डा बद्री चापागाईँले बिरामीलाई अस्पताल ल्याउन हुने ढिलाइ नै ज्यान जानुको प्रमुख जोखिम रहेको बताए ।

“सर्पले टोकेपछि मानिस सुरुमा गाउँघरमै अलमलिने, धामी झाँक्रीकहाँ जाने वा घरेलु उपचारमा समय खेर फाल्ने गर्छन्”, डा चापागाईँले भने, “विषालु सर्पले टोकेको खण्डमा विष शरीरभरि फैलिएर बिरामी गम्भीर भइसकेपछि मात्र अस्पताल ल्याइन्छ, जसले गर्दा बचाउन गाह्रो हुन्छ ।”

सर्पले टोक्नेबित्तिकै नआत्तिइकन सिधै उपचार केन्द्र पुर्याउन सकियो भने बिरामीको ज्यान शतप्रतिशत जोगिन सक्ने उनको भनाइ छ । सर्पले टोकेमा गाउँटोलका धामी, झाँक्री, गुरुवा वा अन्य परम्परागत अन्धविश्वासमा नअल्झिई बिरामीलाई जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्र वा सुविधा सम्पन्न अस्पतालमा पुर्‍याउनुपर्ने डा चापागाईँको सुझाव छ ।

प्रकाशित समय : ०६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु