नेपाल इन्स्योरेन्स कप फुटसलको उपाधि हिमालयन एभरेस्टलाई
वि.सं.२०८३ असोज ६ मंगलवार १३:३५
shares

काठमाडौं । दोस्रो नेपाल इन्स्योरेन्स कप फुटसल प्रतियोगिताको उपाधि हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले जितेको छ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीलाई ५–२ गोलले पराजित गर्दै उपाधि हात पारेको हो ।
नेपाल इन्स्योरेन्स कम्पनीको ७९औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिता सामाखुसी फुटसल ग्राउन्डमा भएको थियो । प्रतियोगितामा विभिन्न बीमा कम्पनीका टोलीले सहभागिता थिए ।
फाइनलमा सुरुदेखि नै आक्रामक खेल खेलेको हिमालयन एभरेस्टले सिद्धार्थ प्रिमियरविरुद्ध ५ गोल गरेको थियो । सिद्धार्थ प्रिमियरले २ गोल फर्काए पनि खेल आफ्नो पक्षमा पार्न सकेन । सिद्धार्थ प्रिमियर उपविजेतामा सीमित भयो ।
प्रतियोगितामा हिमालयन एभरेस्टका दिनेश कुमार सिंह प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । सोही टोलीका सुनिल थापा उत्कृष्ट डिफेन्डर बने । सिद्धार्थ प्रिमियरका रोशन बुढाथोकी सर्वाधिक गोलकर्ता तथा सुजन घिमिरे उत्कृष्ट गोलकिपर घोषित भए ।
प्रतियोगिताको समापन समारोहमा नेपाल इन्स्योरेन्स कम्पनीका अध्यक्ष चन्द्रसिंह साउद र प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनले विजेता तथा उपविजेता टोलीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरे । विभिन्न विधामा उत्कृष्ट खेलाडीलाई पनि पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।
प्रतियोगिताको मोबाइल एप पार्टनर एरेना प्रोको सहकार्यमा खेलको लाइभ स्कोर, नतिजा तथा प्रतियोगितासम्बन्धी अन्य जानकारी मोबाइल एपमार्फत उपलब्ध गराइएको थियो ।
बीमा क्षेत्रका कम्पनीलाई एउटै खेल मैदानमा सहभागी गराएर आपसी सम्बन्ध, सहकार्य, स्वस्थ प्रतिस्पर्धा र टिम स्पिरिटलाई बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको नेपाल इन्स्योरेन्स कम्पनीले जनाएको छ ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागी टोली तथा खेलाडीको उत्साह र प्रतिस्पर्धात्मक खेलले प्रतियोगितालाई थप आकर्षक बनाएको थियो । खेलकुदमार्फत बीमा क्षेत्रका कम्पनीबीच आपसी सद्भाव र सहकार्यको वातावरण निर्माण गर्न प्रतियोगिताले सहयोग पुगेको कम्पनीको भनाइ छ ।
प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सहभागी टोली, खेलाडी, रेफ्री, प्राविधिक टोली, स्वयंसेवक, एरेना प्रो लगायतलाई नेपाल इन्स्योरेन्स कम्पनीले धन्यवाद दिएको छ ।

























