गृहपृष्ठ दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
काठमाडौँ । ‘दिगो पर्यटनका लागि पथप्रदर्शकको दक्षता’ भन्ने मूल नाराका साथ दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा सम्पन्न भएको छ ।
टुरिष्ट गाइड एशोसियशन अफ नेपाल ९टुर्गान०को आयोजनामा टुरिष्ट गाइड (पर्यटन पथप्रदर्शक) को क्षमता अभिवृद्धि तथा यस क्षेत्रका समस्या समाधानका लागि बृहत् छलफल गर्ने उदेश्यले आज यहाँ सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनको बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले उद्घाटन गरे । कार्यक्रममा मन्त्री प्रजापतिले ‘टुरिष्ट गाइड’को समस्यालाई प्राथमिकताका आधारमा समाधान गर्दै लैजाने बताए । “टुरिष्ट गाइडका तत्काल गर्नुपर्ने समस्या समाधान गर्ने र पछि समाधान गर्नुपर्ने विषयलाई नीति, कानुनबाट समाधान गर्दै लगिनेछ”, उनले भने ।
मन्त्री प्रजापतिले टुरिष्ट गाइड नेपालको पर्यटन क्षेत्रको विकासका स्तम्भ भएको बताए । पर्यटक पथप्रदर्शकले पर्यटकलाई मात्र नभएर देशकै पर्यटन क्षेत्रको बाटो देखाइरहेको उनको भनाइ छ ।
टुर्गानका अध्यक्ष प्रभालक्ष्मी प्रधानाङ्गले अनुमतिपत्र नलिइ पर्यटक घुमाउने टुरिष्ट गाइडलाई कारबाही गरिनुपर्ने बताए । उनले नेपाल भ्रमणका लागि आएका विदेशी पर्यटकलाई नेपालको सकारात्मक सन्देश दिने दूतको कामसमेत टुरिष्ट गाइडले गरिरहेको बताए ।
अध्यक्ष प्रधानाङ्गले सम्पदा क्षेत्रमा पर्यटक बोक्ने हरियो नम्बरप्लेटको सवारीसाधनलाई उचित पार्किङको व्यवस्था मिलाउनुपर्ने, स्तरीय शौचालय निर्माण गर्नुपर्ने, जथाभावी माग्नेको समस्या समाधान गर्न माग गरे ।
नेपाल एशोसियसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का महासचिव राजकुमार देवकोटाले अन्तरराष्ट्रिय जगतमा नेपालको पर्यटनबारे सकारात्मक सन्देश दिन टुरिष्ट गाइड लाग्नुपर्ने बताए। उनले पर्यटन क्षेत्रको विकास भएमात्र देशको विकास हुने भएकाले पर्यटन क्षेत्रको विकासमा सबै लाग्नुपर्ने उल्लेख गरे ।
टुर्गानका पूर्वअध्यक्ष हरेराम बरालले विदेशी पर्यटकलाई नेपालका बारेमा राम्रोसँग जानकार गराउन टुरिष्ट गाइडको महत्वपूर्ण भूमिका रहेको बताए । विसं २०४६ मा स्थापना भएको टुर्गानमा हाल देशभर एक हजारभन्दा बढी ‘टुरिष्ट गाइड’ आवद्ध रहेको टुर्गानका महासचिव सुविन सितिखुले जानकारी दिए । उनका अनुसार हाल देशभर पाँच हजारभन्दा बढीले अनुमतिपत्र लिइसकेका छन् ।
कार्यक्रममा ‘टुरिष्ट गाइड’का क्षेत्रमा लामो अनुभव हासिल गरेका केदार तामाङ, शिवप्रसाद शर्मा, श्रीकृष्ण खरेल, कृष्णकमल सैजु, रमिला पाण्डे, बुद्धिलक्ष्मी शाक्य लगायतलाई सम्मान गरिएको थियो । उक्त सम्मेलनले काठमाडौँ घोषणापत्रसमेत जारी गर्नेछ ।
प्रकाशित समय : २०:१५ बजे


















