गृहपृष्ठ वीरगञ्जमा नौ दलीय मोर्चाको बृहत् कार्यकर्ता भेला

वीरगञ्जमा नौ दलीय मोर्चाको बृहत् कार्यकर्ता भेला

काठमाडौँ । नौ दलीय अग्रगामी मोर्चाले मधेश प्रदेशमा संगठन विस्तार तथा राजनीतिक परिचालनलाई तीव्रता दिने तयारीस्वरूप आज शनिबार वीरगञ्जमा बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गर्दैछ।

‘संघर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि संघर्ष’ भन्ने मूल नारासहित मोर्चाको मधेश प्रदेश समन्वय समितिको आयोजनामा वीरगञ्जस्थित टाउन हलमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने जनाइएको छ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयका अनुसार भेलामा मोर्चाको राजनीतिक कार्यदिशा, संगठन विस्तार, कार्यकर्ता अभिमुखीकरण तथा आगामी राजनीतिक गतिविधिबारे छलफल हुनेछ।

मधेश प्रदेशमा मोर्चाको संगठनात्मक आधार विस्तार गर्नुका साथै आबद्ध दलका नेता तथा कार्यकर्ताबीच समन्वय र सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ।

भेलामार्फत मोर्चाले आफ्नो राजनीतिक एजेन्डा, संगठनात्मक संरचना र आगामी कार्यदिशालाई स्थानीय तहसम्म पुर्‍याउने तयारी गरेको छ। कार्यक्रममा रौतहट, बारा र पर्साका हजारौँ नेता, कार्यकर्ता तथा समर्थक सहभागी हुने जनाइएको छ।

यसअघि भदौ २७ गते जनकपुरधाममा मधेश प्रदेशस्तरीय कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेतासहित पाँच जिल्लाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।

प्रकाशित समय : १६:१३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु